• ७ मंसिर २०८१, शुक्रबार

रेडियो सधैँको साथी

blog

रेडियो कान्तिपुरले बन्दाबन्दीको समयलाई सिर्जनासँग जोड्ने उद्देश्यले सुरु गरेको कार्यक्रम ‘आशा : समुन्नत सपना’ कार्यक्रममा २०७७ वैशाख ४ का दिन कार्यक्रम सञ्चालक गीतकार/कवि भूपेन्द्र खड्काले युवा पुस्ताका होनहार कवि भूपिन र मलाई कार्यक्रममा निम्त्याउनु भएको थियो । भूपेन्द्रजी मसँग टेलिफोनमा जोडिनुभन्दा अघि म रेडियोमा कवि भूपिनका दिनचर्या, विचार र कविता सुनिरहेको थिएँ । कार्यक्रममा म जोडिएसँगै भूपिन छुट्टिनु भयो । कार्यक्रम सकियो । भूपिन भाइसँग कुरा नभएको पनि धेरै भएको थियो । मैले मोबाइलमा सम्पर्क गर्ना साथै भाइले गुनासो गर्नुभयो– मैले दाइका कविता सुन्नै पाइनँ, भूपेन्द्रले लाइन काटी दिए । मैले भनेँ– त्यो प्राविधिक बाध्यता हुनुपर्छ । कुराकानी हुँदै जाँदा भूपिनले आफूसँग रेडियो नभएको कुरा मात्र भन्नुभएन, सँगसँगै आफ्नो त रेडियो कल्चर नै भएन भनेर रेडियोको प्रसङ्ग टुङ्ग्याउनु भयो । फोनवार्ता सकियो । आफूसँग रेडियो कल्चर नै नभएको भन्ने भूपिनको भनाइले रेडियोबिना सामान्य ढङ्गमा जीवन नै चल्दैन कि जस्तो लाग्ने मलाई भित्रैसम्म कतै छोयो ।

म आफ्नो विगतमा फर्किएँ ।

तिथिमिति यकिन नभए पनि आँखाभरि सर्लाहीको हरिवनस्थित हाम्रो घर र भित्तामा झुन्डिएको रेडियोको दृश्य आइरह्यो । हाम्रो घरमा त्यसबेला तीन बैण्डको नेसनलपानासोनिक रेडियो थियो । कपडाको खोल लगाइएको त्यो रेडियो प्रायः नौगोल (काठको घरमा निकालिएको गोलो खुला स्थान वा भनुँ भेटघाट कक्ष) को काठे भित्तामा किला ठोकेर त्यसमा झुन्ड्याइएको अवस्थामा हुन्थ्यो । कहिलेकाहीँ त्यो रेडियो रोप्ने वा काट्ने समयमा धानखेत र उखेल्ने समयमा तोरीबारीतिर पनि पुग्थ्यो । आली वा बारीको डिलमा राखेर रेडियो बजाइ दिएपछि काम गर्नेहरूमा नयाँ उत्साह सञ्चारित हुन्थ्यो वा भनुँ फटाफट काम हुन्थ्यो ।

त्यतिबेला ठूलो महत्त्व  थियो रेडियोको । रेडियो राख्न लाइसेन्स लिनु पथ्र्यो र वार्षिक पाँच हो कि दस रुपियाँ (यकिन भएन) सरकारलाई दस्तुर तिरेर लाइसेन्स नवीकरण गर्नुपथ्र्यो । फेरि पनि गाउँमा केही थान रेडियो थिए । धेरैजसो रेडियो काठका बाकसजस्ता हुन्थे र निश्चित स्थानमा राखिएको हुन्थ्यो । मुखिया बा (स्वर्गीय पुण्यप्रसाद भट्टराई) को घरमा राखिएको त्यस्तै ठूलो रेडियो अहिले पनि म झलझली सम्झिरहेको छु । आफ्नो साथमा बोकेर हिँड्न मिल्ने वा भनुँ सजिलै ठाउँ सार्न मिल्ने रेडियो भने बिरलै भेटिन्थ्यो । हाम्रो घर त्यहीमध्ये एक थियो । १०÷११ वर्षे केटो थिएँ म त्यसबेला ।

