• १५ पुस २०८२, मङ्गलबार

धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता कायम

blog

जिल्ला निर्वाचान कार्यलय धनकुटा । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस १५ गते ।
आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाले दिएको तथ्याङ्क अनुसार जिल्लामा मतदाता सङ्ख्या यस्तो कायम रहेको पाइएको हो ।

जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा अहिले मतदाताको सङ्ख्यामा वृद्धि पाइएको छ । अघिल्लो निर्वाचनसम्म धनकुटामा एकलाख १६ हजार नौ सय ९१ जना मतदाता रहेको थिए । अहिले एक हजार चार सय ३४ जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्दा तीन हजार दुई सय ७२ जनाले नाम दर्ता गराएको भए पनि एक हजार चार सय ३४ जना मतदाता मात्रै थप भएका हुन् । मतदाता नामावली सङ्कलनका क्रममा जिल्ला निर्वाचन कार्यालयमा आएर एक हजार दुई सय ८६ जनाले र राष्ट्रिय परिचय पत्रबाट एक हजार नौ सय ८६ जनाले नाम दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले दिएको जानकारी अनुसार निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै धनकुटाको कुल मतदाता एक लाख १८ हजार चार सय २५ जना कायम भएको जानकारी दिनुभयो । जस अनुसार पुरुषको सङ्ख्या ५९ हजार चार सय ८३ जना र महिलाको सङ्ख्या ५८ हजार नौ सय ४२ मतदाता कायम भएको श्रेष्ठले जानकारी दिनुभयो ।

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा स्थानीय तह अनुसारका मतदाता पनि सार्वजनिक भएका छन् । स्थानीय तह अनुसार धनकुटा नगरपालिकामा २४ हजार दुई सय ९८ जना, महालक्ष्मी नगरपालिकामा १८ हजार चार सय ४७ जना र पाख्रिबास नगरपालिकामा १७ हजार सात सय एक जना मतदाता कायम भएका छन् ।

यस्तै साँगुरीगढी गाउँपालिकामा १६ हजार सात सय दुई जना, चौबिसे गाउँपालिकामा १४ हजार २६ जना, छथर जोरपाटी गाउँपालिकामा १३ हजार ६ सय ८७ जना र सहिदभूमि गाउँपालिकामा १३ हजार पाँच सय ६४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका श्रेष्ठले बताउनुभयो ।