सिराज खान
नेपालगन्ज, कात्तिक २० गते। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने कार्य भइरहेको छ।
बाँके जिल्लामा मतदाता नामावली दर्ता गर्ने कार्यमा नयाँ मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। जिल्लामा चार हजार भन्दा बढी मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइसक्नु भएको छ।
निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाहीले जेनजी आन्दोलनपछि गत असोज ६ गतेबाट सुरु गरिएको मतदाता नामावली संकलन गर्ने क्रममा हालसम्म बाँकेमा चार हजार १९३ नयाँ मतदाता थपिएको बताउनुभयो।
उहाँका अनुसार नयाँ थपिएका मतदाता मध्ये दुई हजार ७६ पुरुष र दुई हजार ११७ महिला मतदाता रहेका छन्। फोटोसहितको मतदाता परिचयपत्र बनाउनका लागि निर्वाचन कार्यालयमा नयाँ मतदाता पुग्ने गरेको निर्वाचन अधिकारी शाहीले बताउनुभयो। उहाँका अनुसार नाम दर्ता गराउनेमा ६० प्रतिशत युवा पुस्ता छन्।
मतदाता नामावली अद्यावधिका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन कार्यालयले बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जनाएको छ। तीे मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला तथा नौ जना अन्य मतदाता छन्।