यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) पुस २ गते । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवतजावत गर्न बाध्य छन् । बारबर्दिया नगरपालिकाले नदी तार्नका लागि ठेक्का लगाएकाले पुलमा पैसा तिरेर आवतजावत गर्न बाध्य भएका हुन् ।
नगरपालिकाले गत साउन महिनादेखि माघ १५ गतेसम्म ६ महिनाका लागि नदी तार्न करिब १८ लाखको लिने गरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले नदीको सतह ठुलो भएको समयमा तार्नका लागि डुङ्गा सञ्चालन गरेको थियो । सतह कम भएपछि काठको पुल निर्माण गरेको छ । पुल निर्माण भए पनि डुङ्गा तर्दा तोकिएको दरमा नै रकम तिर्नुपरेको स्थानीयवासीहरू बताउँछन् । पुल बनेपछि आवतजावत गर्न सहज भए पनि डुङ्गा बराबरकै रकम तिर्नुपरेको बारबर्दिया नगरपालिका वडा नं ११ फच्कहवाका रविन चौधरीले बताउनुभयो ।
काठको पुल तर्नका लागि मानिसलाई १० रुपियाँ, मानिस र साइकललाई २० रुपियाँ मोटरसाइकल र मानिसको २५ रुपियाँ, अटो रिक्साको ५० रुपियाँ, हाँस र कुखुराको पाँच रुपियाँ, खसी बाख्राको १५ रुपियाँ र कृषकको मल बीउ र कृषजन्य उत्पादनको प्रतिक्विन्टल १० रुपियाँ तिर्ने गरेका छन् ।
नगरपालिकाले जब्दीघाटको पक्की पुल भत्केपछि आम्दानीको स्रोत बनाएको छ । जनतालाई सहज रुपमा आवतजावत गर्न पाउने व्यवस्था नगरी नदी तार्नका लागि ठेक्का दिएर त्यसलाई आम्दानीको स्रोत बनाएको बारबर्दिया नगरपालिका वडा नं ७ घुस्राका अतिराम थारूले बताउनुभयो । उहाँले कर्मचारीको व्यवस्था गरी नदी तार्ने सुविधा दिनुपर्ने बताउनुभयो ।
डुङ्गा सञ्चालन गर्नका लागि ठेक्का लगाएको भए पनि ठेकेदारले नदी तर्न सहज होस भनेर काठको पुल बनाएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनुभयो । “माघसम्म पानी घटेपछि नगरपालिकाले नै काठको पुल सञ्चालनको व्यवस्था गर्ने योजना थियो । ” उहाँले भन्नुभयो, “यसपटक पानी मङ्सिर मै घटेर ठेकेदारले पुल निर्माण गर्यो । माघ १५ सम्म केही गर्न नसकिएपनि त्यसपछि नगरपालिकाले निःशुल्क नदी तार्ने व्यवस्था गर्नेछ ।”
जब्दीघाटमा निर्माण भएको पक्कीपुल हस्तान्तरण नहुँदै २०७४मा भासिएको थियो । २०७९ सालमा पुल पूर्णरुपमा क्षती भएपछि स्थानीहरू नदी तर्नका लागि सास्ती बेहोरीरहेका छन् ।
सरकारले अघिल्लो आर्थिक वर्षदेखि बजेट विनियोजन गरेपनि जब्दीघाटमा पुल निर्माणका लागि ठेक्का भएको छैन । चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन भए पनि बहुवर्षे स्रोत सुनिश्चितता नभएको हुनाले ठेक्का प्रक्रियामा लैजान नसकिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ ।