• २१ कात्तिक २०८२, शुक्रबार

सेलिबाङ दह जाने पर्यटक वृद्धि

blog

सेलिबाङ दलमा घुम्दै र अवलोकन गर्दै गरेका आन्तरिक पर्यटकहरु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, कात्तिक २१ गते ।
नाँम्खा गाउँपालिका– ६ को पर्यटकीय क्षेत्रका रुपमा रहेको सेलिवाङ दह जाने पर्यटकको सङ्ख्यामा निक्कै वृद्धि भएको छ । लिमी लाप्चा जाने मुख्य सडक मै पर्ने भएको कारण सो क्षेत्र जाने पर्यटकहरु गाडी रोकेर सेलिवाङ दह हेर्ने र घुम्ने क्रम वर्षेनी वृद्धि हुँदै गएको हो ।

मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने क्रममा सेलिबाङ दह घुम्न निस्कनुभएकी छपाल लामाले निक्कै रमणीय र दृश्यावलोकन गर्न योग्य क्षेत्रका रुपमा सेलिबाङ दह रहेको बताउनुभयो । आफ्नो समूह जस्तै लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने जो कोही पनि दह घुम्न निस्कने गरेका छन् । अझ उहाँले दसैँ तिहार बिदामा बढि आन्तरिक तथा बाह्य पर्यटकहरुले सो दह अवलोकन गर्न पुगेको बताउँदै अब हिउँ नपरुन्जेल पर्यटकहरु गइरहने जानकारी दिनुभयो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने प्रत्येक पर्यटकले दह हेर्नुका साथै सेलिबाङ दहसम्म मात्र घुम्न जाने पर्यटकहरु पनि रहेको बताउनुभयो । उक्त दहको छेउसम्म सडक पुगेका कारण पनि दह घुम्ने पर्यटकहरु बढी रहेको उहाँले बताउनुभयो ।

यसवर्ष जेठ महिनायता सेलिबाङ दह घुम्नेको सङ्ख्या एक हजार ७५३ जना पुगेको बताउँदै यसको प्रचार प्रसार गर्न सके अझै पर्यटक बढ्ने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो। गत वर्ष एक हजार २१६ जनाले दहको अवलोकन गर्नुभएको थियो ।

उक्त दह चार हजार पाँच सय मिटर उचाइ छ । सल्लीबाट न्यालु लेकसम्मको सडकको स्तरोन्नती गर्नुपर्ने सो क्षेत्र जाने पर्यटकहरुको माग रहँदै आएको छ । सेलिबाङ दह एक पर्यटकीय क्षेत्रका रुपमा छ । त्यहाँ जाँदा खानेकुरा भने सबै बोकेर जानुपर्ने हुन्छ ।