• २१ मङ्सिर २०८२, आइतबार

नागढुङ्गा सुरुङमार्ग : यात्रुलाई सहज अध्येतालाई ज्ञान

blog

काठमाडौँ, मङ्सिर २१ गते । नेपालमै पहिलो पटक आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले अत्यास लाग्दो जामबाट यात्रुलाई मुक्ति मात्र दिने छैन, आधुनिक इन्जिनियरिङमा चासो र चिन्ता राख्ने अध्येताहरूलाई नवीन ज्ञानसमेत दिइरहेको छ । सुरुङमार्ग बनाउन प्रयोग गरिएको प्रविधि तथा काम गर्ने शैलीबारे इन्जिनियरिङ क्षेत्रमा लागेका व्यक्तिहरू, नीति निर्माता तथा मध्यम किसिमका प्राविधिकले समेत चासो राखिरेहका छन् । राजधानीका अधिकांश इन्जिनियरिङ क्याम्पसका प्राध्यापक, विद्यार्थी, इन्जिनियरिङ विधाका परामर्श दातृ कम्पनीलगायत नीति निर्माताहरूले यस मार्गको अवलोकन अध्ययन गरिसकेका छन् । 

नागढुङ्गा सुरुङमार्ग आयोजनाका पूर्वआयोजना निर्देशक नरेशमान शाक्यका अनुसार जापानी प्रविधिबाट निर्माण भइरहेको उक्त आयोजनाको उहाँको कार्यकालमा मात्रै एक हजार जनाभन्दा बढी इन्जिनियरहरूले भ्रमण गरेका थिए । अध्ययन भ्रमणमा सरकारका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूसमेत आएका थिए ।  

केही दिनअघि भारतको देहरादुनमा सम्पन्न भएको ‘वल्र्ड समिट अफ डिजास्टर म्यानेज्मेन्ट’ सम्बन्धी कार्यशालामा समेत नेपालले नागढुङ्गा सुरुङमार्गमा गरिएको प्रयोगको प्रशंसा भएको थियो । भारतमा पनि यस्ता सुरुङमार्ग रहे पनि नागढुङ्गामा प्रयोग गरिएको प्रविधि, प्रकोप व्यवस्थापनमा अनुसरण गरिएको शैली फरक र उदाहरणीय रहेको विषयमा उक्त कार्यशालामा चर्चा भएको शाक्यले बताउनुभयो । 

सुरुङमार्गले नेपालका प्राविधिकहरूलाई केही नवीन सिपसमेत सिकाएको छ । नेपालमा पहिलो पटक भित्रिएको ‘मल्टिआर्म जम्बो ड्रिल मेसिन’ चलाउन नेपाली प्राविधिकले पहिलो पटक यही आयोजनाबाट सिकेका थिए । सुरुङमार्ग खन्न प्रयोग गरिने यो यन्त्र एकै पटकमा चार जनाले चलाउनु पर्छ । यो यन्त्र सञ्चालनका लागि जापानी प्राविधिक नै आएर नेपालीलाई सिकाएका थिए । रमाइलो पक्ष त के छ भने यो मेसिनका चालकलाई दिइने अनुमतिपत्रलाई अहिलेसम्म सरकारले वर्गीकरणमै नराखेको आयोजनाको पूर्वनिर्देशक शाक्यले बताउनुभयो ।

सुरुङमार्ग खन्ने क्रममा प्रयोग गरिने ‘अटोमेटिक रोबोटिक्स मेसिन’ सञ्चालनको सिप पनि नेपालीले पहिलो पटक सिकेका थिए । यस सुरुङमार्गबाट सिकिएको सिपकै कारण काठमाडौँ तराई जोड्ने फास्ट ट्र्याकको निर्माणमा सहजता थपिएको बताउँदै शाक्यले भन्नुभयो, “बुटवलको सिद्धबाबामा बनाउन लागिएको सुरुङमार्ग तथा अन्य ठाउँको सम्भाव्यता अध्ययनका लागि समेत यो सुरुङमार्गले ठुलो सिप सिकाएको छ । समग्रमा नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउन सबैभन्दा ठुलो भूमिका यसैले निर्वाह ग¥यो ।”

सुरुङमार्गका उपआयोजना निर्देशक सञ्जय नेपालका अनुसार आयोजना निर्माणको काम अहिले अन्तिम चरणमा पुगेका कारण अवलोकनमा आउनेहरू घटेका छन् । सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौँ आउन घण्टौँ जाममा फस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । यो सुरुङमा मोटरसाइकल र अतिप्रज्ज्वलनशील पदार्थ बोक्ने सवारीसाधनले अनुमति पाउने छैनन् । 

२२ अक्टोबर २०१९ मा शिलान्यास भएको यो आयोजनाको कामको थालनी भने १४ नोभेम्बर २०१९ देखि भएको हो । जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनसँग २३ सेप्टेम्बर २०१९ मा खरिद सम्झौता भएको थियो । काठमाडौँ–नौबिसे सडकलाई चार लेनमा विस्तार गर्न सम्भव नभएको भन्दै वैकल्पिक सडक बनाउन जापानी सहयोग नियोग (जाइका) ले सुझाव दिएको थियो । सोही सुझावका आधारमा सुरुङ बनाउने निर्णय गरिएको हो । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।