काठमाडौँ, कात्तिक २० गते । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ ।
लुम्बिनीले मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एन्पिएल) को दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ। उहाँले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसक्नुभएको छ ।
यस्तै रोबिन सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसक्नुभएको छ । खेलाडी जीवनबाट संन्यास लिएपछि सिंह सुरूमा भारतको यू–१९ टिमको प्रशिक्षक बन्नुभएको थियो ।
सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेल्नुभएको थियो । त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गर्नुभयो ।
उहाँ सन् २००८ मा सुरू भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक हुनुहुन्थ्यो । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहनुभयो । रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बन्नुभयो ।
उहाँकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो । लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल हुनहुन्छ ।
लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गर्ने जनाएको छ ।