• १९ कात्तिक २०८२, बुधबार

थालियो आठौं बागलुङ महोत्सवको तयारी

blog

बागलुङ महोत्सव हुने स्थल बाङ्गेचौर खेल मैदान । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक १९ गते । उद्योग वाणिज्य सङ्घ बागलुङको आयोजना हुने आठौं बागलुङ महोत्सव बाङ्गेचौर खेल मैदानमा गर्नेगरी तयारी थालिएको छ । 

यसअघि महोत्सव धौलागिरि बहुमुखी क्याम्पसको प्राङगणमा हुँदैआएको भए पनि लामो समयको छलफलबाट निष्कर्ष ननिस्किएपछि र अदालती प्रक्रियाका कारण बागलुङ नगरपालिका –१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा महोत्सव गर्नेगरी थालिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । 

संघले ‘‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’’ भन्ने नाराका साथ आगामी पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुनेगरी गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव गर्दैछ ।

एकसय ५० देखि २ सयसम्म व्यापारिक स्टल राख्ने र करिब ८ लाख अनुमानित दर्शक भित्र्याउनेगरी आयोजना गर्न लागिएको महोत्सवको आकर्षणको रुपमा खुल्ला राष्ट्रिय दोहोरी गीत, खुल्ला प्रदेशस्तरीय महिला तथा पुरुष भलिवल, राष्ट्रिय कलकारको प्रस्तुति, पञ्चेबाट, वक्तृत्वकला, साहसिक पर्यटकीय खेलहरुको प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान रमाइलो मेला रहेको महासविच इन्द्रमणि पौडेल ‘अर्जुन’ ले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशका पर्यटकीय स्थल एवम् गतिविधिहरुको प्रचार–प्रसार गर्ने, धार्मिक स्थल एवम् लोक सांस्कृतिक गतिविधिको प्रचारप्रसार एवम् जगेर्ना गर्ने, स्थानीय खेलाडीहरुको व्यक्तिगत र समाजिक अनुशासन स्थापित गराउँदै उनीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने लगायत महोत्सवको मुख्य उद्देश्य रहेको अर्जुनले बताउनुभयो ।