चित्रकुमार मिजार
सिन्धुपाल्चोक, कात्तिक १९ गते । तातोपानी नाकाबाट पर्याप्त मालवस्तु बोकेका कन्टेनर छोड्न र रसुवा नाकाको मितेरी पुल छिटो निर्माण गर्न नेपाल हिमालय सीमापार वाणिज्य सङ्घ चिनियाँ राजदूतावासको इकोनोमिक एण्ड कमर्सियल काउन्सिलमा डेलिगेसन गएको छ ।
सङ्घका अध्यक्ष रामहरि कार्की नेतृत्वको टिमले काउन्सिल कार्यालयका द्वितीय सचिवलाई लिखित र मौखिक रुपमा तातोपानी नाका र रसुवा नाकाका समस्या राखेको थियाृ । तिब्बतको न्यालम, खासा र विभिन्न भागमा मालबस्तु बोकेको कन्टेनरहरु अलपत्र परेको, रसुवा नाकामा पुल निर्मार्णमा ढिलाइ हुँदा व्यापारिक गतिविधि ठप्प भएको लगायतका समस्याबारे काउन्सिलमा लिखित मौखिक जानकारी गराएको सङ्घका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
नेपाली व्यापारी व्यवसायीले खरिद गरेका सामान तिब्बतको न्यालम प्रशासनले आयातमा कडाइ गरेकाले त्यसमा सहजीकरण गरिदिन, रसुवा नाकाको मितेरी पुल छिटो निर्माण पूरा गर्नका लागि काउन्सिलको ध्यानाकर्षण गरिएको कार्कीले बताउनुभयो । न्यालम प्रशासनले तातोपानी नाकाबाट दैनिक रुपमा ६० वटाभन्दा बढी कन्टेनर छाड्न पर्ने बारे सङ्घका पदाधिकारीले काउन्सिललाई सुझाएका थिए ।
न्यालम प्रशासनले कडाइ गरेपछि दसैं तिहार लगायत चाडपर्वका सामानहरु तातोपानी नाका ल्याउन नसकिएकोले अहिले कन्टेनर सङ्ख्या आयात बढाउन भूमिका निर्वाह गर्न काउन्सिललाई सङ्घले आग्रह गरेको छ । असार २४ गते रसुवास्थित केरुङ नाकाको मितेरी पुल बाढीले बगाएपछि नेपाल–चीनबीचको स्थलमार्गबाट हुने व्यापार र आउजाउ पूर्ण रुपमा बन्द भएको अहिले चार महिना बितेको छ । काउन्सिलका अधिकारीले तातोपानी नाका र केरुङ नाकाको पछिल्लो अवस्था, व्यापार र समस्याका विषयमा सम्बन्धित निकायमा बुझ्ने प्रतिक्रिया पाएको अध्यक्ष कार्कीले बताउनुभयो ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि चीनले सीमा क्षेत्र खासामा पुनर्निर्माण भइरहेकोले पर्याप्त मात्रमा कन्टेनर छाड्न आलटाल गरिरहेको बताइएको छ । अहिले दैनिक २० वटासम्म कन्टेनर छाड्दै आएको छ । पहिले दैनिक ६० वटा भन्दा बढी मालवस्तु बोकेका कन्टेनर छाड्ने गरेको थियो । सङ्घका वरिष्ठ उपाध्यक्ष गङ्गाबहादुर घिमिरे(सागर), भरत कार्की, महासचिव रामचन्द्र पराजुली, सचिव आङदोर्जे शेर्पा, प्रमुख कार्यकारी अधिकृत हिमाल थापा लगायतका पदाधिकारीहरुले काउन्सिललाई दुर्व नाकामा सहज व्यापार व्यवसाय सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।
नेपाल–चीनको द्विपक्षीय व्यापारिक कारोबारमा गहिरो सम्बन्ध रहेको र तातोपानी नाका, केरुङ नाका चार महिनासम्म बन्द हुँदा व्यापारी व्यवसायी ठूलो मारमा परेको बारे सचिव शेर्पाले काउन्सिलमा समस्या राख्नुभएको थियो । तत्काल रसुवाको मितेरी पुल तयार गरेर व्यापार व्यवसाय सुचारु गराउन र तातोपानी नाकाबाट साविक झै मालवस्तु बोकेका कन्टेनर छाड्नका लागि सहजीकरण गरिदिन काउन्सिलसँग सचिव शेर्पाले आग्रह गरेका थिए । दुवै नाकाबाट भइरहेको समस्याले व्यापारी व्यवसायी निराश भएको, समयमा नै सामान आयात नहुँदा व्यापारीलाई लाखौं लागत थपिएकोले त्यसको निराकरणका लागि काउन्सिल लागिदिन उहाँले आग्रह गर्नुभएको थियो ।
रसुवाको मितेरी पुल बाढीले बगाएपछि चार महिनादेखि उक्त नाका पूर्णरुपमा ठप्प छ । त्यहाँ व्यापार गर्दै आएको व्यापारीहरु तातोपानी नाकाबाट व्यापार गर्न आएका थिए । तर साउनमा बाह्रबिसे–कोदारी लोकमार्ग अन्तर्गत इको पहिरोले कोदारी सडकखण्ड पूर्ण रुपमा बन्द भएको थियो । त्यसकारण व्यापारीले न्यालमबाट तातोपानी नाका हुँदै राजधानी ल्याउन लागेका मालवस्तु न्यालम, खासा लगायतका क्षेत्रमा रोकिएका थिए । दसैं अघिबाट खुलेको कोदारी सडकखण्ड अहिले सञ्चालन भइरहे पनि न्यालम प्रशासनले रोकिएका सामान पठाउन कडाइ गरे पनि व्यापारी व्यवसायी थप मर्कामा परेको सचिव शेर्पाको भनाइ छ ।
नेपालीले खरीद गरेका मालवस्तु महिनौंदेखि चिनियाँ भूभागका गोदाममा राखिएको छ । त्यहाँ महँगो भाडा तिरेर व्यावारी व्यवसायीले सामान गोदाम गरेका छन् । तातोपानी नाकाबाट ४४ किलोमिटर टाढा न्यालममा हजार सङ्ख्यामा कन्टेनर रोकिएका छन् । तातोपानी नाका भूकम्प, कोरोना महामारी, बाढीपहिरो, लगायतका समस्याबाट पटक–पटक अवरुद्ध हुँदै आएको थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै उक्त नाका बन्द भएपछि सरकारले लक्ष्य राखेको २४ अर्ब पैसा सङ्कलन हुन समस्या देखिन्छ । तातोपानी नाका, रसुवास्थित केरुङ नाकाबाट तयारी कपडा, रोल कपडा, जुत्ताचप्पल, ब्याग, कृषि औजार, इलेक्ट्रिक गाडी, खेलौना, कस्मेटिक सामान, स्टेशनरीका सामान, स्याउ, लसुन, तोरी फापरलगायतका सामान चीनबाट आयात हुँदै आएको छ।