लक्ष्मी तिमिल्सेना
जमुनाह, पुस २ गते । पुस महिना सुरु भएसँगै बाँकेमा चिसो बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी पनि घाम नलागेपछि बाँकेमा चिसो बढेको हो ।
हुस्सुसहितको चिसो बढेसँगै मानिसहरुको चहलपहल घट्न थालेको छ भने न्यानो हुनका लागि सर्वसाधरणहरुले आगो ताप्न सुरु गरिसकेका छन् ।
बिहानै खुल्ने व्यापारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु समसाँझै सुनसान हुन थालेका छन् ।
चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् ।
जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझा नेपालगन्जका अनुसार, मङ्गलबार नेपालगञ्जको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियससम्म पुगेको थियो । अधिकतम तापक्रम भने ११ डिग्री सेल्सियम मापन गरिएको थियो ।
तापक्रम घटेसँगै बिहान र बेलुकाको समयमा यहाँ चिसो बढ्दै गएको छ । साथै सर्वसाधारणले चोक चौराह र घर घर आँगनमा आगो बालेर ताप्न सुरु गरिसकेको अवस्था छ । विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरु जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।