काठमाडौँ, मङ्सिर २१ गते । सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सबभन्दा प्रतिक्षित खेल बनेको थियो । ठुला स्टार खेलाडी मात्र होइन, पछिल्ला खेलमा देखाएको प्रदर्शनले यी दुई टिम चर्चामा थिए । त्यसैले शनिबार सुदूरपश्चिम र विराटनगरबिच रोचक भिडन्तको अपेक्षा गरिएको थियो तर विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले लज्जास्पद हार चखायो ।
यसअघि अङ्क तालिकामा शीर्ष स्थान पक्का गरिसकेको सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा समूह चरणको अन्तिम खेलमा पूर्णविराम लाग्यो । विराटनगर किङ्ग्सले ४९ बल बाँकी छँदै हासिल गरेको थियो । सुदूरपश्चिम र विराटनगरले अब मङ्गलबार क्वालिफायर वन खेल्ने छ । सो खेलमा विजयी हुने टिम सिधै फाइनल पुग्ने छ । क्वालिफायर वनमा हार्ने टिमसमक्ष फाइनलमा पुग्न अर्को अवसर हुने छ । सो टिमले इलिमिनेटर वनमा विजयी टिमसँग क्वालिफायर टु खेल्ने छ । इलिमिनेटर वन काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच हुने छ ।
सूदूरपश्चिम सात खेलमा छ जित र एक हारसहित १२ अङ्क बनाएर शीर्ष स्थानमा रह्यो । विराटनगर किङ्ग्स पाँच जित र दुई हारमा खेलेर १० अङ्क बनाइ दोस्रो स्थानमा रह्यो । काठमाडौँ गोर्खाजले पनि पाँच जित र दुई हारसहित १० अङ्क बनाएको थियो तर रनरेटको आधारमा काठमाडौँ गोर्खाज तेस्रो स्थानमा रहेर इलिमिनेटर वन खेल्न बाध्य भयो । लुम्बिनी लायन्स चार जित र तीन हारसहित आठ अङ्क बनाएर शीर्ष चारमा रह्यो । लिग चरणमा अब एक खेल मात्र बाँकी छ । पुछारमा रहेका दुई टिम जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच आइतबार खेल हुने छ ।
विराटनगर क्वालिफायर वनमा
सुदूरपश्चिम रोयल्सविरुद्धको खेलअघि विराटनगर किङ्ग्सलाई प्लेअफमा पुग्न जित मात्र पर्याप्त थिएन । दोस्रो स्थानमा रहेको काठमाडौँ गोर्खाजलाई इलिमिनेटरमा झार्न विराटनगरलाई यस प्रतियोगिताको सर्वश्रेष्ठ टिमका रूपमा प्रस्तुत भएको सुदूरपश्चिम रोयल्सविरुद्ध ठुलो जित आवश्यक थियो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १४७ रनको मध्यम स्कोर तयार पारेपछि विराटनगरका लागि शीर्ष दुई थानमा रहेर क्वालिफायर वनमा पुग्ने काम निकै कठिन देखियो । काठमाडौँ गोर्खाजलाई रन औसतमा पछार्न विराटनगर किङ्ग्सलाई १३.५ ओभरमा जित निकाल्नुपर्ने समीकरण बनेको थियो तर आयातित ब्याट्सम्यान फाफ डु प्लेसिस, साम हेजलेट र मार्टिन गप्टिलको गजबको ब्याटिङले विराटनगर किङ्ग्सले ११.५ ओभरमै चार विकेटको क्षतिमा १५० रन बनएर लक्ष्य हासिल ग¥यो । सुदूरपश्चिमले लगातार छ जितपछि हार बेहोरेको हो ।
दक्षिण अफ्रिकी स्टार क्रिकेटर डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटले पहिलो विकेटका लागि ७.१ ओभरमै ९७ रनको साझेदारी गरेपछि बलियो भनिएको सुदूरपश्चिमको बलिङ आक्रमण निरिह साबित भएको थियो । डु प्लेसिसले १९ बलमा अर्धशतक छुनुभयो । म्यान अफ दी म्याच डु प्लेसिस अर्धशतक बनाएको अर्को बलमै आउट हुनुभयो । उहाँको पालिमा पाँच चौका र चार छक्का सामेल थियो । एनपिएलको इतिहासमा सर्वाधिक तेज अर्धशतक बनाउने ब्याट्सम्यानको सूचीमा काठमाडौँ गोर्खाजका भीम सार्की र सुदूरपश्चिम रोयल्सका हर्मित सिंहसँगै संयुक्त रूपमा दोस्रो स्थानमा उक्लनुभएको छ । शीर्षमा न्युजिल्यान्डका जिमी निसम हुनुहुन्छ । गत संस्करणमा निसमले जनकपुर बोल्ट्सबाट खेल्ने क्रममा १८ बलमै अर्धशतक प्रहार गरी कीर्तिमान बनाउनुभएको थियो ।
