• २ पुस २०८२, बुधबार

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

blog

वीरगञ्ज (पर्सा),  पुस २ गते ।  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु. १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जब कि कार्यालयले गत आवको पाँच महिनामा भने रु. ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभयो । “कार्यालयले मङ्सिर महिनामा रु. २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् रु. २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।” 

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताउनुभयो । साउनमा रु. १८ अर्ब ४४ करोड, भदौमा रु. २० अर्ब ७३ करोड, असोज महिनामा रु. १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो । 

त्यस्तै कात्तिक महिनामा रु. १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने रु. २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा रु. दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ । रासस