• ४ असार २०८१, मङ्गलबार

परम्परागत पहिरन संरक्षणमा महिला

blog

लामा समुदायका महिलाले लगाउने लोप हुन लागेको परम्परागत पहिरन ।तस्बिर : राजन रावत

हुम्ला, असार २६ गते । परम्परागत पहिरन लुगाफाटा र गरगहनाको संरक्षणमा लामा समुदायका स्थानीय महिला लाग्नुभएको छ । लामा सांस्कृति झल्कने पहिरन लोप हुन लागेपछि लामा समुदाय नै उक्त पहिरनको संरक्षणमा लाग्नुभएको हो । सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँकी पेमा लामाले परम्परागत संस्कृति झल्कने लामा समुदायका महिलाले लगाउने पहिरनको संरक्षणमा लागेको बताउनुभयो । 

उहाँहरू कसैको सहयोगबिना नै ती परम्परागत पहिरनको संरक्षणमा लाग्नुभएको हो । उहाँले पुस्तौँ अगाडिको पहिरनको संरक्षण र प्रवद्र्धन गर्न घर–घरमा महिला ती पहिरनको संरक्षणमा लागेको बताउनुभयो । बीचको समयमा लामा समुदायका महिला आधुनिक पहिरनतर्फ आकर्षित हुन थालेपछि परम्परागत पहिरन हराउने चिन्ता बढेका बेला लामा समुदायहरू यसको संरक्षणमा लाग्नुभएको हो । 

सो वडाकी अर्की महिला पामा लामाले महिलाले विशेषगरी चाडपर्व, मेलापात, पूजाआजा र अतिथि आउँदा लगाउने पहिरनको संरक्षण भएको बताउनुभयो । उहाँले पहिले लगाएका देखेका आगन्तुकबाट पनि पुरानो पहिरन लोप हुन थालेको कुरा आउन थालेपछि लाजले पनि यसको संरक्षणमा महिला लागेको बताउनुभयो । उहाँले हाल संरक्षण गरिएका परम्परागत पहिरनमा कपडातर्फ खुट्टामा लगाउने सुम्बा (जुता), शरीरमा लगाउने बख्खु र काम्लो रहेको बताउनुुभयो । यी कपडा धुनसमेत नमिल्ने भएका कारण एक पटक लगाएपछि त्यति बेलै सफा गरेर राख्ने गरिन्छ । 

यी कपडाको मूल्य एक लाखभन्दा बढी पर्ने गर्छ । त्यसैगरी गरगहनातर्फ सुरु, रुपो, चाँदी, तुथो, मुगाबाट निर्माण भएका सामग्री रहेका छन् । यी गरगहना पनि निकै मूल्यवान् रहेका छन् । एउटै गहनाको मूल्य करिब तीन लाखसम्म पर्ने गर्छ । जस्तो टाउकोमा लगाउने ठाईकोर, घाँटीमा लगाउने आलुङ, कम्बरमा लगाउने तुङ्गार, ह्याक्च्या लगाएका रहेका छन् । उहाँले स्थानीय महिलाले आफ्नो हैसियतअनुसार यी गरगहनाको व्यवस्था गर्ने गरिएको बताउनुभयो ।