गणेश खनाल
अर्घाखाँची, पुस २ गते । अर्घाखाँची जिल्लाको ११ किलोमिटर लामो सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने भएका छन् । सन्धिखर्क नगरपालिका–चुत्राबेँसी बाँगीखोलादेखि मालारानी गाउँपालिका–खिर्राबोट बाँगीखोलासम्म फैलिएको उक्त सडकखण्डमा हाल सात वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा पुल निर्माणको चरणमा रहेका छन् ।
सडक डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख गोपीराज पुनमगरका अनुसार चालु आर्थिक वर्षमा निर्माणाधीन पाँच वटा पुल तोकिएको समयभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।
कुडुले फाँटमा दुई करोड १० लाख ५१ हजार ६५० रुपियाँ, चुत्राबेँसी पेट्रोल पम्पनजिक दुई करोड ८३ लाख ५९ हजार ४३० रुपियाँ, ओर्खेमा तीन करोड ५७ लाख ४२ हजार ७७० रुपियाँ, खिर्राबोटमा तीन करोड २६ लाख ४१ हजार ८२० रुपियाँ र सिघ्रेमा दुई करोड ९० लाख ३३ हजार ९१० रुपियाँ लागतमा पुल निर्माण भइरहेको छ । प्रतिपुल औसत तीन करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । जस अनुसार उक्त सडकखण्डमा निर्माण हुने १२ वटा पुलका लागि मात्रै करिव ३६ करोड रुपियाँ राज्यको लगानी रहेको छ । पुल निर्माणबाहेक सडक स्तरोन्नति, ग्राभेल तथा कालोपत्रेका लागि यसभन्दा कैयौँ गुणा बढी बजेट खर्च गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यो सडक अर्घाखाँची जिल्लासँगै गुल्मी जिल्लाका केही क्षेत्रका नागरिकलाई समेत सेवा दिने महìवपूर्ण मार्ग हो । ग्रामीण भेगको सडक स्तरोन्नतिका लागि राज्यले गर्ने लगानीको यो उदाहरणले सरकारी पूर्वाधार विकासको प्राथमिकता स्पष्ट रूपमा देखाएको छ ।
सडक डिभिजन कार्यालय अर्घाखाँचीका इन्जिनियर अशोक दवाडीका अनुसार वर्षायाममा खोलानाला बढ्दा यातायात अवरुद्ध हुने समस्या समाधान गर्न पुल निर्माणलाई प्राथमिकतामा राखिएको हो । पुल निर्माणसँगै वर्षायाममा पनि यातायात सञ्चालन सहज भएको स्थानीयको भनाइ छ । गाउँमा उत्पादन हुने कृषि उपज बजारसम्म सहज रूपमा पु¥याउन सकिएको किसानले बताएका छन् ।