• ५ पुस २०८२, शनिबार

चौहत्तर वटा मतदान स्थल थप

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ५ गते । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो । 

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले थपिएकासहित आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थल कायम भएको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा १० हजार ८९२ वटा मतदान स्थल थिए । आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका अनुसार मतदातालाई मतदान गर्न लामो दूरी तय गर्नुपर्ने गुनासो आएको र सोहीबमोजिम जिल्लाबाट सिफारिस आएबमोजिम मतदान स्थल थपिएका हुन् । 

उहाँले मतदान स्थलकै आधारमा मतदानकेन्द्र थपिने बताउनुभयो । मतदाताको सङ्ख्याका आधारमा मतदान केन्द्र निर्धारण हुन्छ । आयोगको मानकबमोजिम प्रतिमतदान केन्द्र एक हजार ६४ मतदाता हुन्छन् तर भौगोलिक अवस्थाले दुर्गम क्षेत्रमा प्रतिमतदानकेन्द्रमा मतदाताको सङ्ख्या घटबढ हुन सक्ने आयोगले जनाएको छ । आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छैन । अद्यावधिक नहुँदा करिब एक करोड ९० लाख मतदाता छन् । 

सहायक प्रवक्ता न्यौपानेले मतदाता नामावली अद्यावधिक हुने प्रक्रियामा रहेको र मतदानकेन्द्रमा मतदाताको सङ्ख्या यकिन भएपछि सोहीबमोजिम मतदानकेन्द्र निर्धारण हुने प्रस्ट्याउनुभयो ।