घरमा भएको त्यो रेडियोले मलाई केही रमाइला अवसर पनि दियो । त्यसमध्येको एउटा अवसर थियो– बिहेमा जन्त जाने । हाम्रो घरभन्दा ठ्याक्कै पश्चिमपट्टिको छिमेकी घरमा कृष्ण दाइ (कृष्णप्रसाद भट्टराई) को विवाह हुने भयो । त्यसबेला बुबा, दाजु घरमा हुनुहुन्नथ्यो क्यारे । हाम्रो रेडियो बिहेमा लैजाने कुरा भयो । आमाले रेडियो दिन अकमकाउनु भएपछि कसैले उपाय झिक्यो– आफ्नो काँधमा रेडियो झुन्डयाएर दिनेश पनि जन्त गए भइहाल्छ नि ! त्यसपछि आमाले हार्न सक्नुभएन । खल्तीमा लाइसेन्स राखी दोकाँधे झोलाजस्तो रेडियो झुन्डयाएर म जन्तमा सामेल भएँ । रौतहटको पोखरविन्दा भन्ने स्थानमा जन्त जानु थियो । ठूलो स्वरमा रेडियोमा गीत बजाउने काम मेरो जिम्मेवारीमा पथ्र्यो । रेडियो बोकेको कारण मैले दुलाहाको नजिकै वा भनुँ वरिपरि नै समय बिताउन पाएको थिएँ ।

समय बित्दै जाँदा रेडियोमाथिको मेरो लगाव पनि बढ्दै गयो । बुबा र दाजु प्रायः हरिवनभन्दा बाहिरै हुने र आमालाई धार्मिक कार्यक्रम र समाचार सुनेपछि रेडियोमा प्रायः चासो नहुने कारण रेडियो बिस्तारै–बिस्तारै मेरो साथीजस्तो हुँदै गयो । गीतहरू सुनेर रमाउने बानी मात्र बसेन, आफूलाई मन परेका गीतहरू रेडियोमा बज्दै गर्दा हतार–हतार कलम कापी लिएर टिप्न बस्ने र एकै पटकमा टिप्न नभ्याए दुई/तीन पटक लगाएर भए पनि गीतहरू टिप्न थालेँ । यसरी टिपेका गीतहरू छुट्टै कापीमा राख्थेँ । पछि कलेजको विद्यार्थी हुँदासम्म पनि त्यो कापी छोडिनँ । कापी च्यातिने अवस्थामा पुगेपछि त्यसबाट पनि छानेर मन परेका गीतहरूको एउटा नोटबुक बनाएँ । हिन्दी गीत सुन्न मन लाग्दा रेडियो सिलङ र विदेशी समाचारका लागि बीबीसीको नेपाली र हिन्दी सेवा सुनिन्थ्यो । त्यसबाहेकको अरू समय भने रेडियो नेपाल नै सुनिन्थ्यो । अर्को शब्दमा के पनि भन्न सकिन्छ भने रेडियो खोल्नु भनेको सामान्यतः रेडियो नेपालको स्टेसन ट्युन गर्ने भन्ने नै बुझिन्थ्यो ।

