• १९ कात्तिक २०८२, बुधबार

गर्भपतन गराउने किशोरीको संख्या बढ्दो

blog

कार्यक्रममा प्रस्तुतीकरण गर्नुहुँदै जनस्वास्थ्य अधिकृत समिता घिमिरे । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा 

बागलुङ, कात्तिक १९ गते । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको वार्षिक कार्यक्रमको समीक्षा तथा चालु आर्थिक वर्षको खर्च सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । 

विशेषगरी स्वास्थ्य कार्यालयले खोपको सुरक्षा, वितरण र भण्डारण, सुरक्षित मातृत्व, एम्बुलेन्स सेवा, सबै पालिकाको स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य चौकीका प्रमुखसहित सबैलाई तालिम दिने काम गर्छ । त्यस बाहेक मातृशिशु स्वास्थ्य, गर्भपतन सेवा, औषधीको उपलब्धता लगायतको अनुगमन पनि गर्ने गरेको छ । 

नियमित तालिममार्फत हरेक नयाँ कार्यक्रम लागू हुने भएकोले हरेक काम मानव स्वास्थ्यसँग जोडिएको जनस्वास्थ्य अधिकृत समिता घिमिरेले बताउनुभयो । उहाँले बागलुङको वर्तमान स्वास्थ्यको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

बाल भिटा अनुगमन, आइरन चक्की र कुपोषणको अवस्था सुधारमा कार्यालयले गरेको काम र सफलतासहित एकीकृत बालरोग व्यवस्थापन, घरभित्रको प्रदुषण नियन्त्रणका लागि स्वास्थ्य शिक्षा, झाडापखाला नियन्त्रण, स्वच्छ पानीको व्यवस्थापन लगायतमा पनि जनस्वास्थ्य कार्यालय काम गर्दै आएको घिमिरेले जानकारी गराउनुभयो । 

पछिल्लो समय गर्भपतन बढेको र त्यो पनि किशोरी उमेरमा बढेकोले त्यसको प्रभावबारे अध्ययन गर्न जरुरी भएको पनि उहाँको भनाई थियो ।

बालमैत्री अभियानलाई अवस्था चुनौतीको भएकोले त्यसबारे गम्भिर छलफल गर्नुपर्नेमा उहाँको जोड थियो । समीक्षामा दशवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले पालिकाको वार्षिक उपलब्धि सुनाउँदै चालु आर्थिक वर्षको कार्ययोजनाबारे पनि जानकारी गराउनु भयो । 

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावस्यक सेवामा बजेट कम नहुने बताउनुभयो । उहाँले औषधी उपचार, स्वास्थ्य उपकरणको विषयमा भने कटौती नगर्ने विश्वास दिलाउनुभयो । 

पाठकले अत्यावश्यक सेवा सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । ‘‘स्वास्थ्य सेवाबारे नागरिकले जानकारी पाउनुपर्छ’’ उहाँले भन्नुभयो, ‘‘सरकारले जनताको हितमा काम गर्न बजेट अभाव हुन दिँदैन ।’’ देशको समस्याको बावजुत जनताको काममा राज्यको लगानी सुरक्षित गर्न सबैको पहल हुनुपर्नेमा मन्त्री पाठकको जोड थियो । 

चालु आर्थिक वर्षका लागि स्वास्थ्य कार्यालयको बजेट ६ करोड ३५ लाख ५७ हजार रहेको कार्यालय प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उक्त बजेटबाट अत्यावश्यक सेवालाई प्राथमिकता दिएर काम गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आफ्नो धारणा राख्नुभएको थियो ।