• २२ कात्तिक २०८२, शनिबार

जेन अल्फा मनोविज्ञान र सिकाइ

blog

जेन अल्फा इसं २०१०–१२ देखि २०२४ सम्म जन्मेका १४ वर्षसम्मका बालबालिकालाई सम्बोधन गर्ने शब्द हो । यस समूहका बालबालिकालाई विद्यालय बालबालिका पनि भन्ने गरिन्छ । बामे सर्दै गरेकादेखि अहिले १० कक्षामा अध्ययन गरिरहेका बालबालिका यसै समूहमा पर्छन् । संसारकै इतिहासमा सर्वाधिक चासो र सरोकारको पुस्ताका रूपमा यस पुस्तालाई लिने गरिएको छ । एक्काइसौँ शताब्दीको नवपुस्ताका रूपमा हेरिने यस समूहका बालबालिकाको मनोविज्ञान, चिन्तन एवं सामाजिक दर्शन यसपूर्वका सबै पुस्ताभन्दा भिन्न रहेको छ । मूलतः जेन अल्फा डिजिटल पुस्ताका रूपमा रहेकाले यस समूहका बालबालिकाको सोचाइ र काम गराइ कम्प्युटरको जस्तै अर्थात् इम्पल्सिभ तत्काल नतिजामुखी हुने गरेको मनोवैज्ञानिकहरूले बताएका छन् । कस्तो काम गर्दा कुन नतिजा निस्कन्छ भन्ने कुराको तत्काल जानकारी खोज्ने यस पुस्तामा लामो समयसम्म एउटै विषयवस्तुमा केन्द्रित हुने वा अरूका कुरा ध्यान दिएर सुनिरहने धैर्यको अभाव पाइन्छ । 

सबै पुस्ताका बालबालिकामा किशोरावस्थामा आत्मकेन्द्रित प्रवृत्ति देखिने गरेकै हो तर यस समूहको पुस्तागत अन्तर निकै ठुलो भएकाले असामान्य जस्तो देखिने गरेको छ । साथीसङ्गातिलाई जोड दिने, अभिभावक र परम्परागत संस्कृतिलाई महत्व नदिने भएकाले सामाजिकीकरण र सामाजिक संस्कारको हस्तान्तरणमा किशोरावस्था उदासीन नै रहँदै आएको सन्दर्भमा वर्तमान पुस्ता यस पक्षमा अनिच्छुक छ । सामाजिकीकरणमा जेनजी जत्तिको समेत जेन अल्फा पुस्ता सक्रिय नदेखिनुको कारकका रूपमा अत्यधिक डिजिटल साक्षात्कार र कोभिड महामारीले सिर्जना गरेको दुरी हो भनिएको छ । कोभिडका समयमा सामाजिक भेटघाट र अन्तर्क्रियामा कमी मात्र आएन यसले संसारभरका बालबालिकालाई स्क्रिन र प्रविधिको अत्यन्त निकट बनायो । सामाजिक अन्तर्क्रिया गरेर र भौतिक रूपमा उपस्थित भएर गरिने खेलकुद र अन्य मनोरञ्जनात्मक क्रियाकलापसमेत भर्चुअल रूपमा गर्ने अभ्यास विकास भएकाले जेन अल्फा मोबाइल र प्रविधिलाई जीवनको अभिन्न अङ्ग मान्छ । 

मोबाइल, ल्यापटप र सामाजिक सञ्जालका कारण बालबालिकाको सिकाइमा नकारात्मक प्रभाव परेको छ भन्ने भाष्य अभिभावकमा रहेको वर्तमान अवस्थामा जेन अल्फा भने मोबाइलबिना कुनै पनि काम गर्न नसकिने मनोविज्ञानमा छन् । अभिभावक र जेन अल्फाका बिचमा विकसित भएको सङ्क्रमणकालीन अवस्थाले धेरै जसो परिवारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा द्वन्द्व सिर्जना गरेको देखिन्छ । जेन अल्फाको महत्वपूर्ण विशेषता ब्रान्डप्रतिको विश्वास पनि हो । सञ्चारका लागि सहज भएको खण्डमा जुनसुकै कम्पनीको मोबाइल प्रयोग गर्न तयार हुने अभिभावकका कलिला बच्चा निश्चित ब्रान्डका मोबाइल मात्र प्रयोग गर्नु पर्छ भनी दबाब दिन्छन् । त्यति मात्र होइन उनीहरूले खाने, लगाउने र हेर्ने कुरासमेत आधिकारिक ब्रान्डको हो वा होइन भन्ने कुरामा निकै चनाखो छन् । जबकि अभिभावक सस्तो, राम्रो र बलियो छ भने त्यसै वस्तुलाई जोड दिनु पर्छ भन्ने दृष्टिकोण राख्छन् । घरमा बनेको मिठो चिजभन्दा बाहिर वा ब्रान्डेड होटलमा नमिठै चिज पाउँदा पनि रमाउने पुस्ताका रूपमा जेन अल्फा रहेको छ । 

