• १६ पुस २०८२, बुधबार

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भारत च्याम्पियन

blog

प्रतियोगितामा सहभागी खेलाडिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १६ गते । १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले  २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत वर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ। 

यस बर्ष १८ स्वर्ण ७ काँस्य र २ रजतसहित नेपालले २७ पदक जित्न सफल भएको हो । बिजेता खेलाडीले ट्रफीसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । यी पदकहरु काता र कुमितेमा प्राप्त गर्न सफल भएको हो । त्यस्तै, तेस्राे स्थानमा चित्त बुझाएको श्रीलङ्काले १५ स्वर्ण ६ काँस्य र ५ रजतसहित २६ पदक प्राप्त गर्न सफल भयो । 

प्रतियोगितामा सहभागी खेलाडीले काता र कुमिते विधामा प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीले शील्ड, कप, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

यो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसिन कराते अभियन्ता राजु थापाको संयोजनमा आयोजना गरिएको हो । 

गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न राष्ट्रबिच भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै अग्रता बनाइरहेको उहाँले बताउनुभयो ।

नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुष), विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा सहभागी छन्। 

महाराष्ट्र ओलम्पिक सङ्घका उपाध्यक्ष मनोज बोहराले बिजेता खेलाडीलाई पदक प्रदान गरेको छ । प्रतियोगितामा करिब ४७० खेलाडीले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीको प्रतिनिधित्व सियान काजी रानाले गर्नुभएको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, भुटान र बङ्गलादेशका खेलाडीहरूको सहभागिता थियो ।