अमरराज नहर्की
तनहुँ, मङ्सिर २८ गते । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको मङ्सिर २६ गतेको बैठकले क्षेत्रीय समितिको सिफारिससहित तयार गरिएको नामावलीलाई पारित गर्दै सिफारिस गर्ने निर्णय गरेको हो । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार क्षेत्र नम्बर १ र २ का सम्पूर्ण आकाङ्क्षीहरूको नाम केन्द्रमा पठाइएको छ ।
प्रतिनिधि सभा, क्षेत्र नम्बर १
क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको नामलाई १ नम्बरमा सिफारिस गरिएको छ । सिफारिस हुने अन्य आकाङ्क्षीहरूमा कांग्रेसका जिल्ला नेताहरू रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, रेशम गुरुङ, डा. जगदीशचन्द्र पोख्रेल, रमेशबाबू भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्यामकुमार मौरती हुनुहुन्छ ।
समानुपातिकतर्फ दलित पुरुषमा डोबाटे बिक, दलित महिलातर्फ यमुना बिक, महिला प्रतिनिधिमा चिनु पोख्रेल, पवित्रा पौडेल र एलिजा ढकाल, जनजाति प्रतिनिधिमा मीरा जोशी र चिजा श्रेष्ठ, अपाङ्ग/अल्पसङ्ख्यकमा प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना र सहिदा खातुन तथा अन्यतर्फ समुन्द्र गोदार र हरिदत्त पौडेललाई सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा, क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु शङ्कर भण्डारी र प्रदीप पौडेलको नाम सिफारिस गरिएको छ । यसका साथै पुष्पराज पराजुली, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चूडामणि खनाल, जिल्ला नेताहरू चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम पनि सिफारिस भएको छ । समानुपातिकतर्फ भने मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरे सिफारिस हुनु भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि ७ जना सिफारिस
यसैबिच, नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले राष्ट्रिय सभा सदस्यका लागि पनि सात जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले आकाङ्क्षी सबैको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला सचिव लक्ष्मीभक्त खनालले दिएको जानकारी अनुसार राष्ट्रिय सभा सदस्यका लागि सिफारिस हुने सात जनामा ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा. कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी, कुलचन्द्र वाग्ले र विद्या खनाल छन् । सिफारिसमा जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गराइएको छ ।