राजन रावत
हुम्ला, पुस ११ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।
जिल्लाको माग अनुसार निर्वाचन आयोगले नयाँ मतदानस्थल र मतदान केन्द्र थप गरेको हो । एक हजारभन्दा बढी मतदाता रहेका मतदान स्थललाई क र ख मतदान केन्द्र कायम गर्न सकिने व्यवस्था बमोजिम हुम्लाका चार वटा मतदानस्थललाई केन्द्र थप गरिको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमबहादुर रोकायाले बताउनुभयो ।
निर्वाचन कार्यालयका प्रमुख रोकायाका अनुसार यसरी थपिएका चार वटा मतदान केन्द्रहरुमा सिमकोट गाउँपालिका–२ को रामदेव मावी र ८ को शैपाल हिमाल मावी रहेका छन् भने खार्पुनाथ गाउँपालिका–४ को सिता मावी र ५ को मान्धारा मावि भकुण्डा रहेको छ । अब यी मदतानस्थलमा क र ख मतदान केन्द्र हुनेछन् । अब हुम्ला जिल्लामा ६० मतदानस्थल र ६४ वटा मतदान केन्द्र कायम भएका छन् ।
०७९ सालको संसदीय निर्वाचनमा ५८ मतदानस्थल र ६० वटा मतदानकेन्द्र रहेका थिए । यस्तैगरी, जिल्ला सुरक्षा समितिले २७ वटा मतदानस्थल अति संवेदनशील ठहर गरिसकेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक विकटता र राजनीति विवाद हुने ठहर गर्दै ती मतदान स्थलहरुलाई अति संवेदनशील ठहर गरेको थियो ।
समितिको निर्णय अनुसार २१ वटा संवेदनशील र दस वटा सामान्य रहेका छन् । यसरी निर्धारण गरिएका मतदानस्थल अनुसार सुरक्षा व्यवस्था समेत निर्वाचनको बेला गरिने छ । मङ्सिर ५ गते तोकिएको अवधिमा हुम्ला जिल्लाको मतदाता सङ्ख्या ३४ हजार ५०२ रहेको भए पनि यसमा केही मतदाता सङ्ख्या घट्ने छ । यसअघि २०७९ सालको निर्बाचनमा मतदाता सङ्ख्या ३३ हजार ३०८ रहेको छ ।