रमेश विश्वकर्मा
गुल्मी, पुस २ गते । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन चार पक्की पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ । निकै व्यस्त रहेको यो सडक २०३६ सालदेखि निरन्तर सञ्चालनमा छ । याे सडक हुँदै आवतजावत गर्ने बागलुङ र गुल्मी नागरिकहरुले डहरे खोला, नादेवा खोला, भार्से खोला र गिदी खोलामा मोटरेबल पुल नहुँदा नागरिकले लामो समयदेखि सास्ती भोगिरहेका थिए । रुद्रवेणी–वामीटक्सार–खर्बाङ् खण्डमा पर्ने यो सडकमा अहिले चार वटै खोलामा पक्की पुलको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।
सडक डिभिजन पाल्पाअन्तर्गत रहेका यहाँका चार पक्की पुल निर्माणका लागि राजेश्वरी/लुम्बिनी जेभिले जिम्मा पाएको हो । ती सबै पुल निर्माणका लागि भ्याट र पिएससहित २२ करोड ३१ लाख ६० हजार २१० रुपियाँ लागत सम्झौता गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार डहरे खोलामा ४० मिटर, नादेवा खोलामा २० मिटर, भार्से खोलामा ४० मिटर र गिदी खोलामा २० मिटर गरी कुल १२० मिटर लम्बाइको पुल निर्माणका लागि २०८० जेठ २२ गते सम्झौता भएको थियो । यी पुल निर्माणको हालसम्म ७३ प्रतिशत भौतिक प्रगति र ५७ दशमलव ३६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
२०८२ साउन २२ गते सम्पन्न गर्ने गरी सुरुको सम्झौता भएको थियो । म्याद थपपछि सम्झौता बमोजिम २०८३ साउन महिनाभित्र सबै पुल निर्माणको सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । पुल निर्माण भएपछि सवारी साधनसँगै यहाँका नागरिकलाई आवतजावतमा महत्त्वपूर्ण सहयोग हुने स्थानीयले बताएका छन् । डहरे खोलामा निर्माण भएको पुलको फाउन्डेशन दुई वटा र सब–स्ट्रक्चर दुई वटाको सम्पूर्ण कार्य सक्नुका साथै सुपर–स्ट्रक्चरको ४० मिटर ढलान गरिएको छ। पहुँच सडकको काम बाँकी छ । नादेवा खोलामा निर्माण भएको पुलको फाउन्डेशन दुई वटा र सब–स्ट्रक्चर दुई वटाको सम्पूर्ण कार्य सकिएको छ । सुपर–स्ट्रक्चरको २० मिटर ढलान १५ दिनभित्र हुने तयारी र पहुँच सडकको काम बाँकी रहेको बताइएको छ ।
त्यसैगरी भार्से खोलामा निर्माण भएको पुलको फाउन्डेशन दुई वटा र सब–स्ट्रक्चर दुई वटाको सम्पूर्ण कार्य सक्नुका साथै सुपर–स्ट्रक्चरको ४० मिटर ढलान गरिएको छ । पहुँच सडकको काम बाँकी छ । गिदी खोलामा निर्माण भएको पुलको फाउन्डेशन एक वटा र सब–स्ट्रक्चर एक वटाको सम्पूर्ण कार्य सक्नुका साथै सुपर–स्ट्रक्चरको २० मिटर ढलानसँगै पहुँच सडकको काम गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
बजेटको निकै अभाव रहेको हुँदा बजेट व्यवस्थापनका लागि सडक विभागसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । चालु आव २०८२/०८३ मा पुल निर्माणका लागि छ करोड रुपियाँ बजेट विनियोजन भएको हो । विनियोजन भएको बजेट गत आव २०८१/०८२ मा भएको कामको भुक्तानी गर्नु परेकाले अहिले कुनै पनि बजेट बाँकी नरहेको बताइएको छ । बजेट सुनिश्चित भएमा सबै कार्य असार मसान्तभित्र सकिने निर्माण व्यवसायीले प्रतिबध्दता जनाउँदै सोही अनुसार काम भइरहेको बताउनुभयो ।