सामाजिक सञ्जाल र प्रविधि यस पुस्ताका लागि जीवनका अभिन्न पक्ष बनेका छन् । यिनै कुरा शिक्षण सिकाइ क्रियाकलापका लागि बाधक बनेको समेत देखिएको छ । एकातिर अभिभावक तथा शिक्षक मोबाइल र सामाजिक सञ्जालका कारणले बालबालिका बिग्रे भन्ने मानसिकता राख्छन् भने सिकारू अर्थात् बालबालिका मोबाइल र सामाजिक सञ्जाल नभए जीवनलाई नै अधुरो ठान्छन् । यस्तो विरोधाभासपूर्ण अवस्थामा उनीहरूमा सन्तुलित रूपमा सामाजिकीकरण र प्रविधि प्रयोग गर्न सक्ने कला सिकाउने पाठ्यक्रमको निर्माण अहिलेको चुनौती र मूलभूत आवश्यकता बनेको छ । 

एक्काइसौँ शताब्दीका सिकाइ सिपका रूपमा सञ्चार, सहकार्य र प्रविधिगत साक्षरतालाई आत्मसात् गरी वैश्विक जगत्ले जेन अल्फाका मनोविज्ञान र आवश्यकतालाई परम्परागत पाठ्यक्रमभित्रै समावेश गर्न खोजेको छ । यस पुस्तालाई सामाजिक सञ्जाल र प्रविधिबाट भिन्न राख्न सकिँदैन र हुँदैन पनि । उनीहरूलाई असामाजिक र व्यक्तित्व विकासमा बाधा पु¥याउने सञ्जालमा अभ्यस्त हुनबाट बचाई स्वस्थ व्यक्तित्व निर्माणका लागि प्रविधिको उपयुक्त र चयनात्मक प्रयोग गर्न सक्ने क्षमता विकास गराउनु आवश्यक छ । यसका लागि अभिभावक र शिक्षक पूर्वाग्रही नबनी समय र सन्दर्भ बुझी प्रविधिको रचनात्मक र सिर्जनात्मक कार्यमा प्रयोग गर्न जेन अल्फालाई उत्प्रेरित गर्न अग्रसर हुनु पर्छ । 

हाम्रो पाठ्यक्रम विद्यार्थी केन्द्रित भने पनि आफूले जुन किसिमले पढेर र सिकेर आइयो त्यसैलाई आदर्श ठान्दै आंशिक परिमार्जन र परिवर्तन गरेरै निर्माण गरिएको छ । शिक्षाका दर्शनशास्त्रीय र समाजशास्त्रीय आधारलाई टेक्दै विश्वमा विकसित भएका नवीन मूल्यमान्यता र प्रविधिलाई आत्मसात् गर्न खोजे पनि प्रविधिको विकास जस्तै नयाँ पुस्ताको मनोविज्ञानसमेत नितान्त फरक रूपमा विकास भएकाले पाठ्यक्रमले समाज र बालबालिकाको मनोविज्ञानलाई समेट्न सकेको छैन । 

प्रविधिबाट अभिन्न रहने बालबालिकालाई अहिले पनि कापी र किताबमा मात्रै केन्द्रित भएर सिकाइ गर्न सकिन्छ, मोबाइल, ल्यापटप तथा अन्य प्रविधि सिकाइका साधक नभएर बाधक हुन् भन्ने दृष्टिकोणबाट हेर्दा उनीहरूको समुचित विकासमा बाधा पुगेको छ । बालबालिका प्रविधिबाट नै अनुग्रहित भएको अवस्थामा प्रविधिबाट भिन्न रहेर निर्माण गरिएका पाठ्यक्रम र प्रविधिमैत्री नबनी गरिएका शिक्षण सिकाइ क्रियाकलापले बालबालिकामा सकारात्मक प्रभाव पार्न सक्दैन । यसैले त कापी किताबमा सीमित पठनपाठन क्रियाकलापलाई जेन अल्फा पुस्ताले अनावश्यक बोझ मान्ने गरेको छ । यस पुस्ताले लामो समयसम्म धैर्य गर्न नसक्ने तथा लामा कथा र कहानी सुन्न नचाहने भएकाले एक दुई मिनेटका भिडियो क्लिप निर्माण गरी त्यसैमा केन्द्रित भई छलफल अन्तव्रिर्mया गर्न लगाउने हो भने रमाइलो किसिमले सिक्न सक्छ । सामाजिक विषयका प्रथा परम्पराका कुरा वा विज्ञानका कार्यकारणसित सम्बन्धित क्रियाकलाप किन नहोऊन्, हरेकमा वास्तविक जीवनका ससाना घटनालाई एक दुई मिनेटमा समेटेर भिडियो निर्माण गर्ने र स्मार्टबोर्ड वा मोबाइलकै माध्यमबाट भए पनि कक्षा कोठामा प्रदर्शन गरी छलफल र अन्तक्रिया अघि बढाउने हो भने वर्तमान संरचनाभित्रै रहेर पनि हाम्रा कक्षा कोठालाई जीवन्त बनाउन सकिन्छ । 

