वासुदेव शर्मा
जाजरकोट, पुस १२ गते । फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी जाजरकोटले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभातर्फ दुई गरी १३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
सात वटा स्थानीय तहमा एकता सन्देश सभा सम्पन्न गरी सदरमुकाम खलङ्गामा जिल्ला स्तरीय नेता कार्यकर्ताको बैठकले नाम सिफारिस गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ शक्तिबहादुर बस्नेत, रामदिप आचार्य, गणेशप्रसाद सिह, कृष्णबहादुर बुढा, महेश अधिकारी, पार्वती थापाको नाम सिफारिस गरेको छ ।
उहाँका अनुसार समानुपातिक तर्फ खसआर्यबाट गगनबहादुर खड्का, आदिवासी जनजातीबाट ढकवीर राना, दलित महिलाबाट पार्वती विक, खसआर्य महिलाबाट धर्मशिला बस्नेत, पिछडिएको क्षेत्रबाट शिवप्रसाद शर्माको नाम सिफारिस गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि बीरबहादुर रावत, ओमा शाही छनोट हुनुभएको छ ।
विगतदेखि तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नेपाली कांग्रेससँग तालमेल गरी चुनाव जितेको छ । यतिवेला नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बिच भएको एकताले प्रतिस्पर्धा गर्न सहज भएको नेता कार्यकर्ताको भनाइ छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा छुटाछुट्टै भिड्ने सङ्केतले यतिवेलाको निर्वाचन जाजरकोटका आम मतदाताका लागि रोचक हुने छ ।