सिराज खान
नेपालगन्ज, माघ १९ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निर्वाचनलाई शान्तपूर्ण रूपमा सम्पन्न गराउन बाँकेको नेपाल–भारत सीमामा उच्च सतर्कता अपनाउनुका साथै सुरक्षा व्यवस्था कडा पारिएको दुबै देशका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सोही क्रममा सीमा नाकाको सुरक्षा अवस्था बारे जानकारी लिन भारतीय उच्च सुरक्षा अधिकारीहरूको एक टोलीले जमुनाहा नाकासहित रुपैडिहास्थित सुरक्षा चेकपोस्टहरूको अनुगमन गरेको छ ।
भारत बहराइच जिल्लाका अपर पुलिस अधीक्षक दुर्गा प्रसाद तिवारी, नानपाराका क्षेत्राधिकारी पहुपसिंह र रुपैडिहाका थाना इन्चार्ज रमेशसिंह रावत लगायतको टोलीले जमुनाहा नाकासम्म पुगेर सुरक्षा व्यवस्थाको समीक्षा गरेको छ ।
सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिँदै बहराइच जिल्लाका अपर पुलिस अधीक्षक तिवारीले नेपालको निर्वाचनलाई सफल बनाउन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले त्यसका लागि नेपाली सुरक्षाकर्मीहरूसँग समन्वय र सहकार्य गर्न पनि निर्देशन दिनुभयो । सोही अवसरमा पत्रकारहरूसँग कुरा गर्दै अपर पुलिस अधीक्षक तिवारीले नेपालमा हुन लागेको संसदीय निर्वाचनलाई ध्यानमा राखेर क्षेत्रको निरीक्षण गरिएको जनाउँदै निर्वाचन सफल पार्न सीमाना बन्ददेखि सुरक्षा कडासम्म सबै प्रकारको सहयोग गरिने बताउनुभयो ।
रुपैडिहा थाना प्रमुख रावतले निर्वाचन र होली पर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै आफुहरू जमुनाहा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीहरूसँग पनि निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।
उता, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामांगले निर्वाचनलाई लक्षित गरेर सीमानाको सुरक्षामा विशेष ध्यान दिईएको जनाउँदै नाकामा सुरक्षा कडा पारिएको बताउनुभयो ।
उहाँले सीमा नाकामा नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीदेखि लिएर चेकजाँचमा पनि धेरै कडाई गरिरहेको बताउनुभयो ।
फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै फागनु १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नेपाल भारत जमुनाहा नाका पूर्णरूपमा बन्द रहेको छ ।