• २ पुस २०८२, बुधबार

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

blog

बागमती प्रदेशका विपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै ।

राममणि दाहाल

मकवानपुर, पुस २ गते । बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार बसेको भन्दै विपक्षी दलहरूले बागमती प्रदेश सरकारलाई प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने चेतवानी दिएका छन् । 

प्रदेश सभाका विपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएका छन् । गत भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि देश ठुलो सङ्कटबाट गुज्रिरहेको भन्दै  नेपाली कांग्रेस र नेकपा एमालेकै गठबन्धनबाट चलिरहेको बागमती प्रदेश सरकार देशले यति धेरै मानवीय र भौतिक क्षति बेहोर्दा समेत प्रदेश सरकार गम्भिर नबनेको विपक्षी दलको आरोप छ ।

दुई दलिय गठबन्धन सरकारबाट आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम र बजेट आएको, यस बिचमा सरकारको नेतृत्व र मन्त्री मात्र फेरबदल भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ विद्यमान सरकार पुरानो गठबन्धनकै निरन्तरता हो । तसर्थ सरकार आर्थिक वर्षका विनियोजित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने दायित्वबाट पन्छिन पाउँदैन ।

मुख्यमन्त्री बानियाँलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल आह्वान गर्नुपर्ने, आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रम तथा बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नु पर्ने र प्रदेश सभामा टेबल भई पारित भएका थप योजना शीर्षकमा बजेट व्यवस्था गरी कार्यान्वयन गर्नु पर्ने उल्लेख छ ।

प्रदेश सभाको संसदीय दल नेपाली कम्युनिस्ट पार्टी नेता एवं पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली कम्युनिस्ट पार्टीकै वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्रमा दोस्रो त्रैमासिक सकिँदासम्म बजेट कार्यान्वयनमा सरकार अलमलमा परिरहेको जनाउँदै मन्त्रालय अनुसार फरक फरक निर्देशन दिने र पचास प्रतिशतसम्म विनियोजित कार्यक्रमको बजेट कटौती गरिएको भनिएको छ ।

नेता जम्कट्टेलले प्रदेश सभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्ष दलहरूसँग समन्वय र परामर्श नगरेको भन्दै सरकार एकल र स्वेच्छाचारी ढङ्गले चल्नुले हामीलाई गम्भिर बनाएको बताउनु भयो । 

उहाँले जेन्जी विद्रोहपछि प्रदेश सभाको बैठक बस्न सकिरहेको छैन भन्दै चालु बर्खे (बजेट) अधिवेशन हठात अन्त्य गर्नुले सरकार प्रदेश सभा र प्रदेशवासी जनताप्रति उत्तरदायी र जवाफदेही छैन भन्ने देखिएको बताउनु भयो । 

प्रदेशले बेहोर्नु परेको क्षति र जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर सरकार कानमा तेल हालेर बसेको विपक्षी दुई दलको आरोप छ । 

यस्तै लामो समयसम्म प्रदेश सभाले सभामुख पाउन नसक्दा प्रदेश सभा सचिवालय, नेता जम्कट्टेलले समिति र अन्य गतिविधि ठप्प भएको भन्दै हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरिएको बताउनु भयो । उहाँले सरकारले मागप्रति सुनुवाई नगरेमा प्रदेशसभा अधिवेशनका लागि प्रदेशसभा नियमावली अनुसार प्रतिपक्ष दल अगाडि बढ्ने जानकारी दिनु भयो ।