• १२ मंसिर २०८२, शुक्रबार

नवपुस्ताको राजनीतिक हस्ताक्षर

blog

  •  निर्वाचन भनेको संसद् सङ्ख्याको अङ्कगणित मात्रै होइन न त यो हार जितको परिणाममा राजनीतिक अस्तित्व निर्धारणको दौड नै हो । यो भनेको लोकतन्त्रको एक विश्वव्यापी मानक हो । जनतामा लोकतन्त्रको भावलाई जागृत बनाइराख्ने एक प्रकारको राष्ट्रिय पर्व पनि हो । 
  • हाम्रो नवपुस्ता पनि देशका लागि त्यस्तै एक शक्ति हो । जसले राजनीति र राजनीतिक चेतमार्फत देशलाई नयाँ दिशामा अगुवाइ गर्न सक्छ ।
  • सबै राजनीतिक दल, सरकार अनि राष्ट्रका सबै अङ्ग मात्रै चुनावी अर्जुनदृष्टिमा केन्द्रित भए त्यसको सफलीकरण अवश्यम्भावी छ । समयमै चुनाव हुन सकेन भने देशमा थप अन्योल र घोर शून्यता छाउने छ । 

एउटा अन्योलपूर्ण समयलाई यति बेला चुनावी लयले छोप्न थालेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले ल्याएको उथलपुथलसँगै देशमा देखा परेको अन्योल र अनिश्चितता अब चुनावी मार्ग हुँदै निकासको चरणमा छ । निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा राजनीतिक दलहरू दर्ता हुने क्रम सकिएको छ । यस बिचमा लगभग चार दर्जनजति दलले चुनावमा भाग लिन भनेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । त्यसमा पनि प्रमुख भनिएका नेपाली कांग्रेस तथा नेकपा एमाले जस्ता राष्ट्रिय दलहरू पनि निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ता भएसँग निर्वाचनको वातावरण लगभग सुनिश्चित भएको छ । यद्यपि कांग्रेसले पनि प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको छ तर निर्वाचनलाई अपरिहार्य ठानेको छ । नेकपा एमालेलेचाहिँ प्रतिनिधि सभाको संवैधानिक पुनस्र्थापनासँगै निर्वाचनमा जाने सङ्केत पनि देखाइसकेको छ । त्यसका लागि उसले निर्वाचन आयोगमा दल दर्ता र प्रतिनिधि सभा पुनस्र्थापनाको मागलाई सँगसँगै सर्वोच्चमा समेत पु¥याएको छ । यो एउटा राजनीतिक रणनीतिको पाटो हो । तथापि नेकपा एमालेको यो कदम चुनावका लागि अवरोध भने बन्ने छैन भन्ने राजनीतिक शक्ति पनि हो । 

हरेक लोकतान्त्रिक राष्ट्रका लागि निर्वाचन भनेको लोकतन्त्रको त्यस्तो सुन्दर अभ्यास हो, जहाँबाट जनप्रतिनिधि परिक्षित हुन्छन् र जनताले आफ्ना जनप्रतिनिधि निर्धक्क छान्न पाउँछन् । लोकतन्त्रको यो बृहत्तर परीक्षामा जति सक्रिय र उत्साहका साथ राजनीतिक दलहरू वा तिनका प्रतिनिधि सहभागी हुन्छन्, उत्ति नै लोकतन्त्रको सुन्दरता अझ निखारिँदै जान्छ । तसर्थ लोकतन्त्रको उन्तत संस्करणका लागि निर्वाचन अपरिहार्य हुन्छ । लोकतन्त्र र चुनावबारे एउटा विश्वव्यापी भनाइ प्रख्यात छ ‘साधारण जनतासँग असाधारण सम्भावना हुन्छन् भन्ने विश्वासमा लोकतन्त्रको जग अडिएको हुन्छ ।’ अर्थात् लोकतान्त्रिक मान्यतामा निर्वाचन त्यो शक्तिमा निहित हुन्छ, जहाँ नागरिकले आफ्नो मतद्वारा प्रतिनिधिको परीक्षा लिइरहेका हुन्छन् । त्यही परीक्षाको सफलता वा असफलता नै राजनीतिककर्मीका लागि अघिको बाटो तय गर्ने एउटा 

कोसेढुङ्गा बन्छ । यसरी निर्वाचन भनेको मात्रै जनताको मत अनि त्यसको अङ्कगणित मात्रै होइन बरु नागरिकको समग्र जीवन भावना पनि हो । त्यसैले चुनाव भनेको मात्रै राजनीतिक दल मात्रै होइन बरु आमनागरिकको शक्ति प्रदर्शनको एउटा पर्व पनि हो । 

