• २४ मङ्सिर २०८२, बुधबार

सुदूरपश्चिम रोयल्स लगातार फाइनलमा

blog

काठमाडौँ, मङ्सिर २४ गते ।  प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतकीय पालिले प्रेरित सुदूरपश्चिम रोयल्स मङ्गलबार विराटनगर किङ्ग्सलाई ७७ रनले हराएर दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको पहिलो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले सात विकेटको क्षतिमा १५५ रन बनाएको थियो । विराटनगर किङ्ग्स जवाफमा १४.१ ओभरमा ७८ रनमा अलआउट भयो । 

पछिल्लो खेलमा मात्र विराटनगर किङ्ग्सले अपराजित रहेको सुदूरपश्चिमलाई लज्जास्पद ढङ्गले हराएर शीर्ष दुईमा स्थान बनाएर क्वालिफायर वन खेलेको थियो । सुदूरपश्चिम तीन दिनपछि नै विराटनगरविरुद्ध एकपक्षीय जित हात पारेर मिठो बदला लिन सफल भयो । विराटनगर किङ्ग्ससमक्ष फाइनलमा पुग्ने अर्को अवसर बाँकी छ । काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग विराटनगर किङ्ग्सले उपाधि भिडन्तमा पुग्ने दोस्रो क्वालिफायर खेल्ने छ । इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बिदा हुने छ ।

विनोदको अर्धशतक

सुदूरपश्चिमको पालि अपेक्षा अनुरूप भने हुन सकेको थिएन । अनुभवी ब्याट्सम्यान विनोदले विकेटको एक भाग समाल्दै ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रन बनाएपछि मात्र सुदूरपश्चिमले सङ्घर्ष गर्न सक्ने स्कोर तयार पारेको हो । विनोद सो पालिपछि सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लनुभएको छ । उहाँले आठ पालिमा २६४ रन बनाउनुभएको छ । पोखरा एभेन्जर्सका इङ्ग्लिस ब्याट्सम्यान एडम रसिङटनले सर्वाधिक ३२३ रन बनाउनुभएको छ । पोखरा प्रतियोगिताबाट बिदा भइसकेको हुँदा विनोदलाई फाइनलमा सर्वाधिक रनकर्ता बन्ने अवसर छ ।

विनोदले खेलपछि व्यक्तिगत प्रदर्शनभन्दा एकजुट भएर खेलेर फाइनल जित्नु टिमको लक्ष्य रहेको बताउनुभयो । क्रिकेटमा अनुभवले धेरै सहयोग गर्छ । यस प्रतियोगितामा मलाई क्रिकेटको अनुभवले सजिलो बनाइरहेको छ, उहाँले भन्नुभयो ।

 सुदूरपश्चिमले तेस्रो ओभरमै पाकिस्तानी ब्याट्सम्यान मुख्तार अहमदलाई १० रनमा आउट गर्नुभएको थियो । त्यसपछि सूर्य तामाङले भारतका सेल्डन ज्याक्सनलाई पवेलियन फर्काउनुभयो । क्रिस लिन र जोस ब्राउन प्रतियोगिता नसकिँदै फर्केपछि सुदूरपश्चिमले अहमद र ज्याक्सलाई टिममा भिœयाएको हो । यद्यपि दुवै जनाले एनपिएल पदार्पणमा ब्याटिङबाट छाप छोड्न सकेनन् । त्यसपछि ईशान पाण्डे १३ रनमा नरेन भट्टले बाउन्ड्रीमा लएको दर्शनीय क्याचमा निराश बन्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी (३ रन) दुई रन लिने चक्करमा रनआउट हुनुभयो । अमेरिकी अलराउन्डर हर्मित सिंहको ब्याट्बाट पनि १४ रन मात्र निस्किए तर विनोदले आरिफ शेखसँग मिलेर सुदूरपश्चिमको पालिको अन्त्य सकारात्मक रूपमा गर्नुभयो । आरिफले १३ बलमा २० रन बनाउनुभयो । विराटनगरका लागि तेज बलरद्वय मर्चेन्ट डी लाङ्गे र प्रतिश जिसीले दुई/दुई तथा स्पिनरद्वय सूर्य तामाङ र साम हेजलेटले एक/एक विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने पहिलो पटक विकेटविहीन बन्नुभयो ।

बलियो ब्याटिङ क्रम धराशायी

फाफ डु प्लेसिस, साम हेजलेट, मार्टिन गप्टिल, लोकेश बम र बसिर अहमद भएको बलियो ब्याटिङ क्रमका लागि लक्ष्य पछ्याउन कठिन नहुने अनुमान गरिएको थियो तर सुदूरपश्चिमले सुरुका सात बलमै मात्र तीन रन बन्दा विराटनगरले तीन विकेट निकालेर खेलमा पकड बनायो । दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान डु प्लेसिसले २९ बलमा सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँलाई युवा बलर हेमन्त धामीले आउट गर्नुभयो ।

यसअघि पहिलो बलमै अस्ट्रेलियाली ब्याट्म्यान हेजलेट आउट हुनुभयो । स्कट कुग्लियाइनको पहिलो बलमै ठुलो सट प्रहार गर्न खोज्दा हेजलेट दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट हुनुभयो । पाँच बलपछि अर्का स्टार ब्याट्सम्यान गप्टिल दुई रनमा रनआउट हुनुभयो । त्यसपछि दोस्रो ओभरको पहिलो बलमा हर्मितले नरेन भट्टलाई सिकार बनाउनुभयो । त्यसपछि पनि कुनै ब्याट्सम्यानले पालि उकास्न सकेनन् । डी लाङ्गे १५, बसिर १२, लोकेश ५, नारायण जोशी १, प्रतिश जिसी ३, सन्दीप लामिछाने ३ रनमा आउट हुनुभयो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले स्कोर रक्षा गर्नेमा आफू विश्वस्त भएको बताउनुभयो । “टिम वर्कले खेल जित्यौँ त्यसैले पनि म खुसी छु । अब अन्तिम बाधा बाँकी छ । यसपालि उपाधि जित्नेमा आशावादी छु,” उहाँले भन्नुभयो ।

 अविनाश सर्वाधिक विकेटकर्ता

सुदूरपश्चिमका लागि अविनाश बोहोरा, हर्मित र स्टकले दुई/दुई तथा हेमन्त र दीपेन्द्रले एक/एक विकेट हासिल गर्नुभयो । अविनाश चालु प्रतियोगितामा सर्वाधिक विकेटकर्ताको सूचीमा पहिलो स्थानमा उक्लनुभएको छ । आठ खेल खेलेका अविनाशको खातामा कुल १६ विकेट भएको छ । अविनाशले विराटनगरका कप्तान सन्दीपलाई एक विकेटले पछाडि पार्नुभएको हो । 

सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल अवलोकन गर्नुभएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर पुगेर प्रत्यक्ष रूपमा मन्त्री खरेलले एनपिएलको अवलोकन गर्नुभएको हो । उहाँले प्लेयर अफ दी म्याच सुदूरपश्चिमका विनोदलाई ट्रफी पनि प्रदान गर्नुभयो ।