हुम्ला समाचारदाता
हुम्ला, कात्तिक १९ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डको सडक निकै साँघुरो हुँदा यातायातका साधनलाई सास्ती हुने गरेको छ । कोरिडोरको हुम्ला खण्डको ताँजाकोट गाउँपालिकाको कबाडीदेखि सिमकोट गाउँपालिकाको स्याम्नेसम्मको सडक निकै साँघुरो छ । जसले गर्दा सानाठूला यातायातका साधनलाई दुईतर्फी आउजाउमा समस्या हुने गरेको हो ।
ताँजाकोट गाउँपालिकाबाट सिमकोटतर्फ आउँदै गरेका बोलेरो जिपचालक विशाल बुढा क्षेत्रीले कबाडीबाट सिमकोट आउने क्रममा सडक साँघुरो भएका कारण ५० भन्दा बढी स्थानमा गाडी पछाडि फर्काएर अर्को गाडीलाई बाटो दिनुपर्ने अवस्था रहेको बताउनुभयो । पाँचदेखि छ मिटर चौडा सडकमा गाडी गुडाउनु परेपछि उक्त क्षेत्रको सडकमा गाडी गुडाउँदा थप समस्या भोग्ने गरेको उहाँले जनाउनुभयो । झन् चट्टानी भिरको क्षेत्रमा त गाडी पछाडि ब्याक गर्न पनि कठिन हुने र त्यस्तो बेला यात्रुलाई झार्नुपर्ने उहाँको भनाइ छ ।
टिप्परचालक रामबहादुर केसीले दुई वटा टिप्पर दुईतिरबाट आउने समयमा त झनै समस्या हुने गरेको बताउनुभयो । यस्तो बेला दुई वटा टिप्पर क्रस हुन डेढ घण्टासम्म समय लाग्ने गरेको बताउँदै ट्र्याक खुलाएको सडक भएका कारण यो समस्या भोग्नु परिरहेको चालक केसीको भनाइ छ । आठ र १० चक्के जस्ता मालवाहक सवारीसाधन आएको समयमा त साना गाडीलाई थप समस्या हुने गरेको छ । साँघुरा र त्यसमाथि धुलाम्मे सडकका कारण यात्रुको यात्रा पनि कठिन हुने गरेको यात्रु सुरेश परियारले बताउनुभयो । अब कोरिडोरको हुम्ला खण्डको सडक जति सक्दो चाँडो स्तरोन्नति र कालोपत्रे गर्न उहाँले आग्रह गर्नुभयो ।
कर्णाली कोरिडोरको कबाडीदेखि सिमकोटसम्मको सडकमा यातायातका साधनलाई दुईतर्फ आउजाउमा समस्या भएको स्वीकार गर्दै हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले सडकको स्तरोन्नति नभएका कारण समस्या भएको बताउनुभयो । कबाडीदेखि सिमकोटसम्म ८९ किलो मिटर सडकको ट्र्याक खुलाउने कार्य भएको र त्यसमध्ये कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडकको स्तरोन्नति, नाला निर्माण र सडक कालोपत्रेका लागि टेन्डर खुलेर ठेक्कासमेत लागिसकेको छ । अब सलीसल्लादेखि सिमकोट ५० किलोमिटर सडकको स्तरोन्नति, नाला निर्माण र कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ठेक्का खोल्ने तयारी भइरहेको छ ।