• २१ कात्तिक २०८२, शुक्रबार

बजारसँग जोड्ने प्राविधिक शिक्षा

blog

देशको आर्थिक तथा सामाजिक विकासका लागि प्राविधिक जनशक्तिको ठुलो भूमिका हुन्छ । आजको युगलाई नै प्रविधिको युग भनेर चित्रित गरिएको छ । यसले पनि प्राविधिक शिक्षाको महत्व र आवश्यकतालाई पुष्टि गरेको छ  ।  आजका युवा जनशक्तिलाई सिप सिकाएर उत्पादन तथा रोजगारीमा सहभागिता गराउने कार्य प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको हुन्छ । यसै अनुसार आधारभूत तहदेखि उच्च तहसम्मका प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था स्थापना भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले छोटा र लामो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रमलाई सञ्चालन, व्यवस्थापन, नियमन, गुणस्तर कायम र यसको प्रवर्धनका निम्ति सहजीकरण गर्दै आएको छ । परिषद्ले श्रम बजारको माग अनुसार आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै उत्पादित जनशक्तिलाई बजारसँग जोड्ने काम गरिरहेको छ । हालसम्म परिषद्ले श्रम बजारको माग अनुसारका जनशक्ति उत्पादन गर्न पाठ्यक्रम तयार, प्रशिक्षकको क्षमता विकास, उद्योग, व्यवसाय र रोजगारदातासँगको समन्वय र सहकार्यमा प्राविधिक शिक्षाको गुणत्मकता वृद्धिका लागि निरन्तर काम गर्दै आएको छ । 

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा राज्यको उच्च प्राथमिकताका बाबजुद यस क्षेत्रमा अध्ययनका लागि विद्यार्थीको आकर्षण खासै बढ्न सकेको छैन । तथ्याङ्कहरूलाई अध्ययन गर्दा प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताको तुलनामा विद्यार्थी भर्नादर २५ प्रतिशत हाराहारीमा मात्र छ । एकातिर प्राविधिक जनशक्तिको माग बढेर जानु अनि अर्कातिर प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निरन्तर ओरालो लागिरहनु कहीँ न कतै केहीँ त्रुटि रहेको दृष्टान्ट हो । एकातर्फ सरकारले हरेक पालिकामा प्राविधिक शिक्षालयको संस्थागत पहुँच पु¥याउने र १६ औँ आवधिक योजनाको अन्त्यसम्ममा प्राविधिक शिक्षाको पहुँच ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ भने अर्कोतर्फ हाल उपलब्ध सिट सङ्ख्यामा समेत विद्यार्थी भर्नाको कोटा पूरा नभएको अवस्था छ । यसले सरकार राखेको लक्ष्य पूरा नहुने मात्रै होइन हाल गरिरहेको लगानीको पनि प्रतिफल पूरा नहुने देखिन्छ । 

यसो हुनुका कारणमा केही हाम्रा नीतिगत तथा संस्थागत समस्या छन् । जसमा सङ्घीय तहमा सञ्चालन हुँदै आएको सिटिइभिटीको पुनर्संरचना गरी प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै प्राविधिक जनशक्ति तयार गर्न हातेमालो गर्न सकिएको छैन । सङ्घीय तहमा समेत धेरै मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रदेश र पालिकाले समेत आआफ्नो ढङ्गबाट संरचना स्थापना गर्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसो गर्दा एकातर्फ कार्यक्रममा र स्रोतको समेत दोहोरोपना भइरहेको छ भने अर्कातर्फ विद्यार्थी, अभिभावकलाई कुन शैक्षिक संस्थाले प्रदान गर्ने प्रमाणपत्रको मान्यता र अध्ययनपश्चात्को रोजगारीमा अवसरमा सहज हुन्छ भन्ने यकिन गर्न कठिन छ । 

प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा कार्यस्थलको सिकाइलाई अनिवार्य गर्न सकिएको छैन । उद्योगी, व्यवसायी र रोजगारदातालाई प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमसँग जोड्न सकिएको छैन । उद्योगी व्यावसायी र रोजगारदाताको माग अनुसारका क्षेत्र र तहमा आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सकिएको छैन । बजार मागको अध्ययनपश्चात् उद्यमी बन्न आवश्यक सिपसहित उद्यमी संस्कार सिकाउन सकिएको छैन । यसका कारणमा कार्यक्रम सञ्चालनका लागि तोकिएका न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधारको व्यवस्था नहुनु, पाठ्यक्रमलाई समयसापेक्ष सुधार हुन नसक्नु, शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन नसक्नु, मूल्याङ्कन प्रणालीमा प्रयोगात्मक परीक्षामा जोड गर्न नसक्नुका साथै नियमित अनुगमन नहुनु रहेका छन् । 

प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको रोजाइ कम हुनुका अनेकौँ कारणमध्ये एक महत्वपूर्ण कारण शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि एक हो । तोकिएको समयभित्र विद्यार्थी भर्ना, समयमा पठनपाठन सम्पन्न, समयमा परीक्षा र समयमै नतिजा प्रकाशन गर्न नसक्नु प्राविधिक तथा व्यावसायिक शिक्षामा देखिएका समस्या हुन् । 

शैक्षिक क्यालेन्डर के हो र किन ? 