अलिपछि पढ्न बस्दा पनि सानो स्वरमा रेडियोमा गीत बजाइरहेको हुन्थे । सात/आठ कक्षातिर पुग्दा सिला खोजेर अनाज बेचेको पैसाले पोष्ट कार्ड किनेर रेडियो नेपालको फर्माइस कार्यक्रममा आफूलाई मनपर्ने गीतको फर्माइस पठाउन थालेँ । गीत बजाउनु अघि फर्माइसकर्ताको नाम फुक्थ्यो । आफ्नो नाम रेडियोबाट आउने भएपछि त फर्माइस कार्यक्रमको बेला कानबाट रेडियो हट्ने कुरै भएन । यतिञ्जेलसम्म गाउँमा रेडियोको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइसकेको थियो । रेडियोको फर्माइस कार्यक्रममा मेरो नाम सुनेपछि पोष्टकार्ड किनेर फर्माइस पठाइदिनका लागि साथीहरू मकहाँ आउन थाले । उनीहरूले किनेका पोष्टकार्ड (खुला अवस्थामा व्यहोरा लेख्ने र पाउनेको नाम ठेगाना लेख्न मिल्ने टिकटसमेत छापिएको त्यो हुलाक सामग्रीको मूल्य प्रतिकार्ड दस पैसा पथ्र्यो जस्तो लाग्छ) मा उनीहरूको नामसँगसँगै आफ्नो नाम पनि राखेर फर्माइस पठाउने गर्न थालेँ । बीच–बीचमा आमाले ‘रेडियो धेरै नबजा’ भन्नु हुन्थ्यो । म सिला खोजेर अनाज बेचेको पैसाले ब्याट्री किन्छु भनेर फकाउँथे तर रेडियो बजाउन छोड्दिनथेँ ।

उमेर फेरिँदै गयो । रेडियोका स्वरूपहरू फेरिँदै गए । मेरो बानी भने फेरिएन । फेरिन नसकेको मेरो बानी चाहिँ के हो भने अहिले पनि लेखपढ गर्दा म रेडियो बजाइरहेकै हुन्छु । रेडियो बजेन भने मेरो जाँगर हराउँछ । खासगरी सिर्जनात्मक लेखनको समयमा म एकान्त खोज्छु । त्यसबेला कोही आयो भने मलाई रिस उठ्छ । मेरो यो बानीका बारेमा परिवारका सबै सदस्य जानकार छन् र उनीहरूले प्रायः त्यो धर्म निर्वाह गरिरहेकै हुन्छन् । पहिले ढोकाबाट चिहाएर हेर्छन्, लेखिराखेको देखे भने फर्केर जान्छन् । मान्छे देख्न वा मान्छेसँग बोल्न पटक्कै नरुचाउने म त्यो समयमा पनि रेडियो भने बजाइराखेको हुन्छु । रेडियोमा गीत बजेको होस कि वार्ता–अन्तर्वार्ता चलेको होस् त्यसले भने मलाई केही फरक पार्दैन । रेडियो बजेन भने नुनबिनाको अचार खाएजस्तै हुन्छ मेरो मनस्थिति । यस अर्थमा मेरो एकान्तभित्र रेडियो पनि पर्छ । होटलमा बस्दा मलाई प्रायः खड्कने कुरा भनेकै रेडियो नहुनु हो । पोखरा, विराटनगरतिर जाँदा मैले केही होटलहरूमा टेलिभिजन सँगसँगै एउटा रेडियो पनि राख्न उपयुक्त हुने सुझाव लेखेर दिएको पनि छु । रेडियो, त्यसैले मेरो जीवनशैलीको अभिन्न अङ्ग हो ।

रेडियो विस्थापित भइसकेछ भन्ने कुरा मैले त्यतिखेर थाहा पाएँ जब घरमा भएको मेरो रेडियो बिग्रियो । म नयाँ रेडियो किन्न निस्केँ । निस्कन त निस्केँ तर रेडियो सेट पाए पो त ! 

