गोरखापत्र अनलाइन
काठमाडौँ, पुस १६ गते । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ। उहाँले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताउनु भएको हो।
भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावको रूपमा मात्र हेर्न नहुने उल्लेख गर्नुभयो। ‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ, यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ।
यही पृष्ठभूमिमा नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेन्डा आफूहरूले अघि सारेको उहाँको दाबी छ। उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उहाँको भनाइ छ । ‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ, आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ’ उहाँले उल्लेख गर्नु भएको छ ।
उहाँले पार्टी पङ्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्न आग्रह गर्नु भएको छ। ‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु’ भट्टराईको अनुरोध छ।
उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गर्नुभएको छ। ‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ, निकट भविष्यमै पार्टी पङ्तिबाट पनि यी प्रस्तावहरू अनुमोदन हुने छन्’ उहाँले लेख्नु भएको छ ।