यति बेला राजनीतिमा युवा शब्द खुबै प्रचलित छ । राजनीतिमा युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने कन्टेन्ट हो ।
युवा चुनौती खोज्छ, स्वीकार्छ र चुनौतीसँग लड्न सक्छ । सुनेका र देखेका विषयलाई स्वविवेकले हेर्छ । उत्सुकता, उत्कण्ठा, इच्छा आकाङ्क्षा र उच्चताको भावमा आत्माको आवाज सुन्छ, मूल्याङ्कन गर्छ र आफू भएर बाँच्छ । ऊ प्रश्न गर्ने आँट गर्ने हैसियत र क्षमता राख्ने भएकाले पनि मुलुकले युवा नेतृत्व खोजेको छ ।
स्थानीय तहको निर्वाचनपश्चात् राजनीतिमा केही युवाको प्रवेश भयो । बालेन साह, गोपाल, मनोज कुमार र हर्क साम्पाङलाई मतपेटिकामार्फत स्वीकार गरियो । यो उहाँहरूका लागि मुलुकको मुहार फेर्ने अवसर हो । परिवर्तन युवाकै सहभागिताबाट हुनुपर्छ भन्ने सङ्केत पनि हो ।
परिवर्तनका लागि कसैको खुट्टा तानिरहनु पर्दैन, सबैका हात समाउन सिके पुग्छ । हात समाउनका लागि उत्कृष्ट विचार, सफल योजना, दूरगामी महत्त्वको लक्ष्य र जनताको दर्बिलो साथ र विश्वासका साथै स्रोतसाधन, विकासका मुद्दा र विकसित ज्ञान, प्रविधि र सहयोगी भावना चाहिने रहेछ भन्ने जनताको स्वीकारोक्तिको अभिव्यक्ति पनि हो ।
सक्षम र जागरुक युवा कुनै पार्टी वा नेता वा कुनै व्यक्तिका पछाडि टाँसिनुहुँदैन । आफूलाई छुट्टै परिचयका साथ स्थापित गर्नुपर्छ । प्रशंसा वा निन्दा आफ्नो ठाउँमा हुन्छ । असल कर्ममा निरन्तरता दिइरहने हो भने त्यसले खासै फरक पार्दैन । समय फेरिएको छ । पहिला जस्तो पाखुरा देखाएर काम गर्ने समय अहिले छैन ।
अहिले बुद्धिले काम लिनुपर्छ । ज्ञान, विज्ञान र प्रविधिलाई आफ्नो सुविधा र समाजको भलाइमा जोड्दै र प्रयोग गर्दै लैजानुपर्छ । राजनीतिक विकृतिका कीरा नष्ट गर्न देशले युवाकै अग्रसरता खोजेको छ । केही मान्छेको आजको फाइदाका लागि करोडौँ मानिसको भविष्य अन्धकार बनाउनुहुँदैन । समाज परिवर्तनका सारा विषयको जिम्मेवारी र दायित्व अब युवाकै काँधमा आएको छ ।
हरेक परिवर्तन र सिर्जनाको जग युवामै भेटिन्छ । विडम्बना नै भन्नुपर्छ, परिवर्तनका संवाहक भनेका हाम्रा पढेलेखेकै होनाहार युवा प्रायः बेरोजगार भई बिदेसिन बाध्य छन् । आशालाग्दा युवाको अवस्था यस्तो भएपछि समाज कसरी बन्छ ? देश र जनताको उन्नति कसरी हुन्छ? नेपोलियनले २६ वर्षकै उमेरमा विश्व विजयको अभियान सुरु गरेका थिए । सिद्धार्थ गौतमले ३६ वर्षमै बुद्धत्व प्राप्त गरे । कार्ल माक्र्सले ३० वर्षकै उमेरमा कम्युनिस्ट घोषणापत्र लेखी विश्वमा नयाँ राजनीतिक विचारको जग बसाले ।
पृथ्वीनारायण शाहले २० वर्षकै उमेरमा नेपालको एकीकरण अभियान थालनी गरी पूरा गरे । १६ वर्षकै उमेरमा घर छोडेर भागेका रुसोले एक्लै गरेको कठिन सङ्घर्षपछि संसारलाई अद्वितीय कृति दिएर गए । हिन्दु धर्म, वेदान्त ज्ञान र पूर्वीय दर्शनलाई संसारमै फैलाएर ३९ वर्षको अल्पायुमै स्वामी विवेकानन्दले इहलीला समाप्त गरे ।