कक्षामा बसिरहेको विद्यार्थी कतिखेर घर पुगौँ र मोबाइल, ल्यापटपमा रमाऔँ भन्ने कुरामा मग्न भयो भने कक्षा कोठामा बसेर बिताएको समय वास्तवमै झन्झट लाग्दो र अरुचिकर हुन्छ नै । कक्षा कोठामा ध्यान नदिने, पठनपाठन क्रियाकलापमा सक्रियता नदेखाउने, प्रविधिप्रति हुरूक्क हुने अल्छी पुस्ताका रूपमा जेन अल्फालाई दोषी देखाउने होइन, उनीहरूको मनोविज्ञान बुझेर परम्परागत पाठ्यक्रममा तत्काल परिवर्तन ल्याउनु आवश्यक छ । यस पुस्ताले सुनेर र देखेर होइन गरेरै सिक्छ । कक्षा कोठामा शिक्षकले विद्यार्थीलाई नयाँ कुरा पस्कन्छु र उनीहरूको ध्यान आकर्षण गर्छु भन्ने ठान्यो भने ऊ स्वयम् हतोत्साहित बन्छ । 

कक्षा कोठा नयाँ कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने ठाउँ नभएर नयाँ पुस्ताले भेटेका नयाँ नयाँ कुराको अन्तर्क्रिया गर्ने स्थल बन्नु पर्छ । यसका लागि पूर्ण विद्यार्थी केन्द्रित शिक्षण विधि, विद्यार्थीमैत्री पाठ्यक्रम र त्यसै अनुरूपका भौतिक संरचनाको निर्माण गरिनु पर्छ । शैक्षिक जनशक्ति विकास केन्द्रले सिकाइ चौतारीका माध्यमबाट पाठ्यपुस्तकमा रहेका विषयगत सामग्री र सन्दर्भ सामग्रीहरूको समेत विकास गरेको देखिन्छ । पछिल्लो समय जेन अल्फालाई केन्द्रित गरी एक दुई मिनेटका भिडियो क्लिप विकास गर्ने कामसमेत सुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र र हरेक पालिकामा रहेका शिक्षा शाखाले जेन अल्फाको मनोविज्ञान र सिकाइ प्रक्रियाका बारेमा शिक्षकलाई आवश्यक सामग्री र तालिमको व्यवस्था गर्नु अपरिहार्य छ । शिक्षक स्वयम् प्रविधिमैत्री बनेर बालबालिकाको सिकाइमा प्रविधिलाई माध्यम बनाई अग्रसर हुन सके मात्र वास्तविक सिकाइ हुने भएकाले शिक्षक स्वयम् नयाँ कुरा सिक्न तयार हुनु पर्छ । 

जेन अल्फा विश्वव्यापी रूपमा फरक मनोविज्ञानसहित हुर्केकाले उनीहरूमा देखा परेका स्थापित मूल्यप्रतिको विद्रोह, सामाजिक, सांस्कृतिक विषयप्रतिको उदासीनता, पाठ्यपुस्तक र कापीमा गरिने काममा अरुचि, कक्षा कोठामा हुने क्रियाकलापमा निष्क्रियता एवं अनुशासन उल्लङ्घन गर्न देखाउने अग्रसरतालाई समस्या नमानी जेन अल्फा पुस्ताले व्यवहारमा देखाएका यी कुरालाई पुस्तागत विशेषता स्विकारेर सिर्जनशील र रचनात्मक काममा रूपान्तरण गर्नका लागि प्रविधिलाई हरेक विषय र सिकाइ क्रियाकलापको माध्यम बनाउनु पर्छ । प्रविधिलाई छुट्टै विषय नबनाई हरेक विषयलाई प्रविधिमै ढालेर प्रस्तुत गर्न सकियो भने मात्र पाठ्यक्रम र सिकाइ क्रियाकलाप विद्यार्थीमैत्री बन्न सक्छ, अन्यथा पाठ्यक्रम नै नयाँ पुस्ताको सिकाइको बाधक र बोझ बनिरहने छ ।