• २ पुस २०८२, बुधबार

बाउन्न कैदीबन्दी अझै सम्पर्कविहीन

blog

नवलपरासी समाचारदाता

कावासोती, पुस २ गते । जेनजी समूहको आन्दोलनका क्रममा परासी र चितवनको कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएकामध्ये पूर्वी नवलपरासीबाट आजसम्म ५१ जनालाई पक्राउ गरी कारागार चलान गरिएको छ । पूर्वी नवलपरासी जिल्ला विभाजनपछि कारागारविहीन रहेको र यहाँको जिल्ला अदालतले दोषी ठहर गरेकालाई चितवन र परासी कारागार पठाइने गरेकोमा जेनजी समूहको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते दुवै कारागारबाट नवलपुर जिल्ला अदालतको सुनुवाइबाट सजाय पाएका १०३ जना कैदी भागेकामा हालसम्म ५१ जनालाई पक्राउ गरेर पुनः कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो । 

कारागारबाट भागेका कैदीलाई आत्मसमर्पण गर्न आग्रह गरिए पनि सजाय पाएर कारागारको कैद भुक्तान गरिरहेका अझै ५२ कैदी सम्पर्कविहीन अवस्थामा रहेका र उनीहरूको खोजतलास भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन र ल्याउन पटक पटक परिवारलाई समेत आग्रह गरिएको छ । प्रहरीको विशेष टोली परिचालनसमेत गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

जिल्लामा कारागार नभएका कारण कैदीबन्दीलाई अदालतले सजाय सुनाएपछि चितवनको भरतपुर र परासी कारागार पठाइने गरेको र ती सबै कैदी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए । सदरमुकाम कावासोतीमा अहिले कारागार निर्माण भइरहेको र निर्माण सम्पन्न भएपछि अन्यत्र जिल्लाका कारागारमा कैदीबन्दी पठाउन नपर्ने अवस्था छिट्टै आउने प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेले बताउनुभयो ।