यी त केही उदाहरण मात्र हुन् । भविष्यका चुनौती र सम्भावनाप्रति चासो राख्ने युवा पहिलादेखि नै जागृत र सावधान थिए । दृढ विचार र दूरदर्शितालाई हरदम साथमा राखेर अघि बढेका ती युवा जता गए त्यतै सफल भए । ज्ञान, विज्ञान र दृढ इच्छाशक्ति सफलताको कारक बन्यो ।
अध्येता भन्छन्, “मानिसको औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्दछ तर त्यसमा ७० प्रतिशत नकारात्मक हुन्छन् ।” बेराजगार बनेका धेरै युवा यही नकारात्मक विचारमा फसेका छन् । उनीहरूको त्यो विचारलाई सही मार्गमा ल्याउन सक्ने कामको थालनी भएन । शारीरिक तथा वैचारिक प्रतिस्पर्धाको म्याराथनमा दौडाउने कुनै कार्यक्रम नभएर पछि पारियो । आफ्नो इतिहास, भूगोल, सम्पदा, सामाजिक मनोविज्ञान र श्रम राम्रोसँग चिनेर पनि सोचमा भएको गरिबीलाई हटाउन सकिएन ।
देशको भू–राजनीतिक अवस्था जटिल मोडमा पुगेकैले युवाको आवश्यकता महसुस भएको हो । शासकीय शक्तिमा युवाको आवश्यकता भनिरहँदा चिनियाँ दार्शनिक लाओत्सेको एउटा भनाइ रोचक छ, “सर्वोत्तम शासक त्यो हो, जसको जनतामा आभाससम्म हुन्न, उत्तम शासक त्यो हो जसलाई जनताले प्रशंसा गर्छन्, मध्यम शासक त्यो हो जोसँग जनता डराउँछन् र खत्तम शासक त्यो हो जसलाई जनताले घृणा गर्छन् ।” सोचौँ, अहिलेको हाम्रो अवस्था के हो ? शासक खराब हुन् वा व्यवस्था ? हामी कस्तो शासन व्यवस्था र कस्ता शासकबाट शासित छौँ ? हामी के चाहन्छौँ ? यो विषम परिस्थितिमा हामीलाई शासन व्यवस्था र शासक परिवर्तनको आवश्यकता छ कि छैन ? यसको उत्तर दिन सक्ने युवा नेतृत्व स्थापित गरौँ ।
समानता, सहकार्य, साझेदारी, लोकतान्त्रिक जवाफदेहिता, वातावरणीय दिगोपन र सबल, सक्षम र उत्तरदायी सामाजिक संस्थाको माध्यमबाट आफूलाई संसारकै खुसी राष्ट्रमा पार्न सफल भयो मध्यअमेरिकी देश गणतन्त्र कोस्टारिका । हामीसँग के छैन र हामी दुःखी भयौँ ? माटोमा सिम्रिक भेटिन्छ । ढुङ्गामा सिलाजित पाइन्छ । हरेक झारपातमा प्राकृतिक औषधि छ । झारबाटै यार्सागुम्बा उम्रन्छ । तराईमा उर्वर भूमि छ । पहाडमा शीतल हावापानी छ । हिमालको छुट्टै सान र गौरव छ । यहाँका आहार, विहार र आराम तिनै कुरा हाम्रो निरोगिताका सम्पत्ति हुन् ।
जातीय एकता र धार्मिक सद्भाव छ । सार्वभौम जनताले चुनेका जनप्रतिनिधिले शासन चलाएका छन् । देश–विदेश घुमेका र पढेका उम्दा प्रतिनिधि राष्ट्रसेवक छन् । यति भएर पनि हामी किन खुसी र सुखी हुन सकेनौँ ? हो, हामीले हाम्रो माटो, भूमि, श्रम, आफैँलाई र आफ्नोपन पनि चिन्न सकेनौँ । भएका स्रोतसाधन तथा ज्ञान विज्ञान र प्रविधिलाई उन्नत बनाउन सकेनौँ । त्यसैले त हाम्रो सुनको कचौरा देख्नेहरू भन्ने गर्छन्– “तिमीहरू हातमा सुनको कचौरा लिएर माग्न हिँड्छौँ ।”
जाग युवा । आफ्नोसहित देशको भविष्य तिम्रै हातमा छ । मार्क जुकरर्वक (फेस बुक), स्टिभ जब्स (आइफोन) र चाल्र्स बाबेज (कम्प्युटर)का ज्ञान, सीप र सिद्धान्तको बारेमा बहस गर जसले आफ्नो उत्पादनलाई संसारभर फैलाएर दुनियाँलाई समान सुविधा दिई आफूले पनि नाम र दाम दुवै कमाए । आफैँले केही नगरी बनिबनाउ सुख अगाडि आउँदैन । आफूभित्र लुकेको क्षमता र दबिएको इच्छालाई जगाउन अध्ययनशील नै बन्नुपर्छ । नैतिक पुँजी र इच्छाशक्तिलाई दह्रो बनाउनुपर्छ । दूरदर्शी चिन्तनमा आफूलाई डुबाउनुपर्छ ।