जेनजी आन्दोलनपछि जसरी देशमा एकप्रकारको दलविरोधी भावनाको खेती गरियो वा एक प्रकारले भन्ने हो भने नेपालमा राजनीतिक दलहरू बहिष्कृत जस्तै भएका थिए । त्यही जेनजी पुस्ताको विद्रोहको भरमा देशमा अन्तरिम सरकार बन्यो । पूर्वप्रधान न्यायाधीशले नेतृत्व गर्नुभएको यो अन्तरिम सरकारको एउटा मुख्य कार्यभार भनेको आगामी फागुन २१ को निर्वाचन सम्पन्न गर्नु नै हो । दलका आफ्नै नियतिले निम्तिएको यो भयङ्कर अन्योल, अनिश्चितता र भद्रगोल सङ्क्रमणका बेला फेरि पनि दलहरू समालिँदै आएका छन् । नयाँ पुस्तामा जुन प्रकारको राजनीतिक चेतना आएको छ, यो एक प्रकारले भन्ने हो सकारात्मक र आसलाग्दो छ । थपिएका कम्तीमा आधा करोडभन्दा बढी युवा मतदाताको सक्रिय र रचनात्मक सहभागिताले आगामी निर्वाचनको परिणाम तस्बिर नै फेरिने अवस्था छ । अहिले हरेक राजनीतिक दलहरूमा नयाँ पुस्तालाई कसरी समेट्ने वा उनीहरूको प्रतिनिधित्व कसरी गर्ने, गराउने भन्नेबारे बहस चल्न थालेको छ । कतिले नयाँ पुस्तालाई समेटेर चुनावी अनि आफ्नो पार्टीको अभियान पनि सुरु गरिसकेका छन् । जेनजी पुस्तालाई अघि सारेर अनि कतिपयले उनीहरूकै भरमा दलसमेत दर्ता गरिसकेका छन् । यो प्रकारको राजनीतिक उत्साह अनि चेतनाले कालान्तरमा राष्ट्रको नेतृत्व अनि नीतिनिर्माण तहमा नयाँ पुस्ताको निर्णायक प्रतिनिधित्व हुनेमा दुई मत छैन । तथापि यो समय भनेको पुराना भनिएका दलहरूले आफूले आफैँलाई भित्रैदेखि माझेर सच्चाउँदै लैजाने र फेरि नयाँ कलेबरमा निर्वाचनमा होमिनुपर्ने अवस्था छ । अहिले दलहरू जति समालिन्छन्, जति आफू माझिन्छन् उत्ति नै यी पुराना भनिएका दलहरूको अस्तित्व बाँचिरहन सक्छ । यद्यपि देशमा दलीय व्यवस्थाको विकल्प छैन भन्ने अहिलेको माहोलले पुष्टि गरिसकेको छ । यसबाट जेनजी विद्रोह, कुनै व्यवस्थाविरोधी वा बहुदलीय संसदीय व्यवस्थामा आधारित लोकतन्त्रविरुद्ध थिएन भन्ने प्रस्ट भएको छ । जसरी परिवर्तनलाई स्विकार्न नसक्ने शक्तिले जेनजी विद्रोहलाई व्यवस्थाविरोधी भन्ने भाष्यसँग जोडेर त्यसलाई उल्टो फाइदा लिन खोजे त्यस्ता शक्ति अहिले पराजित अवस्थामा छन् । त्यसैले पनि राष्ट्रका लागि आगामी फागुन २१ को चुनाव परिवर्तनको एउटा अर्को ऐतिहासिक मानक पनि बन्ने छ । 

