नौरते नेपाली
सिँजा (जुम्ला), पुसा २ गते । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाँखोला गाउँमा मोबाइल नेटवर्कविहीन छ । देशका धेरै ठाउँमा फोरजी, फाइभजी, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हियाँखोलाका बासिन्दा भने अझै नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य छन् । फोनमा एक धर्का सिग्नल देखिनु त्यहाँ उत्सवजस्तै हुने गरेको स्थानीय हर्क कामीले बताउनुभयो ।
हामीलाई बाहिरी दुनियाँ कस्तो छ भनेर थाहा पाउन गाउँ छोड्नुपर्छ । स्वास्थ्य सेवा झन् गम्भीर समस्या बनेको छ । बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन । एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको स्थानीय तुल तिरुवाले बताउनुभयो । राति कसैलाई गाह्रो भयो भने स्ट्रेचर बोकेर दौडिनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
स्थानीय कालो कामीले वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन हुने गरेको सुनाउनु भयो । स्थानीयका अनुसार पटक पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या हल नभएको बताएका छन् । चुनावका बेला ‘टावर राख्छौँ’ भन्ने वाचा गर्नेहरु जितेपछि बिर्सिने प्रवृत्तिले आफुहरूलाई दोस्रो दर्जाको नागरिक बनाएको उनीहरूको आरोप छ ।
स्थानीय लोकेश जङ्ग विश्वकर्माले भोट माग्दा गाउँ सम्झिनेहरु जितेपछि बिर्सिने गरेको बताउनु भयो । वडा अध्यक्ष विशाल खड्काले टेलिकमले हाँकु गाउँका लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताउनु भयो । पहिलो गाउँमा नेटवर्कको सुविधा राम्रो थियोे । टेलिकमले हाँकुको टावरको क्षमता बढाउने कुरा गरेको उहाँको भनाइ छ ।
यता नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजाराले लाग्नामा रहेको टावरको क्षमता भन्दा बढी ग्राहक रहेको हुनाले हिँयाखोलामा टावरको समस्या रहेको बताउनुभयो । उहाँका अनुसार नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ । एक महिना भित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना रहेको उहाँले बताउनुभयो । त्यसपछि समस्या समाधान हुने उहाँका भनाइ छ ।