करिब दुई दशकअघि नै हुनुपर्छ, चिनियाँ उत्पादनका रेडियो भित्रिन थालेपछि जापानीलगायत अन्य महँगा रेडियो सेट एक हिसाबले विस्थापित नै भए । चिटिक्क परेका स–साना चाइनिज रेडियो किन्न ठूलो बजेट नचाहिने यो परिस्थितिमा त मैले पढ्ने, लेख्ने र सुत्ने कोठामा अलग–अलग दुईवटा रेडियो पनि राखेँ ।

समय बित्दै जाँदा मोबाइल फोनले फेरि रेडियो सेटलाई विस्थापित ग¥यो । रेडियो (ट्रान्जिस्टर नै पो भन्नु पर्ने हो कि ?) विस्थापित भइसकेछ भन्ने कुरा मैले त्यतिखेर थाहा पाएँ जब घरमा भएको मेरो रेडियो बिग्रियो । म नयाँ रेडियो किन्न निस्केँ । निस्कन त निस्केँ तर रेडियो सेट पाए पो त ! काठमाडौँको नयाँ सडक, पुतलीसडक, महाबौद्ध, बानेश्वर समेतका स्थानमा ब्याट्रीबाट चल्ने मैले खोजेजस्तो रेडियो कतै पनि पाइनँ । एक दुई पसलमा रेडियो त पाएँ तर कि त बिजुलीमा तार जोड्नु पर्ने कि त अर्को कुनै सामग्रीका साथमा रेडियोको पनि सुविधा गाँसिएका चिजवस्तु थिए । मलाई यो जटिलतामा पस्नु त थिएन । मैले हार खाएँ र त्यही बिग्रेको रेडियो काम चलाउ हुने गरी बनाएर ल्याएँ । आजभन्दा छ÷सात वर्षअघिको कुरा हो यो ।

आफूसँग रेडियो नभएको अवस्थाले मेरो दिमाग खाइरहेकै थियो । केही समयअघि कुनै एकजना मित्रले रेडियो सगरमाथाले ग्रामीण श्रोताहरूका लागि रेडियो वितरण गरेको जानकारी दिनुभयो । मैले रेडियो सगरमाथासँग आबद्ध लक्ष्मण उप्रेतीजीलाई फोन गरेर आफ्नो आदत, आवश्यकता र अपेक्षाको कुरा गरेँ । उहाँले वितरणका लागि रेडियो सेट बाँकी नरहेको तर दाइका लागि रेडियो नजुटाउँदा त हामीलाई नै नोक्सान हुने देखियो भन्दै कसैगरी एक थान रेडियो खोज्ने आश्वासन दिनु भयो । यहीबीचमा मैले बिग्रेको अर्को रेडियो पनि मर्मत गराएँ र करिब एक हप्तापछि लक्ष्मणजीलाई धेरै कसरत नगर्नका लागि अनुरोध गरेँ ।

दिनहरू बित्दै गए । मर्मत गरेको रेडियोले धर्म धानिरहेकै थियो । २०७६ सालको भदौ–असोजतिरको कुरा हो । बीएफबीएस रेडियोको एउटा कार्यक्रमका लागि त्यसका सञ्चालक गीतकार तुलसी बस्नेतले निम्त्याउनु भएको थियो । झन्डै दुई घण्टा समयावधिको त्यो कार्यक्रममा बीच–बीचमा एकछिन एकछिन फुर्सद पनि पाइन्थ्यो । कार्यक्रमको बीचतिर स्टेसन मेनेजर विनोदध्वज खड्का आउनु भई एउटा सानो प्याकेट मलाई उपहार स्वरूप दिनु भयो । हेर्दा थाहा भो त्यो त रेडियो सेट पो रहेछ । रेडियो बीएफबीएसकै लागि उत्पादित एफएम र एफएम स्टेसन टिप्ने ब्याट्रीबाट चल्ने त्यो रेडियो उपहार पाएर यसकारण पनि म खुसी भएँ कि चलिराखेको रेडियो बिग्रियो नै भने पनि मसँग स्टकमा एउटा नयाँ रेडियो सेट हुने भो । त्यो रेडियो सेट जतनसँग राखेको छु र अहिले रेडियोको चिन्ताबाट मुक्त छु ।

भूपिन भाइ ! तपाईंलाई रेडियो चाहिँदै नचाहिने र मलाई चाहिँ रेडियो नभई नहुने । यो कस्तो अचम्म ! पुस्तान्तर भनेको यस्तै कुरामा नापिन्छ कि क्या हो ?