काठमाडौँ, मङ्सिर २८ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा संस्कृतिमय बनेको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनीको खुला चौरमा आयोजना गरिएको उद्घाटन समारोह पूर्ण रूपमा सांस्कृतिकमय बनेको देखियो ।
मञ्चको पछाडिपट्टि लिच्छविकालमा निर्मित ऐतिहासिक आकर्षक चाँगुनारायण मन्दिरको आकृति र मञ्चको चारैतर्फ सांस्कृतिक झझल्को दिने गरी ब्यानर र झाँकीहरूको प्रस्तुतिसहित महाधिवेशन समारोह सङ्गीतमय बनेको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीबाट महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि, शुभेच्छुक र सहभागीहरूले आआफ्नो संस्कृति झल्कने पहिरन लगाएर महाधिवेशन स्थललाई रौनक प्रदान गरेका थिए । साथै वक्ताले बोल्ने क्रममा बिच बिचमा राष्ट्रियता र संस्कृति झल्कने रोचक नृत्यले सहभागीको ध्यान मञ्चतर्फ आकर्षित गरेको थियो । राई, लिम्बू, मगर, थारू, तामाङ, नेवारले आआफ्नै वेशभूषामा सजिएको, पञ्चे बाजा, धिमे बाजा र बाँसुरी र मादलको आकर्षक धुनले समारोह गुञ्जिएको थियो ।
दाङको घोराही उपमहानगरपालिका–३ बाट महाधिवेशनमा सहभागी हुन आउनुभएका वसन्त चौधरीले थारू सांस्कृतिक झल्कने पहिरन लगाएर महाधिवेशनमा सहभागी हुँदा आत्मगौरवको महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले) आफैँ संस्कृति र सभ्यताको रक्षा गर्ने गौरवशाली पार्टी हो । त्यही पार्टीको सदस्यको नाताले हामीले पनि सांस्कृतिक पहिचान दिने पोसाक लगाएर महाधिवेशन सफल बनाउन सहभागी भएका हौँ ।” महाधिवेशन स्थलमा विभिन्न जातजातिले झाँकी प्रस्तुत गर्दा मञ्चमा बोल्ने वक्तातर्फ भन्दा झाँकीलाई नजिकबाट नियाल्ने सहभागीको सङ्ख्या कम थिएन ।
स्थानीय नेवार समुदायको पहिचान दिने गरी नेवारी पोसाक लगाएर समारोहमा सहभागी हुनुभएका भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डूका ७१ वर्षीय ज्येष्ठ नागरिक रामकृष्ण श्रेष्ठले स्थानीय सांस्कृति झल्कने नेवारी पोसाक लगाएर महाधिवेशनलाई संस्कृतिमय बनाइएको बताउनुभयो । “भक्तपुर आफैँ कला र संस्कृतिको सहर हो । हामीले लगाएको नेवारी पोसाकसहितको धिमे बाजाले यहाँको संस्कृति प्रवर्धनमा सहयोग गरेको छ,” उहाँले भन्नुभयो । नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि, सहभागी तथा शुभेच्छुकलाई सम्भव भएसम्म आआफ्नो संस्कृति झल्कने गरी पोसाक तथा बाजागाजासहित सहभागी हुन आग्रह गरेको थियो ।