हेजलेटले पनि २७ बलमा तीन चौका र चार छक्कासहित ५१ रनको पालि खेल्नुभयो । तेज बलर अविनाश बोहोराले डु प्लेसिस र बसिर अहमद (८ रन) लाई आउट गर्नुभयो । हेजलेट हर्मितको बलिङमा विकेटपछाडि क्याच आउट हुनुभयो । यसबिच न्युजिल्यान्डका गप्टिलले पनि रनआउट हुनुअघि नौ बलमै तीन छक्कासहित २२ रनको उल्लेखनीय पालि खेल्नुभएको थियो । तेज बलर प्रतिस जिसीले पनि तीन बलमा दुई छक्का प्रहार गरी १३ रनमा अविजित रहेर आफ्नो ब्याटिङ क्षमता देखाउनुभयो ।
‘चाँडै लक्ष्य पछ्याउने विश्वास थियो’
डुप्लेसिसले प्लेअफमा पुग्न करिब छ ओभरअघि नै जित्नुपर्ने समीकरण आफ्नो टिमको पक्षमा पार्नेमा विश्वास भएको बताउनुभयो । हाम्रो मानसिकता स्पष्ट थियो । हारपछि पनि शीर्ष चारमा पुग्ने पक्का थियो । त्यसैले गुमाउनका लागि केही थिएन । जसले दबाब भएन र सुरुदेखि नै प्रहार गरेर खेल्यौँ– डु प्लेसिसले भन्नुभयो । यद्यपि उहाँले च्याम्पियन बन्न आगामी खेलमा लगातार राम्रो प्रदर्शन गर्नुपर्ने बताउनुभयो । “आज हाम्रो दिन थियो तर क्रिकेट नामले खेल्ने होइन, मैदानमा प्रदर्शन गर्नु पर्छ,” उहाँको भनाइ छ ।
सन्दीप सर्वाधिक विकेटकर्ता
यसअघि सन्दीप लामिछानेले तीन विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ धरमराएको थियो । सन्दीप सात खेलमा कुल १५ विकेटसहित सर्वाधिक विकेटकर्ताको सूचीमा अग्रस्थानमा हुनुहुन्छ । सुदूरपश्चिमका अविनाश एक विकेटले पछाडि हुनुहुन्छ । सन्दीपले शनिबार राम्रो ब्याटिङ गरिरहेका इशान पाण्डे (३८ रन), जोस ब्राउन (२५ रन) का साथै खतरनाक बन्न सक्ने हर्मितलाई गोल्डेन डकमा आउट गर्नुभएको हो । आरिफ सेख ३२ बलमा ४५ रन बनाएर आउट हुनुभएन । कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा १९ रन बनाएर प्रतिशको सिकार बन्नुभयो ।
पोखरा एभेन्जर्सको सान्त्वना जित
दोस्रो एनपिएल अन्तर्गत शनिबार पोखरा एभेन्जर्स र चितवन राइनोजबिचको खेल प्रतिष्ठाका लागि थियो । प्लेअफबाट दुवै टिम बाहिरसकेकाले जितसहित प्रतियोगिताको अन्त गर्न चाहन्थे । जसमा पोखरा सफल भएको छ । पोखरा एभेन्जर्सले पोखरा राइनोजलाई आठ विकेटले हराएको छ ।
पहिले ब्याटिङ गरेको पोखराले छ विकेटको क्षतिमा १२० रन मात्र बनाएको थियो । पोखराले दुई बल बाँकी छँदा दुई विकेटको क्षतिमा १२१ रन बनाएर लक्ष्य हासिल ग¥यो । इङ्ग्लिस ब्याट्सम्यान एडम रसिङ्टनले ४८ बलमा ६५ रन बनाएपछि पोखराको जित सहज भयो । चालु प्रतियोगितामा सर्वाधिक रनकर्ता रसिङ्टन (कुल ३२३ रन) तीन सय रन नाघ्ने पहिलो ब्याट्सम्यान बन्नुभएको छ । अर्का प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले अविजित ४३ रन बनाउनुभयो । यसअघि श्रीलङ्काली बलर धनन्जय लक्सनले २० रनमा तीन विकेट लिएर चितवनको पालि कमजोर बनाउनुभएको हो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो ।