अमरराज नहर्की
तनहुँ, फागुन १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल निर्माणलगायत सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सुरक्षित बनाउन मतगणना स्थलमा तारजाली लगाउनुका साथै सिसी टिभी क्यामरा जडान गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
क्षेत्र नं. १ को मतगणनाका लागि दमौलीस्थित एकीकृत विकास कार्यालय (मुख्य निर्वाचन अधिकृतको कार्यालय) र क्षेत्र नं. २ का लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा गरी जम्मा चार वटा गणना स्थल तयार पारिएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायका अनुसार मतगणना स्थलमा सिसी टिभी जडान गर्ने, उम्मेदवार र दलका प्रतिनिधिका लागि छुट्टै बस्ने ठाउँ व्यवस्थापन गर्ने तथा तारजाली लगाउने काम सम्पन्न भइसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालका अनुसार जिल्लामा कुल दुई लाख ५४ हजार ३९७ मतदाता रहेका छन् । जसमा महिला एक लाख ३० हजार ९०६ र पुरुष एक लाख २३ हजार ४९१ जना छन् । तनहुँमा महिला मतदाताको हिस्सा करिब ५१.५ प्रतिशत रहेको छ । निर्वाचनका लागि जिल्लाभर १४४ मतदानस्थल र ३११ मतदान केन्द्र (३०९ स्थायी र २ अस्थायी) तोकिएका छन् ।
भौगोलिक कठिनाइ र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आठ वटा मतदान केन्द्रलाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । मतपत्र, मतपेटिका र छापसहितका ६७ प्रकारका निर्वाचन सामग्री सुरक्षाकर्मीको निगरानीमा मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा हुन सक्ने सम्भावित अवरोध रोक्न सादा पोसाकका सुरक्षाकर्मी र मोबाइल गस्ती टोली सक्रिय पारिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आग्रह गर्नुभएको छ ।