रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), पुस १ गते । केही समयपहिले स्थानीयले झारा तिरेर निर्माण गरेका सडक, भवन, कुवा, पाटीपौवालगायतका संरचना कायमै छन् । तत्कालीन समयमा आफ्नै खाएर समाजका लागि योगदान हुन्थ्यो । अहिले सामाजिक काममा रुचि हुन छोडेको भए पनि गुल्मीको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकमा भने श्रम संस्कृति जीवितै राखिएको छ ।
पछिल्लो उदाहरणका रूपमा लुम्पेकीले निर्माण गर्दै गरेको हचिङकोट दरबार क्षेत्र हो । जहाँ गाउँपालिकाले ओतका लागि ट्रस निर्माण गर्न पाँच लाख रुपियाँ विनियोजन गरेको थियो ।
रकम अपुग भएपछि स्थानीयले जस्तापाता, फलाम र सिमेन्टबाहेकको काम आफैँले गरिरहेको हचिङकोट ऐतिहासिक दरबार क्षेत्र समितिका सचिव प्रकाश थापामगरले बताउनुभयो । उहाँले श्रमदानबाहेक पनि संरचना निर्माणमा स्थानीय क्लब, सामुदायिक वन र संस्थामा रहेको रकमसमेत खर्च गरिने बताउनुभयो । सो काम मङ्सिर मसान्तभित्र सक्ने लक्ष्य छ ।
हचिङकोट दरबार क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्धन गर्न स्थानीय भन्ज्याङ देउराली र ठुलो लुम्पेकका जनसमुदायमा श्रमदानको लहर नै चलेको छ । श्रमदानको पहिलो दिनमा नै दलका नेता, जनप्रतिनिधि र कर्मचारीसहित ७२ स्थानीयले स्वस्फूर्त काम गरेका थिए । त्यसै गरी हचिङकोट दरबार क्षेत्रमै रहेको घरमा अर्को ट्रस निर्माणका लागि गाउँपालिकाले दुई लाख ७५ हजार रुपियाँ विनियोजन गरेको छ । श्रमदान अभियानमार्फत काम अगाडि बढाइएको संस्थाका अध्यक्ष निमप्रसाद तरामूमगरले जानकारी दिनुभयो ।
हचिङकोट दरबार क्षेत्र लालीगुराँसको क्षेत्र पनि हो । यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि सात रङका दुई सयभन्दा बढी गुराँस र धुपीका बोट रोपिएका छन् । स्थानीय श्रमदानबाटै लालीगुराँसका ठुला बोटका फेदमा कलात्मक आकृतिका ढुङ्गाका चौपारी, काठका मुढाका चौपारी, रानीपोखरी र सडक व्यवस्थापन आदि काम गरिएको हचिङकोट दरबार संरक्षण र प्रवर्धनमालाग्नुभएका स्थानीय अभियन्ता खोमा तरामूमगरले बताउनुभयो ।
हचिङकोट दरबारको ऐतिहासिकतासँगै पर्यापर्यटनमा जोड दिँदै स्थानीयले वन कार्यालय र गाउँपालिकाको सहयोगमा तीन हजार वटा टिमुरका बोट रोपेका छन् ।
हचिङकोटमा भुरेटाकुरे राजाले आजभन्दा ५८२ वर्षअगाडि दरबार बनाएर शासन सुरु गरेको अनुमान गरिएको छ । दरबारको अन्त्य भएको २८७ वर्ष बितिसकेको छ । हचिङकोट क्षेत्रमा भुरेटाकुरे दरबार बनेको र यसको अस्तित्व विसं १७९५ सम्म कायम रहेको इतिहास भेटिएको अभियन्ता तरामूमगरले बताउनुभयो ।
यस क्षेत्रमा अहिले पनि दरबारकालीन गढी, दरबार गहिरी, तोसखाना (सेनाको पोसाक र बहुमूल्य गरगहना राख्ने स्थान), रानीपोखरी, घुमाउने कुलो, बटारे ढुङ्गा, कोटघर, खुँडा, भाला, तरबार र धनुषकाँडका हतियार रहेका छन् । यो क्षेत्र १,९८१ मिटर उचाइमा रहेको छ ।
यो क्षेत्रबाट ठुलो लुम्पेकका सबैतिरका बस्ती र उत्तरतिर आकर्षक हिमाल देख्न सकिने भएकाले पर्यटकीय हिसाबले आकर्षक छ । लुम्पेकको जनजाति संस्कृति, लोकपरम्परा र ऐतिहासिक सत्यवती क्षेत्र, हचिङकोट दरबार, हिले सिद्धबाबालाई जोडेर एकीकृत पर्यटकीय विकास र प्रवर्धनको अभियानमा स्थानीय रहेको सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर तरामूले बताउनुभयो ।
लुम्पेकमा अहिले युवालाई सत्यवती चिनाउन सामूहिक भ्रमण र श्रमदानमा जोडिएको छ । ठुलो लुम्पेकका हरेक बस्तीमा साप्ताहिक सरसफाइ अभियानमार्फत आफ्नो टोल र समुदायमा सानाठुला सडक सफाइ, पर्खाल लगाउने, फूल रोप्नेलगायतका काम स्थानीयले सक्रिय रूपमा गरिरहेको वडाध्यक्ष तरामूले जानकारी दिनुभयो ।