सलाईको काँटीमा आगो अन्तर्निहित हुन्छ तर बट्टाको मसलामा नघोटिई आगो निस्किन्न । युवा भनेका सलाईका काँटी हुन् । काँटी बनेका युवाले बल्नलाई देश सेवामा घोटिनुपर्छ । युवा नघोटिएसम्म देश झलमल्ल हुँदैन । यसका लागि विदेश पलायन भएका लाखौँ युवा र स्वदेशमै बेरोजगार हजारौँ युवाको एउटै स्वर बनाएर अघि बढ्नुपर्छ । यो समय एक्लै होइन मिलेर, बलले होइन बुद्धिले र बारुदले होइन दिमागले काम गर्ने समय हो ।
खानपान, निरोगिता, उत्पादन र सौन्दर्यका असाध्यै महत्त्वपूर्ण स्रोत र साधन हाम्रो प्रकृतिमा विद्यमान छन् । भूगोल उत्पादनमुखी छ । यसलाई समुचित प्रयोग गरी कुनै न कुनै स्वदेशी उत्पादनलाई नयाँ ब्रान्ड बनाएर आफ्नो परिचयसाथ संसारको ध्यान खिचौँ । सन् १८८४ मा अमेरिकी फर्मासिस्ट जोन पेम्बर्टनले दक्षिण अमेरिकामा पाइने कोका अर्थात् कोकिन बन्ने बिरुवा र पश्चिम अफ्रिकाको कोला नामक बिरुवाबाट निकालिएका पदार्थ मिलाएर कोकाकोलाको फर्मुला तयार गरे । त्यही कोकाकोला आज अमेरिकी पुँजीवादको सिम्बोल बनेर संसार फैलियो ।
अमेरिका अहिले पनि कोकको बोतलमा आफ्नो साम्राज्य देख्छ । सत्रौँ शताब्दीमा सीमित ठाउँमा मात्र प्रयोग भइरहेको चियालाई आफ्नो व्यापारको केन्द्र बनाएर फैलाउन सुरु गर्ने बेलायत आज पनि आधुनिक विश्वको चियावाला भएर चियाको कपमा आफ्नो साम्राज्यको ऐना हेर्छ । गर्व गर्न लायक हामीले के बनाएका छौँ ? जे छ खेर गएको छ । खेर नगएको सम्पत्ति अर्कैले लगेर आफ्नो बनाई प्रयोग गरेको छ । नाम कमाएको छ ।
सिर्जनशील सामथ्र्य र प्रचुर सम्भावना भएका युवा विचार विनिमयका अथक साधक हुन् । युवाले नै बाहुबल र सत्ताभक्तिको आम संस्कृतिलाई बदल्न सक्छन् । दिमागदेखि आचारणसम्म परिवर्तन ल्याउन सक्छन् । विवेकमाथि पैसा र शक्तिको छाया हाबी हुन्छ । त्यसलाई निर्मम भएर प्रहार गर्न सक्छन् ।
यस्ताखाले यावत् जटिलता चिर्न पनि युवा सधैँ विचारवान् हुनुपर्छ । सकारात्मक सोच्नुपर्छ । आफ्नो ज्ञान र सामथ्र्यमा विश्वास राख्नुपर्छ । मायादेवीले सिद्धार्थ जन्माइन् तर युवा सिद्धार्थले आफ्नै ज्ञानबाट बुद्ध जन्माए । जनताको मन जित्न र संसारलाई आफ्नो बनाउन अलिकति त्याग चाहिन्छ ।
अहिलेका हरेक युवा पनि कसैको बुद्धु कार्यकर्ता बन्नुभन्दा आफ्नै ज्ञानले आफैँमा बुद्ध जन्माउन अग्रसर हुनुपर्छ । अवसर र सूर्योदय सँगै आउँछन् । तिनीहरूलाई हातमा लिएर सँगसँगै हिँड्नुपर्छ । तथ्यहरूलाई हत्केलामा राखेर आफ्नै नाङ्गो आँखाले परीक्षण गरी सत्य बाहिर निकाल्नुपर्छ । हजारौँ अवसर सिर्जना गरी गरिबीका पर्खाल भत्काउनुपर्छ ।
अपराधका खाडल पुर्नुपर्छ । ग्रिक दार्शनिक अरस्तुले भनेका थिए, “गरिबी क्रान्ति र अपराधको जननी हो ।” हाम्रोमा पनि गरिबीकै कारणले अब फेरि यस्ता सन्तान नजन्मियून् । जन्मिने र जन्माउने बाटा सबै बन्द गरियून् । युवाबाट सबैले यही आशा गरेका छन् ।