नवीनराज कुइँकेल
लमजुङ, पुस १५ गते । आगामी फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो ।
निर्वाचनमा यहाँ पुरुष मतदाता ६७ हजार छ सय र महिला मतदाता ६९ हजार पाँच सय २४ जना रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यले जानकारी दिनुभयो । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार चार सय सात जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार सात सय १७ जना मतदाता रहेका थिए ।
लमजुङमा १३० मतदानस्थलमा १८६ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनमा १२८ मतदान स्थल रहेका थिए । यसपटक २ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी आचार्यले जानकारी दिनुभयो । थपिएका मतदानस्थलमा दोर्दी गाउँपालिका–२, अर्चलबोटको अलैंचे केदार आधारभूत विद्यालय र बेँसीसहर नगरपालिका–१०, पासाचौरको कालिका आधारभूत विद्यालय मतदानस्थल रहेका छन् । मतदान स्थल सिफारिस समितिले मर्स्याङ्दी गाउँपालिका–३, थाकनकोे विनायक आधारभूत विद्यालयमा मतदान स्थल पनि थप्न सिफारिस गरेको थियो, तर स्वीकृत भएन् ।
निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाइएको छ । लमजुङका चार वटा मतदानस्थल अहिले पनि सवारी साधनको पुग्न नसक्ने क्षेत्रमा रहेका छन् । भौगोलिक कठिनाइ, कच्ची बाटो तथा अपर्याप्त पूर्वाधारका कारण ती स्थानसम्म गाडी पुग्न नसक्ने अवस्था कायम रहेको हो ।
लमजुङमा दुधपोखरी गाउँपालिका–१ सामुदायिक भवन ठूलीबारी, मध्यनेपाल नगरपालिका–८ स्थित विश्व ज्योति आधारभुत विद्यालय मजुवाबेसी, मर्स्याङ्दीगाउँपालिका–५ स्थित रत्न विद्या मन्दिर उपल्लो चिप्ला र सोही वडाको गङ्गामिलन मावि घेर्मु फाँटमा रहेका मतदानस्थल सवारी साधनको पहुँचबाहिर रहेका हुन् ।