काभ्रेपलाञ्चोक, कात्तिक १९ गते । मण्डनदेउपुर नगरपालिका-६, कोदारी भिरमा आज बिहान टिप्पर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा. ५ ख. ४०७२ नम्बरको टिप्पर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मण्डनदेउपुर-७, झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा टिप्परका सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन् ।
घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान गरिरहेको छ । रासस