• २७ मङ्सिर २०८२, शनिबार

नयाँ च्याम्पियन पाउँदै एनपिएल

blog

सदूरपश्चिमले सुरुदेखि नै प्रतियोगिताको सर्वश्रेष्ठ टिमका रूपमा आफूलाई प्रस्तुत ग¥यो । लुम्बिनी लायन्सले भने प्रतियोगिताको मध्य भागमै बिदा भइसक्ने प्रतिकूल स्थितिबाट शानदार पुनरागमन गरेको हो ।

काठमाडौँ, मङ्सिर २७ गते । एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ । लगातार दोस्रो पटक एनपिएल फाइनल खेल्न लागेको सुदूरपश्चिम रोयल्स मात्र होइन लुम्बिनी लायन्स पनि पहिलो पटक एनपिएल उपाधि जित्ने दाउमा छ । शनिबार एनपिएलले नयाँ च्याम्पियन पाउने छ ।

दुई फरक यात्रा

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फाइनल खेल्ने दुई टिम यस पटक फरक यात्राबिच उपाधिनजिक पुगेका हुन् । सदूरपश्चिमले सुरुदेखि नै प्रतियोगिताको सर्वश्रेष्ठ टिमका रूपमा आफूलाई प्रस्तुत ग¥यो । लुम्बिनी लायन्सले भने प्रतियोगिताको मध्य भागमै बिदा भइसक्ने प्रतिकूल स्थितिबाट शानदार पुनरागमन गरेको हो ।

सुदूरपश्चिमले लिग चरणका सातमध्ये छ खेलमा जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा मात्र सुदूरपश्चिमले विराटनगर किङ्ससँग पराजय बेहोरेको थियो । सो खेलमा पहिले नै शीर्ष स्थान पुगिसकेकाले सुदूरपश्चिम रोयल्सले ठुलो परिवर्तन गरेको थियो । क्रिस लिन र जोस ब्राउन जस्ता प्रमुख आयातित खेलाडी फर्केपछि नयाँ विदेशी खेलाडीसहित खेलेको थियो । त्यसैले पनि होला विराटनगरसँग सो खेलमा नराम्ररी हा¥यो तर सुदूरपश्चिमले एक खेलपछि नै पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई लज्जास्पदक ढङ्गले हराएर आफूनै सर्वश्रेष्ठ टिम हो भन्ने साबित गरिसकेको छ ।

सुदूरपश्चिम रोयल्सका लागि फाइनल सहज भने हुने छैन । लुम्बिनी लायन्सको चमत्कारी यात्रामा च्याम्पियनको ट्रफी उचाले पनि आश्चर्य हुने छैन । लुम्बिनी लायन्सले पहिलो खेलमा चितवन राइनोजलाई हराएर प्रतियोगितामा राम्रो बोहनी गरेको थियो तर त्यसपछि लुम्बिनीले लगातार तीन खेल गुमायो । जसले लुम्बिनी लायन्सका लागि बाँकी प्रत्येक खेल नकआउट बने । राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतत्वमा रहेको टिम लुम्बिनीले लिग चरणमा बाँकीका तीन खेल मात्र जितेन, इलिमिनेटरमा काठमाडौँ गोर्खाज र क्वालिफायर टुमा विराटनगर किङ्सको सपना चकनाचुर पारेर आफूलाई अब उपाधिको एक कदम पर पु¥याएको छ । लुम्बिनीले लगातार पाँच खेल जितेर फाइनल पुगेको हो ।

लुम्बिनी लायन्सलाई उपाधि जित्न प्रेरित गर्ने अर्को कारण हो– यो टिम गत वर्ष पुछारमा थियो । अझ यस पटक पनि कमजोर सुरुवातले लुम्बिनी लायन्सको धेरै आलोचना पनि भयो । यी प्रतिकूल अवस्थालाई चिर्दै फाइनलसम्म स्थान बनाएकोबाट पनि लुम्बिनी लायन्स यस पटक मानसिक रूपमा कत्तिको सशक्त छ भन्ने स्पष्ट हुन्छ । लुम्बिनीका कप्तान रोहितले प्रतियोगतामा सुरुवात कमजोर भए पनि सबै खेलाडीको अगाडि बढ्ने विश्वासले फाइनल खेल्दै छौँ भन्नुभएको छ ।  

