काठमाडौँ, पुस ४ गते । कुनै पनि आमसञ्चारमाध्यमको भूमिका केवल समाचार प्रकाशन तथा प्रसारणमा मात्र सीमित रहँदैन । आवाजविहीनहरूको आवाजका रूपमा सरकार र जनताबिचको पुल बनेर देशको समृद्धिमा टेवा पुर्याउने अहम् भूमिका पनि यसको हुन्छ ।
त्यही भूमिका गोरखापत्र दैनिकले १२५ वर्षदेखि धान्दै आएको छ । चाहे राणा शासन होस् वा राणा शासन अन्त्यपछिको परिवर्तनकारी सङ्क्रमणकालीन अवस्था होस् वा २०४६ सालपछिको बहुदलीय प्रजातन्त्र प्राप्तिको समय नै किन नहोस् । अझै दसबर्से सशस्त्र द्वन्द्वपछिको गणतान्त्रिक कालखण्ड उदयको ताका नै किन नहोस्, गोरखापत्र दैनिक र यसका भगिनी प्रकाशनले सदैव जनताको सर्वोपरि निकायको रूपमा आफ्नो अविछिन्न यात्रालाई निरन्तरता दिएकै छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अलमलमा परेका जनता र सरकारबिचका सम्बन्धमा कसी लाउँदै मुलुकलाई समृद्धितर्फ लम्कने वातावरण बनाउन पनि गोरखापत्र दैनिकसँगै यसका भगिनी प्रकाशनहरू अग्रसर बनेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव भन्नुहुन्छ, “जनताको आधिकारिक आवाज बनेर शताब्दीअघिदेखि बनेको गोरखापत्र र यसका प्रकाशनहरू अब गोरखापत्र एकेडेमीमार्फत नीति निर्मातालाई बाटो देखाउने अवस्थामा पुगेको छ ।”
आमनागरिकलाई संविधानले दिएको मौलिक अधिकार संरक्षणसँगै ४६ भाषामा प्रकाशन गरेर समावेशीको रक्षा र आमनागरिकको आवाज बन्ने बहुआयामिक भूमिका गोरखापत्रले निर्वाह गरिरहेको उहाँ उल्लेख गर्नुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलको धारणामा पनि इतिहासको विरासतलाई आजपर्यन्त गोरखापत्रले कायम राखेको छ । १९५८ सालमा इन्द्रचोकमा भेला भएर जनताले घरायसी उत्पादनलाई विदेशमा व्यापारका लागि माहोल बनाइदिन गोरखापत्रका संस्थापक देवशमशेर राणालाई आग्रह गर्नुभएको र त्यस विषयमा सरकारले सोचेर काम गर्ने आश्वासन दिनुभएको समाचार गोरखापत्रको पहिलो अङ्कमै छापिएको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो । त्यहीँबाट नै आमसञ्चारमाध्यमका रूपमा जनता र सरकारबिचको बलियो पुल गोरखापत्र बनेको थियो ।
गभर्नर पौडेलले स्मरण गर्नुभयो, “त्यो बेलादेखि नै समाजको अर्थतन्त्र चलायमान गराउन बल गरेको थियो, अहिले के गर्ने, कसो गर्ने भनेर अन्योल छाइरहेका बेला गोरखापत्रले बलियो भूमिका निर्वाह गरेको देख्दा खुसी लाग्यो ।”
सञ्चार तथा सूचन प्रविधिमन्त्री जगदीश खरेलले भन्नुभयो, “जेनजी आन्दोलनपछि अरू मिडियाले आँट गर्न नसकेको पुनर्आर्थिकीकरण र पुनरुत्थानमा सरकारलाई पथ प्रदर्शन गर्दै जनता र सरकारबिचको मियो गोरखापत्र बनेको छ ।”
गोरखापत्र दैनिक देशकै पहिलो अखबारसँगै दक्षिण एसियाका १० पुरानामध्येको एक अखबार हो । अस्थिरताको समयमा कसले के बोल्ने र के गर्ने भन्ने अन्योल मेटाउँदै भावी दिनका लागि एजेन्डा सेटिङ गरेर जनताको जीवनस्तरमा थप सुविधा र सुधारको खाका कोर्ने जिम्मा आम सञ्चारमाध्यमकै रहन्छ ।
कतिपय परिवर्तनपछि बनेका सरकारले राम्रो काम गरे पनि नगरे पनि समाजमा सरकारविरोधी भावनाले प्रश्रय पाउने गर्छ । त्यसमा आमसञ्चारमाध्यमले सरकारको विरोध मात्रै नगरेर सरकारलाई मार्गनिर्देश हुनेगरी विचारको खाका कोर्दै जनमैत्री कामका लागि समर्थन गर्नु पनि उसको भूमिका हुने सञ्चार सचिव राधिका अर्याल औँल्याउनुहुन्छ । त्यही धारमा टेकेर गोरखापत्रले खबरदारीसँगै जनताको हित हुने किसिमले सरकारलाई बाटो देखाउन गोरखापत्र संस्थानले अहिले पनि हिम्मत राख्नु राज्यकै लागि गौरवको विषय भएको अर्याल औँल्याउनुहुन्छ । अर्थसचिव डा. घनश्याम उपाध्याय भन्नुहुन्छ, “गोरखापत्र जस्तो शास्त्रीय सञ्चामाध्यममा चार दिनपछि एसएलसीको रिजल्ट हेरेको मैले हो, अहिले समाजको सकारात्मक विकासतर्फ केन्द्रित भएको देखेको पनि मैले हो ।”
उहाँले भन्नुभए जस्तै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रको ऐतिहासिक उत्पत्ति र यात्राको विरासतलाई अझ मजबुत पार्न समाजको अग्रणी पाठशालाका रूपमा गोरखापत्र एकेडेमी स्थापना गरेर जनता र सरकारबिचको साँच्चैको सेतुका रूपमा यसै वर्षदेखि यात्रा थालनी गरेको औँल्याउनुहुन्छ । गोरखापत्र दैनिकसँगै यसका भगिनी प्रकाशनहरू दी राइजिङ नेपाल, यिनका नेपाली तथा अङ्ग्रेजी अनलाइन, मधुपर्क, युवामञ्च र मुना प्रकाशन हुँदै आएका छन् ।