• १५ पुस २०८२, मङ्गलबार

हुम्लाको मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम

blog

जिल्ला निर्वाचन कार्यालय । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, पुस १५ गते ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम भएको छ । यसअघि चौतीस हजार ५०२ मतदाताले निर्वाचन प्रयोजनका लागि आफ्नो नाम दर्ता गराएको भए पनि उमेर नपुगेका कारण उक्त सङ्ख्या कायम हो ।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाबाट ३३ हजार नौ सय मतदाताले मात्र मतदान गर्न पाउने गरी मतदाता सङ्ख्या कायम भएको जिल्ला निर्वाचन अधिकृत भिमबहादुर रोकायाले बताउनुभयो ।

गत मङ्सिर ५ गतेसम्म निर्वाचन कार्यालय र अन्यत्र आफ्नो नाम दर्ता गराउने सङ्ख्या ३४ हजार ५०२ कायम भएको भए पनि आगामी फागुन २० गतेसम्म अठार वर्ष पुगेको मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम भएको उहाँले बताउनुभयो ।

आफ्नो नाम दर्ता गराएर पनि फागुन २० गतेसम्म अठार वर्ष उमेर नपुगेका ६०२ जनाले भने मतदानबाट बन्चित हुनुपर्ने छ । यसमा अधिकांस जेनजी समूहका मतदाता रहेका छन् ।

हुम्ला जिल्लामा ६० वटा मतदानस्थल र ६४ वटा मतदानकेन्द्र कायम भएका छन् । २०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदानस्थल र ६० वटा मतदानकेन्द्र थियो । यसैगरी जिल्ला सुरक्षा समितिले २७ वटा मतदानस्थल अति संवेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदानस्थललाई अति संवेदनशील सूचीमा रहेको छ ।

समितिको निर्णय अनुसार २१ वटा संवेदनशील र दस वटा सामान्य मतदानस्थल रहेका छन् । यसरी निर्धारण गरिएका मतदानस्थल अनुसार सुरक्षा व्यवस्था समेत निर्वाचनको बेला गरिने छ । यसअघि २०७९ सालको निर्वाचनमा मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको छ ।