• १० पुस २०८२, बिहिबार

गण्डकीमा राष्ट्रियसभा निर्वाचन : एक्लै लडे कांग्रेस बलियो

blog

फडिन्द्र अधिकारी
लेखनाथ, पुस ८ गते ।
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा पालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन् । गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाबाट एक सय ७० प्रमुख÷उपप्रमुख मतदाता छन् । एक प्रदेशसभा सदस्य रिक्त छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ । स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी गण्डकीको कुल मतभार छ हजार तीन सय ५७ छ ।

प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिन्छ । कांग्रेससँग २७ प्रदेशसभा सदस्य र ६७ पालिका प्रतिनिधि गरी दुई हजार सात सय चार मतभार छ । यहाँ दोस्रो दल एमालेका २२ प्रदेशसभा सदस्य र ६८ पालिका प्रतिनिधि छन् । एमालेसँग दुई हजार चार सय ५८ मतभार छ । बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवबहादुर नेपाली निलम्बनमा परेकाले उहाँले मतदान गर्न पाउनुहुन्न ।

साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका यहाँ सात प्रदेश सभा सदस्य र ३१ स्थानीय तहका प्रतिनिधि गरी नौ सय ६० मतभार छ । माओवादी केन्द्रकै चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा हुनुहुन्छ ।

गण्डकीमा पालिका प्रमुख वा उपप्रमुख नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई प्रदेशसभा सदस्य हनुहुन्छ । अहिलेको एमाले र कांग्रेसको सत्ता गठबन्धनलाई सघाइरहेको राप्रपा र प्रलोपाका सदस्यको मत कता जान्छ यकीन भइसकेको छैन ।

यहाँ दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको राष्ट्रिय जनमोर्चाको ५७ मत छ । मनाङको मनाङ डिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट विजयी छिरिङ गुरुङ भने पछिल्लो क्रममा एमाले निकट हुनुहुन्छ । अन्य समूह र महिलाबाट एक/एक गरी दुई सांसदका लागि हुने निर्वाचनका लागि दलहरुले तयारी थालिसकेका छन् ।

नेपाली कांग्रेसले जिल्ला जिल्लाबाट सिफारिस भइआएका नाम केन्द्रमा पठाइकसकेको छ । कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले आकांक्षीहरुको सूची केन्द्रमा पठाइएको र चुनावी तयारीमा पार्टी लागिसकेको जानकारी दिनुभयो । अध्यक्ष शर्मा पनि अन्यबाट समानुपातिकमा सिफारिस हुनुभएको छ ।

प्रदेशको दोस्रो ठुलो दल एमाले पार्टीको महाधिवेशनपछि नयाँ रणनीति बनाउँदै छ । एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताउनुहुन्छ । “अहिलेसम्म केन्द्रबाट केही निर्देशन आएको छैन, निर्देशन आएपछि तयारी थाल्छौँ,” उहाँले भन्नुभयो ।

नेकपाले भने पुस ११ गतेभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरी पठाउन प्रदेश र जिल्लामा परिपत्र पठाइसकेको छ । नेकपा नेता कृष्ण नेपाली मङ्गलबार बस्दै गरेको पार्टीको प्रदेश कमिटीको बैठकमा आकांक्षीहरुको नामबारे छलफल भएको र चाँडै निर्णय हुने बताउनुभयो ।

निर्वाचनका लागि गण्डकीमा पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयलाई मतदान स्थल तोकिएको छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले प्रदेशसभा सदस्य र पालिका प्रमुख÷उपप्रमुखका लागि फरक फरक मतदान केन्द्र हुने जानकारी दिनुभयो । “निर्वाचन सामग्रीहरु तयार भइसकेका छन्,” उहाँले भन्नुभयो, “निर्वाचन तालिकअनुसार सबै कामअघि बढेका छन् ।”

राष्ट्रिय सभा निर्वाचनका मतदाताको नामावली पुस १९ गते प्रकाशन हुनेछ भने पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तालिका छ । केन्द्रमा बन्ने दलीय समीकरणअनुसार नै राष्ट्रियसभाका चुनाव हुने गरेका छन् ।