लीलाधर वली
घोराही, पुस १६ गते । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
घोराही उपमहानगरपालिका –१५ स्थित प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचत अधिकृतको कार्यालय स्थापना गरिएको हो । दाङको जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा बुधबार घोराहीमा भएको कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
राष्ट्रियसभामा सदस्यका लागि लुम्बिनी प्रदेशबाट एकजना अपाङ्ग, एक जना महिला र एक जना अन्य गरी तीन जनाको पद रिक्त हुँदैछ । रिक्त हुने तीन पदमा आगामी माघ ११ गते लुम्बिनी प्रदेशको घोराहीमा निर्वाचन हुँदैछ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस १९ गते मतदाताको नामावली प्रकाशन गरिनेछ । त्यसैगरी पुस २० गते प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी, पुसको २१ र २२ गते निवेदन तथा उजूरीउपर छानविन र कारवाहीे, २२ गते अन्तिम नामावली प्रकाशन गर्ने सूची छ ।
त्यस्तै, २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र सूची प्रकाशन गर्ने, २४ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, २५ र २६ गते मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २६ गते उम्मेदवारको नामवली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
त्यसैगरी पुसको २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते निर्वाचनका लागि मतदान गर्ने कार्यतालिका रहेको छ । लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र प्रदेशको १२ जिल्लाका एकसय नौ वटा स्थानीय तहका दुईसय १८ जना प्रमुख र उपप्रमुख गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै निर्वाचत अधिकृत प्रकाशप्रसाद पण्डितले लोकतन्त्रको समृद्धि र विकासका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शान्तिपूर्ण वातावरण निर्वाचन गर्नका लागि सवै पक्षसँग समन्वय र सहकार्य हुने बताउनुभयो ।