शिक्षालयले सञ्चालन गर्ने शैक्षिक क्रियाकलापलाई तोकिएको समयभित्र प्रभावकारी ढङ्गबाट सम्पादन गर्न तयार गरिएको समय तालिका नै शैक्षिक क्यालेन्डर हो । यसमा विद्यार्थी भर्नाको समय सीमा, नियमित पठनपाठन, परीक्षा तथा मूल्याङ्कन, नतिजा प्रकाशन र शैक्षिक योग्यताका प्रमाणको वितरणसमेत उल्लेख गरिएको हुन्छ । परीक्षा नियन्त्रण कार्यालयबाट तयार गरिएको शैक्षिक क्यालेन्डरका आधारमा सम्बन्धित शिक्षण संस्थाले शिक्षालयस्तरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापसहितको योजना तयार गर्नुपर्ने हुन्छ । यस्ता शैक्षिक योजनामा नियमित पठनपाठन, बिदा, विद्यार्थीलाई प्रयोगात्मक अम्यास, फिल्ड भिजिट, सामुदायिक स्वास्थ्य कार्यक्रम, आन्तरिक मूल्याङ्कन, सेमेस्टर तथा वार्षिक परीक्षा आदि उल्लेख गरिएको हुन्छ ।

पाठ्यक्रममा उल्लेख भए अनुसार कार्यगत तालिम र इन्टर्नसिपका क्रियाकलापसमेत शैक्षिक क्यालेन्डरमा समावेश हुनु पर्छ । यसका साथै शिक्षालयबाट सम्पादन गरिने अतिरिक्त क्रियाकलापमा खेलकुद सप्ताह, प्रशिक्षार्थी भर्ना अभियान, समुदायसँग प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम, सरोकारवालासँगको अन्तरसंवाद कार्यक्रमको समेत समय तालिका तय गरी शैक्षिक क्यालेन्डरमा राखिनु पर्छ । यस्ता शैक्षिक योजनाले शिक्षण संस्थामा सञ्चालन हुने सबै शैक्षिक क्रियाकलाप समयमै सञ्चालन गर्न सहज बनाउँछ । यसबाट विद्यार्थी र शिक्षक दुवैमा समयपालन र अनुशासनको भावना विकास हुन्छ । जसले गर्दा शिक्षालयको समुदाय, उद्योग व्यवसायी र रोजगारदाता र अन्य सरोकारवालासँगको अन्तरसम्बन्ध थप विकास हुन्छ । 

समयमा नै विद्यार्थी भर्ना, परीक्षा र नतिजा प्रकाशन भन्ने मूल उद्देश्यका साथ परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट भर्ना क्यालेन्डरसमेत समावेश गरेर भर्ना निर्देशिका तयार गरेको हुन्छ । शिक्षालयले पाठ्यक्रममा तोकिएको सिप र ज्ञान सिकाउने, समयमा नै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी प्रमाणपत्र वितरणसम्मका कामलाई सुनिश्चितता गर्न भर्ना निर्देशिका जारी गरेको पाइन्छ । निर्देशिकामा भर्नालाई पारदर्शी र सबैको पहुँचलाई सुनिश्चितता हुने गरी अनलाइन आवेदन फाराम भर्ने व्यवस्था पनि गरिएको छ । विगतका वर्षमा विभिन्न कार्यक्रम अनुसार पटक पटक लिइँदै आएको प्रवेश परीक्षा विद्यार्थी छनोटलाई एकै पटक गरिएको छ । सबै भर्ना प्रक्रिया एकै पटक हुँदा विद्यार्थीलाई भर्ना कार्यक्रममा सहभागी हुन सहजसमेत भएको छ । क्यालेन्डरमा समावेश भएका सबै विषय लागु गर्न सकिएको छैन । जबसम्म क्यालेन्डर लागु गर्न सकिँदैन, तबसम्म प्राविधिक शिक्षाको दुरावस्था कायमै रहन्छ । 

देशको समृद्धि र विकासका क्षेत्रको पहिचान गरी त्यसका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्नु सिटिइभिटीको दायित्व हो । यस कार्यका लागि सरकारले उच्च प्राथमिकता दिँदै आएको छ । यद्यपि अपेक्षा गरे अनुसार विद्यार्थीलाई प्राविधिक शिक्षामा आकर्षण गर्न सकिएको छैन । यसका विभिन्न कारणमध्ये समयमै भर्ना प्रक्रिया समाप्त नहुनु, समयमा नै पढाइ सुरु नहुनु र तोकिएका कोर्स समाप्त नहुनु, समयमै परीक्षा लिने र नतिजा प्रकाशन गर्ने प्रक्रिया र प्रमाणपत्र वितरणसम्मका कामलाई व्यवस्थित गर्न नसक्नु प्रमुख हो । 

देखिएका समस्या निरूपण गर्दै सिटिइभिटीले सरोकारवालाको सहभागितामा आगामी शैक्षिक सत्रका लागि तयार गरेको प्रशिक्षार्थी भर्नामा निर्देशिका शैक्षिक क्यालेन्डरको व्यवस्था गरी पूर्णरूपमा कार्यान्वयन गर्ने पहलकदमी लिनु पर्छ । जसका कारण विद्यार्थी र अभिभावकलाई तोकिएको समयमा अध्ययन पूरा हुने विश्वास मिल्ने छ । सरोकारवाला शिक्षण संस्था, कर्मचारी, प्रशिक्षक र व्यवस्थापनलाई तोकिएको समयमा आफूहरूले सम्पादन गर्नुपर्ने कामप्रति उत्तरदायी बनाउँछ । सिटिइभिटीले समयानुकूल परिवर्तनको अहिलेको गतिलाई अझै बढाएर लैजानुपर्ने देखिन्छ ।