प्रेमराज सिम्खडा
कालीकोट पुस १५ गते । कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि कालीकोटमा एक हजार ७७२ जना थप भएका हुन् ।
नयाँ मतदातासँगै कालीकोटमा जम्मा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । अब हुने निर्वाचनमा मतदान गर्न पाउने सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा महिला मतदाताभन्दा पुरुष मतदाता बढी रहेका छन् ।
पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ जना छ भने महिला मतदाता सङ्ख्या ४० हजार ४३ जना छन् । महिलाको हकमा पुरुष मतदाता सङ्ख्या चार हजार ५६० जना बढी रहेका छन् । यस अघि भने महिला थारैले पछि थिए । जिल्ला निर्वाचन कार्यालय कालीकोटका सूचना अधिकारी धनबहादुर मल्लले २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ जना मतदाता सङ्ख्या सदर भएको थियो ।
जिल्लामा मतदानस्थाल भने पूरै कायम भएर आएको छ । सूचना अधिकारी मल्लले जिल्लाबाट सिफारिस गरेर पठाएको सदर नहुदा मतदान स्थल पुरानै कायम भएको र मतदानकेन्द्र भने चार वटा थप भएर १२७ पुगेको बताउनुभयो । कालीकोटका नौ स्थानीय तह मध्य सबैभन्दा बढी नरहरीनाथ गाउँपालिकामा मतदाता सङ्ख्या धेरै रहेको छ । नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन् ।
दोस्रोमा खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ जना रहेका छन् । त्यसपछि तेस्रो नम्बरमा रास्कोट नगरपालिकामा दस हजार ५१६ जना छन् भने तिलागुफा नगरपालिकामा दस हजार १२५ जना रहेका छन् । शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९ जना, पलाँता गाउँपालिकामा आठ हजार ६७६ जना, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना पचालझरना गाउँपालिकामा सात हजार ५३८ जना र सबैभन्दा कम महावै गाउँपालिकामा ५ हजार छ सय जना मतदाता रहेका छन् ।