पहिले फलफूल र तरकारी खेती गर्दा बाँदरले खानै दिँदैनथ्यो । अहिले माछापालन सुरु गरेपछि कुनै समस्या छैन ।
कविराज घिमिरे
हिले, मङ्सिर ३ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ स्थित माक्लुङ गाउँका स्थानीयवासी पदम कटवाल आफ्नो अधिकांश बारी मासेर पोखरी बनाई माछापालनमा लाग्नुभएको छ । केही वर्षअघिसम्म तरकारी, फलफूल तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आउनुभएका कटुवाल अहिले भने तरकारी र फलफूल बाली मासेर माछापालनमा लाग्नुभएको हो । बाँदरले तरकारी तथा फलफूल बालीमा क्षति पु¥याएर आजित भएपछि उहाँ त्यसतर्फ आकर्षित हुनुभएको हो ।
कटवालले अहिले पाँच वटा पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ । माछापालन गर्दा बाँदरले कुनै असर नगर्ने उहाँ बताउनु हुन्छ । “पहिले फलफूल र तरकारी खेती गर्दा बाँदरले खानै दिँदैनथ्यो । अहिले माछापालन सुरु गरेपछि कुनै समस्या छैन,” कटुवाल भन्नुहुन्छ । अहिले उहाँको परिवारले वार्षिक करिब पाँच क्विन्टल माछा उत्पादन गर्दै आएको छ ।
कटुवाल जस्तै छथर जोरपाटी गाउँपालिका–१ स्थित माक्लुङ गाउँमा रहेका १४ परिवार नै अहिले माछापालनमा लागेका छन् । प्रत्येक परिवारले एकदेखि आठ वटासम्म पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । सबैले माछापालन गर्नुको साझा कारण बाँदर आतङ्क नै हो । त्योबाहेक गाउँमा पानी प्रशस्त हुनु, बजार समस्या नहुनु, काम पनि सहज हुँदा उनीहरू माछापालनमा आकर्षित भएको स्थानीय सञ्जीव कटुवाल बताउनु हुन्छ । “अरू खेतीलाई जस्तो यसलाई बढी मेहनत पनि पर्दैन यहाँ पानी पनि प्रशस्त छ । बजारको पनि समस्या छैन, मूल्य पनि राम्रो छ,” कटुवाल भन्नु हुन्छ ।
त्यसो त यो गाउँमा करिब २०५० सालबाटै माछापालन सुरु भएको थियो । स्थानीय होमकुमार लिम्बूका बुवाले गाउँमा एउटा पोखरी निर्माण गरी आफूले खान तथा पाहुनाहरूलाई खुवाउन प्रयोग गर्दै आउनुभएको थियो । छोरा होमकुमार लिम्बूले त्यसैलाई निरन्तरता दिँदै आउनुभएको थियो । २०७३ सालतिर गाउँमा बाँदर आतङ्क बढेपछि बाँकी रहेको जमिनमा पनि आठ वटा पोखरी निर्माण गरी माछापालनलाई व्यावसायिक रूप दिएको लिम्बूको भनाइ छ । “बाँदरले जमिनमा गरिने सब खेतीमा समस्या पु¥याउन थाल्यो तर पोखरीमा गरिएको माछापालनलाई कुनै असर पु¥याउन सकेन । त्यसपछि माछापालनमा कुनै असर नगर्ने रहेछ भनेर सबै बारी मासेर व्यावसायिक रूपमै माछापालनमा लागियो,” लिम्बू भन्नुहुन्छ ।
बाँदर उपद्रोबाट वाक्क भएका सबै गाउँले माछापालनतर्फ आकर्षित भए । अहिले गाउँमा एक परिवारले वार्षिक ५० हजार रुपियाँदेखि तीन लाख रुपियाँसम्मको माछा बिक्री गर्दै आएको पालिकाका कृषि शाखा प्रमुख राजकुमार राई बताउनु हुन्छ । त्यहाँ उत्पादन हुने माछा बिक्रीका लागि बजारसमेत लानु पर्दैन, पोखरीबाटै बिक्री हुने गरेको छ । तराईबाट आयातित माछा प्रतिकिलो ३५० रुपियाँमा पाइने भए पनि यहाँको माछाप्रति किलो पाँच सय रुपियाँमा बिक्री हुँदै आएको छ ।
एक समय गाउँ बाँदरको उपद्रोले हैरान बनाएर विकल्प स्वरूप सुरु गरिएको यो स्थान अहिले जिल्लाकै सबैभन्दा बढी माछापालन हुने क्षेत्र भएको छ । छथर जोरपाटी गाउँपालिकामा अहिले करिब पाँच हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ तर पनि यो उत्पादन स्थानीय माग धान्नै पर्याप्त छैन । चिसो पानीमा उत्पादन भएका माछा स्वादिलो हुने भन्दै तराईबाट समेत माग आउने गरेको छ ।
सोही स्थानको माछापालन देखेर पालिकाले माछापालनका लागि उपयुक्त स्थानका कृषकलाई माछापालनमा आकर्षित गर्न विभिन्न कार्यक्रम अघि सारेको पालिकाका आर्थिक विकास समिति संयोजक दीपक गुरुङ बताउनुहुन्छ । माछापालन गर्न सकिने क्षेत्रका लागि अनुदानमा माछाका भुरा वितरण तथा पोखरी निर्माण जस्ता कार्यमा पालिकाले सहयोग गर्दै आएको गुरुङको भनाइ छ ।