हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस २ गते । नेपाल र चिनको सिमाना कोरला नाकाबाट ल्याउँदै गरेको राजस्व छलीका अवैध सामान मुस्ताङ प्रहरीले बरामद गरेको छ । कोरला नाका व्यवसायीक रूपमा सञ्चालनमा आएसँगै नाका क्षेत्रबाट हुनसक्ने अवैध गतिविधिलाई निगरानी गरिरहेको प्रहरीले थासाङ गाउँपालिका–३ लेतेमा जोमसोम–बेनी सडकखण्डबाट बेनीतर्फ जाँदै गरेको ना ३ ख ७४५५ नम्बरको कन्टेनर चेकजाँच घरायसी सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार भन्सार छली गरी लुकाई ल्याएको ज्याकेट, स्विटर, झोला, जुत्ता लगयत अन्य कपडाको सामानहरु, चकलेट र अचार गरी २८ हजारभन्दा बढीको सामान बरामद गरिएको छ ।
सूचना अधिकारी बस्यालले भन्नुभयो, ‘‘बिना भन्सारको सामान जफत हुन्छ, यो ब्यक्तिगतभन्दा पनि व्यापारिक प्रयोजनका लागि लैजान लागेको देखिन्छ ।’’ कोरला नाकाबाट आउने सामानहरू छोसेरमा रहेको भन्सार कार्यालयबाट जाँचपास नभएको अवस्थामा जहाँ भेट्यो त्यही जफत गर्न निर्देशन दिइएको छ ।
कोरला नाकालाई विगतमा समेत अवैध सामान जफत हुदाँ नाका सञ्चालनमा समस्या भएको अवस्थामा व्यापारिक सामान ल्याउने क्रममा अनिवार्य भन्सार र ब्यक्तिगत पनि तोकिएको बाहेक धेरै परिणाममा नल्याउन समेत प्रहरीले अनुरोध गरेको छ ।
नेपाल–चीन २४ नम्बर आसपासमा रहेका व्यापारिक स्टलबाट घरायसी प्रयोगका लागि सामान खरिद गर्न पाइन्छ । चिनियाँ मदिरासहित अन्य उपभोक्त बस्तुमा अन्तरशुल्क टाँस नगरिएको अवस्थामा छ्यापछ्याप्ती भेटिए पनि नियमनकारी निकायहरू निरिह बन्दा अवैध कारोबार गर्नेहरूले चलखेल गर्ने गरेको पाइन्छ । कोरला नाकामा स्थानीयको करिब २५ वटा व्यापारिक स्टलहरू रहेका छन् । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको नाका वि.स २०८० सालदेखि सञ्चालनमा आएको थियो भने यसवर्षको भदौ महिनादेखि व्यवसायीक रुपमा सञ्चालनमा रहेको छ ।