• १ मंसिर २०८२, सोमबार

माटोबाट कमाउँदै पूर्वशिक्षक

blog

धान थन्क्याउँदै कृष्ण घिमिरे । तस्बिर : गोरखापत्र

रेसुङ्गा (गुल्मी), मङ्सिर १ गते । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ का ५३ वर्षीय कृष्ण घिमिरेले अवकाशप्राप्त जीवनपछि पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने देखाउनुभएको छ । उहाँले २१ वर्ष शिक्षण गरेपछि अवकाश लिएको एक दशक भयो । जागिर छाडेपछि कृषि र पशुपालनमा लाग्नुभएको घिमिरे अहिले वार्षिक १२ लाख रुपियाँ कमाउँदै आउनुभएको छ ।

२०५० सालमा मालिकाको च्यानडाँडा प्राविबाट शिक्षक सेवामा प्रवेश गर्नुभएका घिमिरे धुर्कोटको देविस्थान प्रावि हुँदै इस्माको सरस्वती निमाविबाट २०७१ सालमा स्वेच्छिक अवकाश लिनुभयो । अवकाश हुँदाको १८ हजार पारिश्रमिकमा कुनै आकर्षण थिएन । पेन्सन कम र गर्न सक्ने उमेर धेरै भएकाले अवकाश लिएको घिमिरेले बताउनुहुन्छ । उहाँले आफूले कक्षा ९ र १० मा ऐच्छिक विषय कृषि पढेका कारण पनि माटोमै धेरै आशा गरेर होमिएको बताउनुभयो ।

२०५८ सालमा धुर्कोटबाट चौरासीमा बसाइँ सरेर झर्नुभएका घिमिरेले राजमार्गछेउमा राम्रो उब्जनी गरिरहनुभएको छ । आफ्नो घरखेत गरेर छ रोपनी मात्रै जग्गा भएका घिमिरेले स्थानीय छ जनाको खेत भाडामा लिएर ८० रोपनीमा कृषि गरिरहनुभएको छ । जग्गाको भाडा वार्षिक दुई लाख ४० हजार रुपियाँ छ । घिमिरेले त्यही जग्गामा बर्सेनि ३०० मुरीभन्दा बढी धान उत्पादन गर्नुहुन्छ । धान प्रतिपाथी १३५, बिउ प्रतिकिलो ९५ र चामल प्रतिकिलो सरदरमा डेढ सयदेखि दुई सय रुपियाँमा बिक्री हुँदै आएको छ । उहाँले ६०/६५ रोपनीमा गहुँ लगाउँदै आउनुभएको छ । जसबाट वर्षमा ६० क्विन्टल बिउ प्रतिकिलो ८५ रुपियाँमा बिक्री हुँदै आएको छ । उहाँले मकैको पनि व्यावसायिक उत्पादन गर्दै आउनुभएको छ । मकै १५ रोपनीमा रोप्नुहुन्छ । मकै बिउ १० क्विन्टल उत्पादन हुन्छ ।

चौरासी फाँटमा बिस्तारै प्रविधिमैत्री कृषि उत्पादन सुरु भएको छ । खेत जोत्न ट्याक्टर र धान भित्र्याउन मेसिन प्रयोग भएको छ । उहाँका अनुसार रोप्न र गोडमेलमा मानव श्रम प्रयोग हुने भएकाले खर्च धेरै हुने गरेको छ । घिमिरेले कारोबार वर्षमा धेरै हुने भए पनि १२ देखि १५ लाख आम्दानी हुँदै आएको बताउनुभयो । ज्यालादारी मजदुरको सहायताले खेती गरिरहनुभएका घिमिरेले व्यावसायिक पशुपालनसमेत गर्नुभएको छ । तीन भैँसी र चार गाईबाट दैनिक ३५ लिटर दुध बिक्री हुँदै आएको छ ।

घिमिरेले छोरा अमृत घिमिरेलाई सिभिल इन्जिनियरिङ र अशोक घिमिरेलाई बिएससीएजी पढाउनुभएको छ । अशोकले बुबाको कृषिकर्ममा प्राविधिक सहयोग गर्न थालिसक्नुभएको छ । जेठा छोरा अच्युत घिमिरे भने अस्टे«लियामा रहनुभएको छ । घरमा वृद्ध बुबाआमा भए पनि घरायसी काममा सहजीकरण गरिरहनुभएको छ । कृषिकर्ममा श्रीमती कृष्णाकुमारी घिमिरेको साथ र सहयोग छ । घरनजिकै मदन भण्डारी राजमार्ग भएकाले उत्पादित कृषि उपज बजार पठाउन कुनै समस्या छैन । उहाँले भन्नुभयो, “२१ वर्ष नेपाल सरकारको काम गरेँ । अवकाशपछि परिवारको साथमा माटोमा समृद्धिका सम्भावना देखाइरहेको छु ।” समाजमा नेता तथा अगुवाले नै कृषिकर्म नगरेका कारण युवा पलायन भएकाले सरकारले बजार र प्राविधिक ज्ञानमा सहजीकरण मात्रै गरे पुग्ने उहाँ बताउनुहुन्छ ।

  

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।