तत्कालीन पञ्चायतविरुद्ध क्रान्ति गरिरहेको नेपाली कांग्रेसका नेता जननायक बिपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर निर्वासित जीवन अन्त्य गर्दै नेपाल फर्किनुभएको थियो । विभिन्न विचार र सिद्धान्तले एकआपसमा छरिएका तर प्रजातन्त्र र राष्ट्रियताका लागि लड्दै आएका शक्तिलाई एकै ठाउँमा ल्याउनु अनि पञ्चायतका संरक्षक (दरबार)सँग जनताका अधिकार फिर्ता ल्याउनु उहाँको प्रमुख उद्देश्य थियो । त्यसैका लागि उहाँले मेलमिलापको नीति अघि सार्नुभयो । २०३६ सालमा बहुदलीय प्रजातन्त्र चाहने र ‘सुधारिएको पञ्चायत’ चाहने शक्तिबिच एउटा जनमत सङ्ग्रह पनि भयो । बिपीलाई थाहा थियो, त्यसमा दलीय पराजय अवश्यम्भावी छ । तथापि उहाँले जनमत सङ्ग्रहमा भाग लिनका लागि सबैलाई आह्वान गर्नुभयो र डटेर लाग्नुभयो । जानाजान हारिने जनमत सङ्ग्रहमा किन भाग लिने ? त्यो बेला बिपीको प्रस्ट भनाइ थियो– यो हार अनि जितको सवाल होइन, जनतामा प्रजातन्त्रको आदत बसाउने एउटा उपयुक्त मौका हो । परिणाम उहाँले नै भने जस्तो आयो एक प्रकारकाले मानसिक रूपमा सबै त्यो परिणामलाई स्वीकार गर्न तयारै थिए । फेरि पनि पञ्चायतले जित्यो, बहुदल हा¥यो । फेरि बिपीले भन्नुभयो, “अब जनतालाई प्रजातन्त्रको लत बस्यो, पञ्चायत ढल्छ ।” २०४६ सालमा त्यस्तै भयो । पञ्चायत ढल्यो । बहुदलको जित भयो । देशमा फेरि लोकतन्त्र स्थापित भयो । यद्यपि बिपीले राष्ट्र अनि जनताको जीवनमा झुल्किएको लोकतन्त्रको त्यो उज्यालो पल देख्न पाउनुभएन । यहाँ भन्न अनि प्रस्ट पार्न खोजिएको कुरा के हो भने, निर्वाचन भनेको संसद् सङ्ख्याको अङ्कगणित मात्रै होइन न त यो हार जितको परिणाममा राजनीतिक अस्तित्व निर्धारणको दौड नै हो । यो भनेको लोकतन्त्रको एक विश्वव्यापी मानक हो । जनतामा लोकतन्त्रको भावलाई जागृत बनाइराख्ने एक प्रकारको राष्ट्रिय पर्व पनि हो । 

समयको एउटा नियतिले निम्त्याएको फागुन २१ लाई पनि दलहरूले एउटा त्यस्तै पर्वका रूपमा आत्मसात् गर्नु पर्छ । गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको भावलाई स्वीकार गर्न भए पनि यो निर्वाचन सफल हुनै पर्छ । त्यही चुनावबाट नवपुस्ताका भावहरूलाई हामीले हाम्रा राष्ट्रिय नीति निर्माणका लागि लिपिबद्ध गर्न सक्छौँ । अमेरिकी लोकतन्त्रमा एउटा शक्तिशाली चुनावी कथ्य प्रख्यात छ– मतदान मात्रै कसैको अधिकार होइन यो त आमजनताको शक्ति पनि हो । हाम्रो नवपुस्ता पनि देशका लागि त्यस्तै एक शक्ति हो । जसले राजनीति र राजनीतिक चेतमार्फत देशलाई नयाँ दिशामा अगुवाइ गर्न सक्छ । उसको शक्ति के हो भनेर हामीले गत भदौ २३ र २४ का केही घण्टाहरूबाटै थाहा पाइसकेका छौँ, जति बेला शक्तिशाली भनिएका दलहरूले नै साझेदारी गरेको सरकार एकैछिनमा ढल्यो । तसर्थ नवपुस्ताको राजनीतिक हस्ताक्षरका लागि भए पनि आगामी फागुन २१ को निर्वाचन सफल हुनै पर्छ । सबै राजनीतिक दल, सरकार अनि राष्ट्रका सबै अङ्ग मात्रै चुनावी अर्जुनदृष्टिमा केन्द्रित भए त्यसको सफलीकरण अवश्यम्भावी छ । समयमै चुनाव हुन सकेन भने देशमा थप अन्योल र घोर शून्यता छाउने छ । एउटा सङ्क्रमणको चोटमा खाटा बस्न नपाउँदै देशमा पटक पटक आउने सङ्क्रमणले मात्रै देश खोक्रिँदै जाने हो । त्यसको जिम्मेवार फेरि हामी नै हुने छौँ । नवपुस्ताले सडकमा बगाएका रगत अनि यो सारा राष्ट्रिय विध्वंसका कारक फेरि पनि हामी नै करार हुने छौँ । आउने पुस्ताको भविष्य कस्तो बनाउने भन्ने निर्णायक अहिलेकै नयाँ पुस्ता हो । नत्र फेरि अघिल्लो पुस्ताकै नियतिले यो पुस्तालाई पनि पछ्याउने छ । किनकि इतिहास मेटिँदैन । बरु ती नयाँ नयाँ अक्षर अनि अक्षराङ्कमा कोरिँदै जान्छन् ।