• १ पुस २०८२, मङ्गलबार

प्रतिनिधिसभा निर्वाचन: लमजुङका चार मतदानस्थलमा पुग्दैन यातायात

blog

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटस्थित गङ्गामिलन मावि मतदानस्थल । मर्स्याङ्दी नदीमा पुल नुहुँदा यहाँ यातायात पुग्न सकेको छैन । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, पुस १ गते ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि छनोट भएका लमजुङका चार वटा मतदानस्थल सवारी साधनको पहुँच बाहिर छन् । भौगोलिक कठिनाइ, कच्ची बाटो तथा अपर्याप्त पूर्वाधारका कारण ती स्थानसम्म गाडी पुग्न नसक्ने अवस्था रहेको हो ।

लमजुङको दुधपोखरी गाउँपालिका–१ ठुलीबारी सामुदायिक भवन, मध्यनेपाल नगरपालिका–८ स्थित विश्वज्योति आधारभूत विद्यालय मजुवाबेंसी, मर्स्याङ्दी गाउँपालिका–५ स्थित रत्न विद्यामन्दिर उपल्लो चिप्ला र सोही वडाको गङ्गामिलन मावि घेर्मु फाँटमा रहेका मतदानस्थल सवारी साधनको पहुँच बाहिर छन् ।

सवारी साधनको पहुँच नभएका यी चारवटासहित ३० वटा मतदानस्थललाई जिल्ला सुरक्षा समितिकाले अति संवेदनशील मतदानस्थलमा राखेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा चुनौतीको आधारमा वर्गीकरण गरिएकोमा लमजुङमा ३० मतदानस्थल अति संवेनशील हुन् ।

लमजुङमा १३० मतदानस्थलमा १८६ मतदान केन्द्र छन् । निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाएर गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अति संवेदनशील मतदानस्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन हुने प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताउनुभयो । यसरी वर्गीकरण गरिएका मतदानस्थलहरूमा सुरक्षाकर्मीको सङ्ख्या कति र कसरी परिचालन गर्ने भन्नेबारे एकीकृत सुरक्षा योजना बनाइएको प्रजिअ पाण्डेले बताउनुभयो ।

गत निर्वाचनमा लमजुङमा १२८ मतदान स्थल थिए । यसपटक २ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिनुभयो । थपिएका मतदानस्थलमा दोर्दी गाउँपालिका–२ अर्चलबोटको अलैंचे केदार आधारभूत विद्यालय र बेंसीशहर नगरपालिका–१० पासाचौरको कालिका आधारभूत विद्यालय मतदान स्थल छन् । मतदान स्थल सिफारिस समितिले मर्स्याङ्दी गाउँपालिका–३ थाकनकोे विनायक आधारभूत विद्यालयमा मतदान स्थल पनि थप्न सिफारिस गरेको थियो, तर स्वीकृत भएन ।