• १२ मंसिर २०८२, शुक्रबार

मनाइयो लवाङ्गी पूजा

blog

थारू समुदायको कुल मन्दिरका रूपमा रहेको देउथलमा लवाङ्गी पूजा गर्नेको भिड । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), मङ्सिर १२ गते । थारू समुदायको पराम्परागतदेखि मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाइएको छ । 

कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारूहरूको ठुलो कुल मन्दिरका रूपमा रहेको घोरिघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो । घोडाघोडीमा बिहानैदेखि बलि दिनेको लामो लाम लागेको थियो । हरेक वर्ष सीता विवाहपञ्चमी तिथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजामा ८३३  पशु बलि चढाइएको छ । मुख्य धामी अथवा पुजारीलाई बेसाहुर गुरुवा भन्ने गरिन्छ । जसले लवाङ्गी पूजाको मुख्य अगुवाइ गर्नुहुन्छ । 

घोरिघोरा लवाङ्गी पूजाको बेसाहुर गुरुवा धर्मराज चौधरी हुनुहुन्छ । उहाँले पहिला पूजा आरम्भ गरेपछि अन्य व्यक्तिको पूजा गर्न पाउने चौधरीले बताउनुभयो । गुरुवा चौधरीले थारूहरूको कुल देवताको ठुलो देउथलका रूपमा घोरिघोरा देउथल रहेको उल्लेख गर्दै परापूर्वकालदेखि सोही मन्दिरमा आफ्ना पुर्खाहरूले लवाङ्गी पूजा गर्दै आएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला बस्ती पातलो थियो । यस्तो धुमधाम हुन्थेन । अहिलेको जस्तो सुविधा पनि थिएन । विस्तारै यो पूजामा सबै ठाउँमा रहेका थारूहरूको सहभागिता बढ्दै गएको छ । बलि चढाउने सङ्ख्या पनि बढ्दै गएको छ ।” लवाङ्गी पूजा समितिका संयोजक एवं नगर भलमनसा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले थारू समुदायले पराम्परागत रूपमा मान्दै आएको लवाङ्गी पूजालाई यस वर्षपनि धुमधामका साथ मनाइएको बताउनुभयो । 

उहाँले पूजालाई बृहत् बनाउन तीन दिनसम्म थारू सांस्कृतिक महोत्सवको आयोजना गरी थारू संस्कृति, मौलिकता झल्काउने कार्यक्रमको प्रचारप्रसार गरिएको उल्लेख गर्र्नुभयो । उहाँले लवाङ्गी पूजाका दिन ७६ गाउँका भलमनसा, गुरुवा, चिराकीलगायत थारू अगुवाको सहभागिता रहेको उल्लेख गर्दै छिमेकी पालिका बर्दगोरिया, जोशीपुर, कैलारी गाउँपालिकाको उपस्थिति रहेको जानकारी दिनुभयो । घोडाघोडीमा ५१ वटा बोका, तीन वटा बङ्गुर र अन्य हाँस, कुखुरा गरी जम्मा ८३३ वटा पशुको बलि दिएर पूजा सम्पन्न भएको अध्यक्ष चौधरीले जनाउनुभयो ।

थारू समुदायले पराम्परागत रूपमा नयाँ बाली घरमा भित्र्याइएपछि पहिले देउतालाई चढाएर मात्र उपभोग गर्ने चलन छ । लवाङ्गीको अर्थ नयाँ रहेको र विशेष गरी नयाँ अन्न देउतालाई चढाएर मात्र खाने चलन भएकाले लवाङ्गी पूजा गर्ने चलन रहेको थारू अगुवा तथा अनुसन्धान कर्ता डा. रामबहादुर चौधरीले जानकारी दिनुभयो ।

पश्चिम नेपालका थारू समुदायको ठुलो देउथलका रूपमा घोडाघोडी मन्दिरलाई लिने गरिन्छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको विश्व रामसार साइडमा सूचीकृत घोडाघोडी तालसँगै रहेको घोडाघोडी मन्दिरको आस्था बढ्दै गएपछि थारू समुदायसँगै पहाडी समुदायले समेत लवाङ्गी पूजा कार्यक्रममा सहभागी जनाउँदै आएको स्थानीय बताउँछन् । स्थानीय सागर ढकालले भाकल गरेकाले भाकल पूरा भएपछि लवाङ्गी पूजाको दिन बलि दिने चलन रहेको उल्लेख गर्दै आफूले समेत यस बर्ष बोका बलि दिएको बताउनुभयो ।