• २ पुस २०८२, बुधबार

खेलकुद हब बनाउन वडामा ५ ठुला योजना

blog

खेलकुद हब बनाउने प्रस्तावित स्थल ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, पुस २ गते । नेपालगन्ज उपमहानगरपालिका –१ लाई खेलकुद हबका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ । 

खेलकुदको विकासका लागि लगानी गर्नुपर्छ भन्ने सोचले यो वडाले खेलकुद क्षेत्रका महत्वपूर्ण पाँचवटा पूर्वाधारमा ठुलो लगानी गरेको छ । बाँके जिल्लामा रङ्गशालापछि धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र सबैभन्दा ठुलो र आकर्षण पूर्वाधार भएको स्थानीय टोपबहादुर थापाको भनाइ छ । 

करिब १ करोड २० लाख रुपियाँ लगानीमा बनेको ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा उहाँले दुई वर्षदेखि नियमित अभ्यास गर्दै आउनुभएको छ । प्रशिक्षण केन्द्रमा हाल ५५ जना शुल्क तिरेर अभ्यास गर्ने खेलाडी छन् भने २० जना खेलाडीलाई वडाले निःशुल्क प्रशिक्षण दिएको छ । 

प्रशिक्षण केन्द्रको वार्षिक आम्दानी ४ लाख रुपियाँ, खर्च ३ लाख रुपियाँ छ । साथै चौकीदार र मर्मत–सम्भारका लागि आवश्यक पर्ने १ लाख रुपियाँ वडाले नै उपलब्ध गराउँदै आएको छ ।

वडाले लगानी गरेको अर्को महत्वाकांक्षी परियोजना हो, एन्फा ग्रासरुट फुटबल स्पोर्टस् एकेडेमी । करिब १ करोड १० लाख रुपियाँ लागतमा निर्माण गरिएको यो मैदान बालबालिकादेखि युवा पुस्तासम्मको खेल प्रेमीहरूका लागि स्थायी प्रशिक्षण स्थलको रुपमा छ । 

यसकारण प्रशिक्षण, अभ्यास, र खेल गतिविधि सबै एउटै स्थानमा सम्भव भएको छ । यस मैदानले वडालाई मात्र नभई नेपालगञ्ज उप–महानगरपालिकालाई पनि फुटबलमैत्री शहरको रूपमा स्थापित गर्न थालिसकेको छ । वडा कार्यालयले साइकल पम्प ट्रयाकमा पनि ठुलो लगानी गरेको छ । 

पम्प फर ट्रयाक परियोजनामार्फत करिब ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको यो संरचना विदेशी सहयोग र स्थानीय लगानीको संयुक्त पहलमा बनेको हो । स्वीस, जर्मनी, अस्ट्रेलियालगायत मुलुकका नागरिकहरूले ४५ लाख रुपियाँ बराबरको योगदान जुटाएर ट्रयाक निर्माणमा प्रत्यक्ष श्रमसमेत दिएका थिए । बाँकी १५ लाख रुपियाँ वडा र उप–महानगरपालिकाको साझेदारीबाट व्यवस्थापन गरिएको हो । 

त्यति मात्रै नभई वडाले योग भवनमा पनि लगानी गरेको छ । करिब ३५ लाख रुपियाँ लागतमा बनेको यो भवनले वडामा शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र स्वस्थ जीवनशैलीलाई पनि प्राथमिकताका रूपमा अघि सारेको छ ।

भवन बनेपछि योगप्रेमीहरूका लागि निश्चित तालिका, प्रशिक्षक, र व्यवस्थित कक्षासहित नियमित अभ्यास गर्न सहज भएको छ । योग अभ्यासमा आएका आनन्दप्रकाश महपाल भन्नुहुन्छ, ‘अब भवनभित्र नियमित कक्षा हुन्छ, वातावरण अनुकूल हुँदा शरीर–मन दुवै ताजा हुन्छ ।’ 

वडाले १० लाख रुपियाँमा ओपन जिम पनि अर्को वैकल्पिक खेल संरचनाका रूपमा अघि सारेको छ । हाल अन्तिम चरणको काम भइरहेको निर्माणाधीन जिमले युवा र स्वास्थ्यप्रेमीका लागि बाहिरी खुला ठाउँमै व्यायाम गर्ने वातावरण तयार गरिरहेको छ ।

ओपन जिमले युवालाई स्वस्थ, व्यस्त र सकारात्मक गतिविधिमा संलग्न गराउनेछ, र वडामा ‘फिजिकल फिटनेस’ संस्कृतिलाई अझ व्यवस्थित रूपमा स्थापित गर्ने वडाको योजना रहेको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताउनुभयो

उहाँका अनुसार नयाँ खेलाडी उत्पादन, बालबालिकामा खेलप्रति चासो जगाउने, र उनीहरूलाई पेशागत खेलकुद यात्रातर्फ प्रेरित गर्ने उद्देश्यले वडाले ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण गरेको छ । 

खेल संरचनाको विस्तारबारे अध्यक्ष रिजालले जानकारी दिँदै भन्नुभयो, ‘२६ कठ्ठा जग्गामा हामीले फुटबल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, सफ्ट टेनिस कोर्ट निर्माण गरिसकेका छौँ । एन्फा ग्राउन्डमा कार्यालयसहितको भवन पनि निर्माण भइसकेको छ ।’ 

यस वडालाई सबैखाले खेल संरचनासहितको नमुना हबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । नेपालगञ्ज उपमहानगरले आर्थिक वर्ष २०८०–८१ मा वडा नं. १९ मा १० लाख रुपियाँ लगानीमा फुटबल मैदान निर्माण गरेको छ । सम्पुर्ण खेलकुद पूर्वाधारका लागि भने २०८०–८१ मा र २०८१–८२ मा ३५ लाख बजेट विनियोजन गरिएको थियो ।