• २ पुस २०८२, बुधबार

मन्त्री कुलमान बर्दियामा

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ

यज्ञप्रसाद सापकोटा
बर्दिया(गुलरिया) पुस २ गते ।
 ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नुभएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नुभएको हो ।

मन्त्री घिसिङले बर्दिया जिल्लाको बहुचर्चित जब्दीघाटको भत्किएको पुल अनुगमन गर्ने कार्यक्रम छ । तटबन्ध, सिँचाइ, पूल लगाएतका विभिन्न स्थानको अनुगमन, झोलुङ्गे पुल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

बुधबार मन्त्री घिसिङले सत्तिघाट पुल, दलाई घाट तटबन्ध, कर्णाली नदी कटान क्षेत्र टिहुनी र ओखरिया इन्टेक र राजापुर सिँचाइ आयोजनाको अनुगमन गर्नुहुनेछ ।

त्यसैगरी दौलतपुर घाटमा झोलुङ्गे पुलको शिलान्यास गर्नेसमेत योजना छ । मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीको एक कार्यक्रममा समेत सहभागी हुने योजना छ । त्यसैगरी, बिहीबार उद्योग वाणिज्य सङ्घ ठाकुरद्वारामा अन्तरक्रिया गर्दै वन्यजन्तुको समस्या र त्यसको समाधानका विषयमा छलफल गर्ने कार्यक्रम छ भने गुलरिया नगरपालिकाको सिँचाइ नहर तटबन्ध अनुगमन गर्ने र जब्दीघाट पुल अनुगमन र सम्बोधन गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम डेमनडौराले बताउनुभयो ।

मन्त्री घिसिङकाे दुई दिन बर्दिया अनुगमन रहनेछ । मङ्गलबार बर्दिया हुँदै कैलालीको टीकापुर पुग्नुभएका मन्त्री घिसिङलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख सरोज पौडेललगायतका सुरक्षा समितिको टोलीले स्वागत गरेको थियो ।