फाइनलमा नजरमा रहने खेलाडी

क्रिकेटमा क्रिकेटर अझ ब्याट्सम्यानका लागि घरेलु मैदान र पिच सबभन्दा ठुलो फाइदाका रूपमा रहेको हुन्छ तर यस पटक एनपिएलमा घरेलु ब्याट्सम्यान आलोचित छन् । एक दुई जना ब्याट्सम्यानलाई छोड्ने हो भने नेपालका हस्ती ब्याट्सम्यानहरूको अपेक्षाअनुरूप प्रदर्शन रहेन । यद्यपि यसबिच सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी र लुम्बिनी लायन्सका कप्तान रोहित भने ब्याटिङमा चम्किनुभएको छ । यी दुवैले प्रायः खेलमा धैर्यपूर्ण ब्याटिङले आआफ्नो टिमको पालि सम्हालेका छन् ।

सर्वाधिक रनकर्ताको सूचीमा विकेटकिपर ब्याट्सम्यान विनोद कुल २६४ रनका साथ दोस्रो र रोहित कुल २६० रनका साथ तेस्रो स्थानमा हुनुहुन्छ । फाइनलमा म्याच जिताउने पालि खेल्न सकेमा दुवै प्रतियोगिताका सर्वश्रेष्ठ घरेलु खेलाडीलाई दिइने करिब ६३ लाख मूल्य पर्ने कारको मालिक बन्ने सम्भावना प्रबल छ ।

सो कारमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रको दाबेदारी पनि उत्तिकै छ । दीपेन्द्रले आफ्नो नेतृत्व मात्र होइन, क्रिकेटका तीनै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै असरदार प्रदर्शन गरेर आफूलाई वास्तविक अलराउन्डरका रूपमा उभ्याउनुभएको छ । १४४.६६ को स्ट्राइक रेटमा कुल १५४ रन बनाएका दीपेन्द्रले आठ विकेट र दस क्याच पनि लिनुभएको छ । उहाँ सर्वाधिक रन आउट गर्ने क्रिकेटर पनि हुनुहुन्छ । फाइनलमा अर्को निर्णायक पालिले दीपेन्द्रलाई लगातार दोस्रो कार नदिलाउला भन्न सकिन्न । पहिलो संस्करणमा दीपेन्द्रले नै कार जित्नुभएको थियो ।

फाइनलमा लुम्बिनीका युवा स्पिनर शेर मल्ल पनि हेर्नलायक खेलाडीका रूपमा रहनुहुने छ । लुम्बिनीले प्रतियोगितामा शानदार पुनरागमन गर्नेमा शेरको भूमिका सबभन्दा ठुलो छ भन्दा फरक पर्दैन । पावर प्लेमा पनि लगातार सफलता प्राप्त गरेका शेरले प्रति ओभरमा मात्र छ रनको औसतमा कुल १४ विकेट लिइसक्नुभएको छ । इमिर्जङ प्लेयरको पुरस्कारमा शेर सबभन्दा अगाडि रहनुभएको छ । उता सुदूरपश्चिमका तेज बलर अविनाश बोहराले पनि कुल १६ विकेट लिएर यस प्रतियोगितालाई सफल बनाइसक्नुभएको छ । अब अविनाश फाइनलमा विकेट निकालेर आफ्नो टिमलाई च्याम्पियन बनाउनुका साथै सर्वाधिक विकेटकर्ताको सम्मान पाउने दाउमा हुनुहुन्छ । सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा रहेका सन्दीप लामिछाने एक विकेटले मात्र अविनाशभन्दा अगाडि हुनुहुन्छ ।

दुवै टिमको फाइनलसम्मको यात्रामा विदेशी क्रिकेटरको योगदान पनि उत्तिकै छ । लुम्बिनीका प्रारम्भिक ब्याट्सम्यान डार्सी, प्रतियोगिताको बिचमा आएर लुम्बिनीका लागि तुरुपको एक्का साबित हुने श्रीलङ्का विकेटकिपर ब्याट्सम्यान निरोसन डिकेवेला र नामिबियाका तेज बलर रुवेन ट्रम्पलम्यानको शानदार लय फाइनलमा पनि कायम रहने अपेक्षा रहने छ । सुदूरपश्चिमले पनि तेज बलर स्कट कुग्लियाइन, अलराउन्डर हर्मित सिंह र दुई नयाँ आयातित खेलाडी पाकिस्तानी ब्याट्सम्यान मुख्तार अहमदलाई र भारतका सेल्डन ज्याक्सनबाट आआफ्नो टिमलाई फाइनल जिताउन निर्णायक योगदान दिलाउने आशा गरेको छ ।